गुल्मी : सुन्तला पाकेर दाना पहेँलो हुने समयमा गुल्मीका सुन्तला कृषकका बोटमा पहेँलै देखिने रोग देखा परेको छ।
जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्वर ७ वाग्लाका कृषक धनराज पौडेलेको सुन्तला बगैँचामा बोट पहेँलो देखिने रोग देखा परेको हो। पौडेलको पौडेल कृषि फर्ममा एक हजार एक सय सुन्तलाका बोट रहेका छन्। बगैँचामा रहेका धेरैजसो बोटहरुमा बोट पहेलो हुने रोग देखा परेको पौडेलले बताए।
गत वर्ष करिब चार लाखका सुन्तला बिक्री गर्नुभएका पौडेलको बगैचामा रहेका सुन्तलाका बोट पहेँलै हुने रोग देखा परेको र फल लागेका सुन्तला पनि झरेकाले अहिले एक लाखको पनि सुन्तला बिक्री गर्न समस्या हुने आफूलाई लागेको बगैचा हेरालु रामु गिरीले बताए।
यता कृषि ज्ञान केन्द्रका प्रमुख नवराज भण्डारीले अहिले उक्त बगैचामा सुन्तलाका बोटमा पहेलोपना देखा परेको बताए। आफूले उक्त बगैचाको अवलोकन गरेको बताउँदै। बगैचामा गएर हेर्दा बोटका जरा कुहिने रोग देखा परेकाले बोट नै पहेलो भएको उनको भनाइ छ। फेदमा बढी चिसोपना भएकाले पनि उक्त रोग देखापर्ने गरेकाले ढुसीनासक विषादी प्रयोगको प्रयोग गर्नुपर्नेमा उनले जोड दिए।
कतिपय विरुवाको फेदमा खन्दा वा मलजल गर्दा ध्यान नपुग्दा पनि जरा काटिने भएकाले मलजल गर्दा उचित ध्यान दिनुपर्ने उनको भनाइ छ।
त्यहाँका कृषकलाई जम्मा गरेर बगैँचा व्यवस्थापन र रोगसम्बन्धी तालिम प्रदान गर्ने गरी कृषि ज्ञान केन्द्रले योजना बनाएको छ।
यस वर्ष सुन्तला उत्पादन घट्ने वा बढने भन्ने बारेमा बगैँचाहरु अवलोकनपश्चात् मात्र भन्न सकिने कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ।
जिल्लामा फल दिने नदिने गरी कुल एक हजार २७ हेक्टर क्षेत्रफलमा चार लाख १० हजार आठ सय बढी सुन्तलाका विरुवा छन्। जसको ६० दशमलव ६ प्रतिशत अर्थात दुई लाख ४९ हजार दुई बोटहरुले उत्पादन दिएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।