विराटनगर : आफ्नो सन्तानको भविष्यको संरचना कस्तो बनाउने भन्ने ‘डिजाइन’ को जिम्मेवारी आमाले लिने सुन्दर आकार बन्ने रहेछ। त्यसमा बाबाको साथ भइदिए झनै सुनमा सुगन्धको अनुभूती गर्न सकिने रहेछ। सफल खेलाडी बनाउने आमाको सपना पछ्याउँदै आइरहेकी राष्ट्रिय फुटबल टिमकी गोल रक्षक अन्जना राना मगर खेलमा भएको सफलताको श्रेय आमालाई दिन्छिन्।
किनकी उनलाई खेलाडी बन्नु थिएन। अझ भनौँ फुटबलमा नै भविष्य बनाउला भन्ने कल्पना समेत गरेकी थिइनन्। तर , छोरीलाई एउटा सफल फुटबल खेलाडी बनाउने आमाको जिद्दीको अगाडि अन्जनाको सबै रहरहरूले हार मान्यो।
र, १० वर्षको कलिलो उमेरमा फुटबल खेल्नका लागि मैदानमा उत्रिन्। जुन बेला उनी ‘फुटबल’ केबल रमाइलोका लागि मात्रै खेल्ने गर्थिन्। खेल जित्दा जित्नुको खुशी र हार्दै गर्दा हार्नुको दु: ख दुवै क्षणको महसुस गर्नु सक्ने उनको उमेर थिएन।
उनी सुनाउँछिन्,‘मैले त आमाबाबाको जिद्दिले खेलको थिएँ। फुटबल भन्ने थाहा नै थिएन।’ उनी २०५८ सालमा बुबा क्षेत्रबहादुर रानामगर र आमा सुसिलादेवी रानामगरको कोखबाट रौतहटमा जन्मेकी हुन्।
संघर्षको पहिलो यात्रामा रौतहटको मैदानमा खेल्नका लागि पालो कुरेर बस्ने अन्जना कहिलेकाँही सर्लाहीबाट पनि खेल्ने गरेकी रहेछिन्।
जब रौतहटमा एनसेल कपमा आफ्नो खेल प्रदर्शन गरिन्, त्यो समय छुट्टै क्रेज बनाउन सफल भएको बताउने उनी त्यो खुशीको क्षणबाट पनि आफू अन्जान रहेको विगतको अनुभव सुनाउँछिन्। किनकी उनी त्यस्तै ११ वर्षकी मात्रै थिइन्।
कलिलो उमेरसँगै फुटबल खेलसँगको यात्रा उनको लागि त्यति सजिलो त थिएन। कहिलेकाँही अभावले खेल यात्रामा ब्रेक नलागेको पनि होइन। तर, छोरीको भविष्यमा कुनै पनि सम्झौता गर्न नहुने अन्जनाको आमाको विचारको कारण पनि उनले खेललाई निरन्तर अगाडि बढाइन्। फुटबल खेल्न जुत्ता नहुँदा खाली खुट्टा मैदानमा उत्रिएको तीतो अनुभवको पोका फुकाउँदै सुनाउँछिन्,‘जुत्ता नहुँदा मैले खाली खुट्टा पनि फुटबल खेलेकी छु।’
बुवाको एक्लो कमाई सबै परिवारको भरथेग भएकाले पनि आवश्यक सामग्री किन्न परिवारलाई दबाब दिन मन नलाग्ने बताउने उनी जुत्ता नभएर केही समय खेल्न समेत छाढिन्। अन्जनाको अभावको खाल्डो आमाको दर्बिलो साथले नपुरिदिएको हुँदो हो यतिबेला उनको खेल यात्रा त्यही रौतहटको मैदानमा नै पूर्णविराम लाग्थ्यो होला।
‘खाली खुट्टा फुटबल खेल्दा दुखाइ व्यक्त गर्न सकिँदैन। म कति दिन खेल्न जान मानिन',विगत स्मरण गर्दै उनी भन्छिन्,‘आमाले आफन्तसँग सापटी पैसा लिएर जुत्ता किन्दिनुभयो अनि बल्ल खेल्न जान थाले।’
त्यसो त त्यो समयको कोच स्व. शेरबहादुर दर्लामीको फुटबल प्रतिको प्रेम र खेलाडीहरूको भविष्य प्रतिको चिन्ताले पनि आफूलाई खेल क्षेत्रमा अगाडि बढ्न प्रेरणा मिलेको उनी सुनाउँछिन्।
खेलसँगै पढाइलाई अगाडि बढाउनुपर्छ भन्ने कोचको धारणाले पनि फुटबल क्षेत्रमा सफलताको एउटा बिन्दुमा उभिन सफल भएको उनको बुझाइ छ। नेपाली महिला फुटबलको उर्वर भूमि मानिने रौतहटको मैदानमा उम्रिएको गोल रक्षक अन्जनासहित ८ जना खेलाडीहरूको राष्ट्रिय टिममा वर्चस्व छ।
विभागीय टिम आर्मीबाट खेल यात्रामा अगाडि बढिरहेकी अन्जना आर्मीको गोलपोस्ट समाल्ने भूमिकामा रहन्छिन्।
अभिभावकको करले फुटबल रोजेकी उनको लागि आजभोलि फुटबल जीवनको महत्वपूर्ण पाटो बनेको छ। आमाले कर नगरेको हुँदो हो सायद अन्जना अध्ययनका लागि विदेश उडानका सपनामा लागिपरेकी हुन्थिन्। तर, त्यसबेला आमाले लिएको निर्णय अहिले आएर सही लागेको उनी सुनाउँछिन्।
रौतहटको जनज्योति माध्यामिक बिद्यालयबाट कोकाकोला कप अन्तर विद्यालय फुटबल प्रतियोगितामा सहभागी भएकी अन्जनाको दुुर्गापुरबाट सर्वोत्कृष्ट गोलकिपरको चर्चा राष्ट्रिय स्तरसम्म हुन पुग्यो।
त्यसपछि उनलाई एन्फाले ताजकिस्तानमा हुने एएफसी अन्डर १४ प्रतियोगिता खेल्न काठमाडौं बोलाएको थियो। त्यो सँगै अन्तराष्ट्रिय खेलका लागि उडान भर्नु अन्जनाका लागि सामान्य विषय थिएन। त्यही खेलको अवसरले उनलाई फुटबल खेलमा थप हौसला बढेको उनी सुनाउँछिन्।
खेल क्षेत्रमा आफूलाई अगाडि बढ्न प्रेरणा दिने रौतहटका गुरुहरू स्व. शेरबहादुर दर्लामी, चित्र दर्लामी मगर, नुरराज काफ्लेलाई गफै गफमा सम्झिरहिन्।रौतहटबाट टाढाको यात्रा कहिल्यै नगरेकी अन्जनाको लागि काठमाडौं यात्रा नै अवसरको ठूलो गन्तव्य जस्तो महसुस हुन्थ्यो।
कुरैकुरामा उनले २०७३ सालमा काठमाडौंमा हुने प्रधानसेनापति कपलाई स्मरण गर्न भ्याइन्। किनकी गोलकिपरमा अन्जना छानिएकी थिइन्। तर, दोस्रो रोजाइमा खेल्नुपर्ने अवस्था थियो। एउटा संयोगले उनी पहिलो रोजाइको किपर घाइते भएपछि पोस्ट समाल्ने जिम्मेवारी उनले पाएकी थिइन्।
पाएको अवसरलाई सदुपयोग गर्दै विभागीय टिम आर्मीलाई पराजित गर्न महत्वपूर्ण भुमिका खेलेकी अन्जना उत्कृष्ट गोल किपर घोषित भएकी थिइन्। त्यो समय उनी १४ वर्षको रहेछिन्। त्यो खेलसँगै आर्मी क्लबको नजरमा परेकी थिइन्। सोही खेलदेखि आर्मीले रौतहट पुगेर कन्ट्रयाक गराएको उनी सुनाउँछिन्। त्यसदिन देखि लगातार विभागीय टिमबाट खेल्दै आइरहेकी छिन्।
राष्ट्रिय टिममा मलेसियासँगको खेलबाट डेब्यु गरेकी अन्जनाले सन् २०१६ मा भारतको सिलगढीमा भएको साफ च्याम्पियनसिपमा श्रीलङ्कालाई समूह चरणमा पराजित गर्ने क्रममा नेपालको गोलपोष्ट सम्हालेकी थिइन्।
नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङकको खेल्नेशैली पनि हेर्न गरेको बताउने उनी सिनियर दाइहरूले पनि धेरै सपोर्ट गर्ने गरेको सुनाउँछिन्।
यू– १९ उमेर समूहको कप्तानी समेत गरेकी अन्जनाले एकताका कान्छी गोल किप्परको ट्याग समेत पाइसकेकी छिन्। राष्ट्रिय टिमको छनौटमा पर्दै गर्दा उनको आमा र बुवाको आँखा खुशीको आँसुले पोतिएको थियो। किनकी त्यो स्थानसम्म पुर्याउनु उनको परिवारले निक्कै दु:ख गरेका थिए।
‘राष्ट्रिय टिममा छनौट हुँदा आमाबुवा रुनुभयो रे, पत्रिकामा आएको कान्छी गोलकिप्पर हेडलाइनको न्युज पढेर, ‘आमाबुवाको खुसी उनी आफ्नो अन्दाजमा सुनाउँछिन्,‘त्यो पत्रिकामा छापिएको मेरो टिसर्ट अझै आमाले सम्हालेर राख्दिनुभएको छ।’
गफैगफमा उनीसँग खेलसँगै नयाँ सम्बन्धमा जोडिएको विषयमा समेत चर्चा हुन पुग्यो। गत मसिंरमा अविरल लामासँग विवाह बन्धनमा बाँधिएकी अन्जना श्रीमानको परिवारबाट धेरै साथ र हौसला मिलेको सुनाउँछिन्।
उनी सुनाउँछिन्,‘सबै जनाको मायाले कहिलेकाँही माइती नै भुल्छु तर पनि आफू जन्मेको र हुर्किएको अनि आमाबुवा प्रेम त हुन्छ नि।’ राष्ट्रिय अनुसन्धान विभागका कोशी प्रदेश प्रमुख अनुसन्धान निर्देशक इन्द्रसिंह लामा र दुर्गा लामाकी बुहारी रहेकी अन्जना विवाहपछि पनि आफ्नो करियरमा श्रीमानको परिवारको साथ पाइ रहनेमा आफू विश्वस्त रहेको बताउँछिन्।
महिला च्याम्पियनसिपमा अन्जनाले रोकेको त्यो प्रहार
वैकल्पिक गोलरक्षकका लागि मैदानमा उभिएकी अन्जनाका लागि यो खेलमा पाएको अवसर खास थियो। किनकी कहिल्यै अवसर नपाउने दुखेसो र गुनासोको पोको उनको मनभित्रै थुप्रै थिए होलान्। यद्यपि ती सबै कुरालाई मनमा साँचेर साफ महिला च्याम्पियनसिपको उपाधिका लागि मैदानमा होमिएकी अन्जनाले केबल चान्स पाए केही गर्छु भन्ने प्रार्थना मात्रै गरेकी थिइन्।
भारतसँगको खेलमा उनले रोकेको बलले उनलाई थप चर्चाको शिखरमा पुर्याएको छ। च्याम्पियनसिपको सेमिफाइनलमा उनले उत्कृष्ट प्रदर्शन गरेकी थिइन्।
‘पाएको अवसर मैले गुमाउनु हुँदैन भन्ने, थियो साथीहरू, किरण दाइले पनि तिमिले गर्न सक्छौ चान्स पाएकी छौँ भन्नुभयो,’ उनले सुनाइन्,‘मैले मेरो टिमलाई जिताउनुपर्छ भने मैले गर्नैपर्छ भन्ने मानसिकरुपमा तयारी भएकी थिएँ। मेरो सोचमा नै त्यही थियो।’
निर्धारित समयको खेल १–१ को बराबरीमा रोकिएपछी खेल सिधै पेनाल्टी शूटआउटमा पुगेको थियो। त्यही बेला आफ्नो खेलको प्रदर्शन गरेकी अन्जनाले भारतको चानु सोरो खैबाङले प्रहार गरेको बल रोकेकी थिइन्।
अन्जनाले रोकेको त्यो भारतको प्रहार नै नेपाली टोली फाइनलमा पुग्न सफल भएको थियो। फाइनलमा हार्नुलाई हार भन्दा पनि पुनः खेल क्षेत्रलाई बलियो बनाउने प्रेरणा मिलेको बताउने उनी नेपालमा सरकार र एन्फा मिलेर तालिमका लागि मैदान मात्रै स्तरीय बनाइदिए खेलाडीका लागि राम्रो अवसर हुने बताउँछिन्।
खेल क्षेत्रमा आमाबुवाले देखेको सपनाको खुड्किला उक्लँदै गर्दा अब आमाबुवालाई प्रत्यक्ष आफूले खेलको स्टेडियममा ल्याएर हेराउने सपना रहेको बताउँछिन्।
‘अरुबेला बुवा आउनुहुन्थ्यो, जुन समय बुवा आउनुहुन्थ्यो त्यो बेला अवसर पाउँदिन थिए, अहिले बुवा आउनुभएन अवसर पाएँ, ’उनी सुनाउँछिन्,‘तर, मेरो श्रीमान, नन्द सासु सबै आफन्त हुनुहुन्थ्यो एक्लो महसुस हुन दिनुभएन।’
'मैदानमा अन्जना उत्रिँदा म रोएँ'
यता, अन्जनाकी सासु दुर्गा लामा अन्जनाको नाम उद्धघोष भएर मैदानमा पुग्न साथ आँखाभरी आँसु भएको अनुभव सुनाउँछिन्। ‘त्यो बेला माहोल त्यस्तै थियो, कति समय खेल रोकियो,’ उनी सुनाउँछिन्,‘ अन्जनाले थोरै मिस्टेक गरेको भए कति गाली खान्थियो होला त्यही पीरले म निरास भएको थिएँ।’
जब अन्जनाले गोल रक्षा गरेर भारतलाई हराएको भन्दै छोराले सुनायो त्यसपछि बल्ल मैदानमा हेरेको उनले सुनाइन्। खुशी र दु:खको आँसुको अनुभूति बुहारी खेल्नका लागि मैदानमा उत्रिँदा महसुस गरेको बताउँदै उनी भन्छिन्,‘ अन्जनाले पाएको अवसर गुमाउनु हुँदैन भन्ने उनको आत्मविश्वास चाहीँ मान्नै पर्छ।’
तपाईंको ईमेल गोप्य राखिनेछ ।