जनकपुरधाम : मार्गशीर्ष शुक्ल पञ्चमीमा जनकपुरधाममा मनाइने विवाह पञ्चमी महामहोत्सवलाई यो वर्ष प्रदेश सरकारले भव्य रूपमा मनाउने भएको छ।
विवाह पञ्चमी महामहोत्सवमा ५५५ जना जन्ती आउनेछन्।
जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवको अध्यक्षता तथा प्रदेश सरकारकी शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीको प्रमुख आतिथ्यमा शनिबार जानकी मन्दिरमा सम्पन्न सर्वपक्षीय बैठकले विवाह पञ्चमी महामहोत्सवलाई भव्य बनाउने निर्णय गरेको छ।
बैठकले विवाह पञ्चमीलाई भव्य बनाउन१४ वटा विभिन्न उपसमिति बनाएको छ।
मङ्सिर १७ गते भारतको अयोध्याबाट आउने जन्तीलाई भव्य स्वागत गरिनेछ। जन्तीलाई महोत्तरीको मटिहानी आइपुगेपछि मटिहानी नगरपालिकाले स्वागत गर्नेछ। स्वागत तथा रात्रिको भोजन र आवासको व्यवस्थापन पनि मटिहानी नगरपालिकाले गर्ने बैठकले निर्णय गरे।
१८ गते मटिहानीबाट हिँड्ने जन्तीलाई महोत्तरीकै जलेश्वर नगरपालिकाले स्वागत गरेर चिया तथा खाजाको प्रबन्ध गर्नेछ भने सोही दिन पिपरामा जन्तीलाई भोजनको व्यवस्थापन गरिनेछ।
१८ गते साँझ जनकपुरधाम आइपुग्ने जन्ती बाह्रबिघा रंगभूमि मैदानमा आयोजना गरिने धनुष यज्ञमा सहभागी हुने कार्यक्रम तय भएको जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले बताए।
त्यसैगरी मङ्सिर २१ गते जानकी मन्दिरको प्राङ्गणमा रातमा मैथिली परम्परानुसार भगवान् राम र माता सीताको प्रतीकात्मक विवाह उत्सवको कार्यक्रम रहेको उनले जानकारी दिए।
विवाह महामहोत्सवका लागि जनकपुरधाममा आउने जन्तीको स्वागत तथा सम्मानको कार्यक्रम मधेश प्रदेश सरकारको अगुवाइमा गरिने निर्णय प्रदेश सरकारको मन्त्रिपरिषद्ले यसअघि नै गरेकाले त्यसलाई आजको सर्वपक्षीय बैठकले अनुमोदन गरेको हो।
बैठकमा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साह, धनुषा तथा महोत्तरीका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरू, विभिन्न राजनीतिक दलका पदाधिकारीहरू, नागरिक समाजका अगुवा तथा उद्योगी, व्यापारी तथा बुद्धिजीवीहरू सहभागी थिए।
विवाह पञ्चमी महोत्सवमा अयोध्याबाट पाँच सयको सङ्ख्यामा साधु सन्त महन्थ, योगी, संन्यासी, राजनीतिक दलका विशिष्ट व्यक्तिहरू, राममन्दिर निर्माण समिति अयोध्याका पदाधिकारीहरू तथा विश्व हिन्दूपरिषद् भारतका पदाधिकारीहरू सहभागी हुनेछन्।
मङ्सिर १६ गते नगर दर्शनबाट शुरु हुने विवाह पञ्चमी महोत्सव अन्तर्गत १७ गते फूलबारी लीला, १८ गते धनुष यज्ञ, १९ गते तीलकोत्सव, २० गते मटकोर तथा २१ गते विवाह उत्सव र २२ गते रामकलेवाका कार्यक्रम रहेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।