नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्ताराष्ट्रिय विमानस्थलको क्षमता र गुणस्तर बढाउन विमानस्थल मर्मत गरेको छ। प्राधिकरणले कात्तिक २३ गतेदेखि पाँच महिनाका लागि दैनिक १० घण्टा विमानस्थल बन्द गरेको हो।
यसै विषयमा आधारित भई नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीसँग न्युज एजेन्सी नेपालले गरेको वार्ताको सम्पादित अंश :-
त्रिभुवन अन्ताराष्ट्रिय विमानस्थल किन बन्द गर्नुपर्यो ?
त्रिभुवन अन्ताराष्ट्रिय विमानस्थलको क्षमता बढाउन विमानस्थल मर्मत गर्नुपर्ने भयो। त्यसैले केही समय विमानस्थल बन्द गर्नुपरेको हो। प्राधिकरणले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सी वे’, उत्तरतर्फको ‘इन्टरनेशनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’ विस्तार गर्दै छ। त्रिभुवन अन्ताराष्ट्रिय विमानस्थलको धावनमार्गसँगै समानान्तर हुनेगरी ट्याक्सी वे बनाउन लागिएको छ। स्तरोन्नतिपछि २० देखि २५ प्रतिशत धावनमार्गको क्षमता बढाई विमानस्थलको एयर ट्राफिक व्यवस्थापन गर्ने लक्ष्य छ।
कति समय बन्द हुन्छ?
विमानस्थल राति १० बजेदेखि बिहान ८ बजेसम्म दैनिक १० घण्टा बन्द रहनेछ। योसँगै विमानस्थलको विकल्प गौतमबुद्ध र पोखरा अन्ताराष्ट्रिय विमानस्थल बन्नेछन्। प्राधिकरणले पनि राष्ट्रिय तथा अन्ताराष्ट्रिय वायुसेवा कम्पनीहरूलाई गौतमबुद्ध र पोखरा अन्ताराष्ट्रिय विमानस्थलबाट उडान भर्न आग्रह गरेको छ।
गौतमबुद्ध र पोखरा अन्ताराष्ट्रिय विमानस्थल सञ्चालन गर्न नसकेर यस्तो कदम उठाउनु भएको आरोप छ‚ हो?
त्यस्तो होइन‚ गौतमबुद्ध र पोखरा अन्ताराष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै हवाई भाडा पनि नियन्त्रणमा आउनेछ। नेपालको प्रचलित कानूनले तोकेको सीमाको परिपालना गरी हवाई भाडाको कार्यान्वयन गर्ने सिद्धान्तविपरीत उड्डयन क्रियाकलाप वायुसेवा कम्पनीहरूले गर्न पाउनेछैनन्। त्रिभुवन अन्ताराष्ट्रिय विमानस्थल मर्मत गर्ने बहानाभन्दा पनि बाध्यताले गौतमबुद्ध र पोखरा अन्ताराष्ट्रिय विमानस्थल चलाउन लागेका हौँ। अन्ताराष्ट्रिय वायुसेवा कम्पनीहरूले गौतमबुद्ध र पोखरा अन्ताराष्ट्रिय विमानस्थलबाट उडान गरेसँगै विश्वमा गौतमबुद्ध र पोखरा अन्ताराष्ट्रिय विमानस्थलको महत्त्व बढ्ने देखिन्छ।
यसका लागि अन्ताराष्ट्रिय वायुसेवा कम्पनी मन्जुर छन्?
गौतमबुद्ध अन्ताराष्ट्रिय विमानस्थलबाट अन्ताराष्ट्रिय उडानका लागि तीनवटा अन्तराष्ट्रिय विमान कम्पनीको उडान तालिका स्वीकृत भएको छ। जसमा थाई एयर एशिया, फ्लाई दुबई र जजिरा एयरलाइन्सको उडान तालिका स्वीकृत भएको छ। प्राधिकरणले अन्य अन्ताराष्ट्रिय विमान कम्पनीहरूलाई पनि उडान गर्न आग्रह गरेको छ।
यसैगरी नेपालमा सबैभन्दा बढी कनेक्टिङ उडान गर्ने कम्पनी कतार एयरवेजले भैरहवामा १२ तारिखदेखि उडान गर्ने प्रस्ताव गरेको छ। त्योसँगै भैरहवाबाट अन्ताराष्ट्रिय उडान भर्ने हवाई कम्पनी चारवटा हुन्छन्। अन्ताराष्ट्रिय वायुसेवा कम्पनीहरूले उडान गरेसँगै भैरहवा विमानस्थल चल्नेछ। यसले हवाई भाडा नियन्त्रणमा पनि सहयोग गर्नेछ।
वायुसेवा कम्पनीहरू गौतमबुद्ध विमानस्थलबाट उडान भर्न सहजै माने?
चुनौती त भोग्नुपरेन तर सहज पनि थिएन। भैरहवाबाट अन्ताराष्ट्रिय उडान स्वीकृत गराउन ९ महिनादेखि वायुसेवा कम्पनीहरूसँग संवादमा छौँ। कम्पनीहरू तयार भएर निर्णय गरेपछि प्राधिकरणले पनि सबैको सहभागितामा निर्णय गरेको हो। यो एआईपीमा ७ महिनाअघि प्रकाशन भइसक्यो। विश्वका वायुसेवा क्षेत्रमा काम गर्ने कम्पनीहरूलाई थाहा छ। काठमाडौँको विमानस्थलमा बढी उडान भर्ने इच्छा विमान कम्पनीहरूलाई हुन्छ। प्राधिकरणले सोच्ने भनेको देशका लागि हो। काठमाडौँको विमानस्थल बनाएपछि सधैँका लागि क्षमता र गुणस्तर बढ्छ। अहिले पाँच महिना दुःख गर्नुपर्छ।
२ अर्ब नोक्सानी व्यहोरेर विमानस्थल बन्द गरे भन्ने आरोप छ‚ के हो?
नेपालमा व्यक्तिगत वाक् स्वतन्त्रता छ। आफ्नो हिसाबमा भन्न पाइयो। आफूलाई फाइदा हुने गरी व्यक्ति केन्द्रित भएर बोल्छन् भने हामी त्यसका पछाडि लागेर दौडनु भएन। प्राधिकरणको स्पष्ट धारणा भनेको विमानस्थल बनाउनु परेकाले बन्द गर्नुपरेको हो। विमानस्थल बन्द गर्दा प्राधिकरण स्वयंको २ अर्ब आम्दानी नोक्सानमा जान्छ। प्राधिकरणले २ अर्ब नोक्सानी व्यहोरेर अरू के रणनीति हुन्छ? यति सामान्य कुरा पनि बुझ्दैनन् भने मैले केही गर्न सक्दिनँ। विमानस्थल मर्मत गर्ने काम अहिलेको लागि मात्रै होइन। यो सधैँका लागि हो। यो देशले जित्ने काम हो। जिम्मेवार व्यक्तिहरूले यसलाई समर्थन गर्नुपर्छ।
ट्याक्सी वे निर्माण गर्दा विमानस्थल नै बन्द गर्नुपर्ने कारण?
ट्याक्सी वे निर्माण गर्दैमा विमानस्थल बन्द गर्नुपर्ने अवस्था होइन। यसमा केही प्राविधिक पक्ष छन्। विमानस्थलको रनवेबाट दायाँबायाँ दुवै साइटमा ७५ मिटरसम्म भूभाग हुनुपर्छ। खाल्डाखुल्डी र अन्य कुनै वस्तु हुनुहुँदैन। प्राधिकरणले विमानस्थलमा रनवेमा लगेर ट्याक्सीवे जोड्न खोजेको हो। त्यसका लागि खन्नुपर्छ। यो विशुद्ध प्राविधिक काम हो। अलकत्रा सेट हुने निश्चित समय छ। विविध कुराको समय जोडेर १० घण्टा निस्केको हो। केही समयका लागि दुःख हो।
यसबाट समस्या भएन र ?
विमानस्थल बन्द गर्ने निर्णय सात महिनाअघि भएको हो। अहिले चारवटा विमान कम्पनीहरू भैरहवा जान तयार भए। त्रिभुवन विमानस्थलको निश्चित क्षमता भएकाले विमान थप्दै जान सक्दैनौँ। विमानस्थलको क्षमताभन्दा बढी भएपछि कहाँ जाने भन्दा भैरहवा देखियो। मलाई सरकारले काठमाडौँ मात्रै चलाउ भैरहवा र पोखरा नचलाउन भनेर राखेको होइन। प्राधिकरण प्रमुख भएपछि भैरहवा र पोखरा विमानस्थल सञ्चालनमा ल्याउँछु भन्नु गलत हो र?
यस्तो अवस्था आउनु रहर हो कि बाध्यता?
आजको अवस्था भनेको बाध्यकारी अवस्था हो। यो प्राधिकरणको रणनीति होइन‚ अवस्था आइपरेको हो। विगतमा भैरहवा विमानस्थल किन बनाएको भन्नेहरूलाई बल्ल थाहा भयो‚ एउटा विमानस्थल मर्मत गर्दा अर्को विमानस्थल प्रयोग गर्नुपर्छ। त्रिभुवन विमानस्थलमा प्राविधिक रूपमा विमान अवतरण गर्न नसक्दा एयरलक हुन्छौँ। त्रिभुवन विमानस्थल बन्द गरेर भैरहवा विमानस्थल चलायो भन्नु राष्ट्रघात हो।
यसबाट गौतमबुद्ध विमानस्थलको महत्त्व बढ्छ ?
अन्ताराष्ट्रिय रूपमा नाम चलेका विमान कम्पनीहरू नजाँदा भैरहवा अन्ताराष्ट्रिय विमानस्थल ओझेलमा परेको थियो। त्रिभुवन विमानस्थलमा प्राविधिक समस्या आउँदा विमान भारतको कोलकातामा अवतरण गर्थे। विकल्पमा अब भैरहवा विमानस्थलको दिन आयो। कतार एयरवेज, फ्लाई दुबई, थाइ एशिया र जजिरा नाम चलेका एयरलाइन्स हुन्। उनीहरूले उडान गरेसँगै भैरहवा अन्ताराष्ट्रिय विमानस्थल चर्चामा आयो। अब भैरहवा अन्ताराष्ट्रिय विमानस्थल चर्चामा आयो। यसले धेरै सहयोग गर्छ। त्रिभुवन अन्ताराष्ट्रिय विमानस्थल स्थापनाको ७४ वर्षपछि गौतमबुद्ध र पोखरा अन्ताराष्ट्रिय विमानस्थल सञ्चालनमा आए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।