काठमाडौं : राष्ट्रियसभा सदस्य एवं नेपाली काँग्रेस नेता कृष्णप्रसाद सिटौलाले संविधान जारी भएपछिका वर्षहरुको गहन समीक्षा जरुरी रहेको बताएका छन्।
शनिबार काठमाडौंमा गणेशमान सिंहको ११० औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले सबै एक ठाउँमा उभिएर फेरि एकपटक देशका बारेमा चिन्तन गर्ने बेला भइसकेको बताए।
उनले संविधान जारी भएको अब एक दशक पुग्न लागेको उल्लेख गर्दै आफैँले बनाएको संविधान कति इमान्दारिताका साथ जनताको हितमा कार्यान्वयन भयो भन्नेबारेमा गहन छलफल हुन जरुरी रहेको बताए।
उनले संविधानमा वा राज्य सञ्चालनमा कतै त्रुटि भए गहन समीक्षा गरी आवश्यक परे संविधान संशोधन गर्नुपर्ने बताए। उनले परिवर्तनबमोजिम आएको संविधानले जनताको अधिकार, हकको लागि गरिएका संकल्पहरु कति पूरा भए भन्नेबारेमा समीक्षा हुनुपर्ने बताए।
उनले भने, ‘हामी सबै एक ठाउँमा उभिएर फेरि एकपटक देशका बारेमा चिन्तन गर्ने बेला भइसकेको छ। संविधान जारी भएको अब एक दशक पुग्नै लाग्यो। संविधान आइसकेपछि पहिलो निर्वाचन सम्पन्न भयो, ५ वर्ष गयो, संविधानको दोस्रो निर्वाचनपछिको दोस्रो कार्यकालमा हामी छौँ। हामी आफैँले बनाएको संविधान कति इमान्दारिताका साथ जनताको हितमा कार्यान्वयन गर्यौँ। संविधानमा कतै त्रुटि छ वा राज्य सञ्चालनमा कतै त्रुटी छ, एक पटक गम्भीतापूर्वक समीक्षा गर्ने बेला भएको छ।'
नेता सिटौलाले स्थानीय तहलेखि संघ सरकारसम्मै राज्य सञ्चारलनका शैलीहरु परिवर्तन गर्न जरुरी रहेको बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।