|

चैनपुर : नेपाल र चीनबीचको सम्बन्ध थप प्रगाढ बनाउने उद्देश्यले बझाङ र हुम्लाको सीमा नजिक दुवै देशका अधिकारीको उच्चस्तरीय बैठक बस्ने भएको छ।

यही कार्तिक २८ र २९ गते चीनको पुलान काउन्टीमा बस्ने बैठकमा नेपाल र चीनका सीमावर्ती क्षेत्रका प्रमुखहरूको सहभागिता रहने बताइएको छ। चिनियाँ पक्षबाट डिन्जुप्राम काउन्टीको सीपीसी समितिका उपसचिव तथा सरकार प्रमुख, काउन्टी स्थायी समिति सचिव ओ टीप्पर्ण, सार्वजनिक सुरक्षा ब्यूरो निर्देशक निरीक्षक जनरल र जे पाउलिन, अध्यागमन तथा सीमा नियन्त्रण प्रमुखलगायत उच्च अधिकारी सहभागी हुनेछन्।

नेपालका तर्फबाट भने सीमा जोडिएका बझाङको साइपाल र सुर्मा गाउँपालिका, दार्चुलाका ३ वटा पालिका र हुम्लाका ४ वटा पालिकाका प्रतिनिधि सहभागी हुने जनाइएको छ।

बैठकमा दुवै देशबीचको व्यापार, पर्यटन, पूर्वाधार विकास, सीमा सुरक्षा, सहयोग आदानप्रदान, पालिकालाई सहयोग गर्ने र जनस्तरको सम्बन्ध थप प्रगाढ बनाउने विषयमा व्यापक छलफल हुने साइपाल गाउँपालिका उपाध्यक्ष डोल्मा तामाङले बताइन्।

दुवै पक्षले सीमावर्ती क्षेत्रका जनताको हितलाई ध्यानमा राखेर सहकार्यलाई अझै बढाउने प्रतिबद्धता जनाउनेछन्। यस बैठकले नेपाल र चीनबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

बैठकका लागि साइपाल गाउँपालिकाका जनप्रतिनिधि हुम्ला पुगिसकेका छन् भने सुर्मा गाउँपालिकाका जनप्रतिनिधि नेपालगञ्जबाट हवाइयात्रा गरी हुम्ला जाने बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.