जनक भन्छ : नेपाली नोट पनि छाप्न सक्छौँ

|

काठमाडौँ : सरकारले पछिल्लो समय निजीभन्दा पनि आफ्नो स्वामित्वमा भएको छापाखानालाई प्राथमिकता दिन थालेको छ। सरकारको पूर्ण स्वामित्वमा भएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले थप पाठ्यपुस्तकदेखि मालपोतका आवश्यक कागजात छपाइको गर्ने अधिकार पाएको छ।

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका सूचना अधिकारी पार्वती न्यौपानेका अनुसार सरकारले अबदेखि हुलाक टिकट, जग्गाधनी प्रमाण पूर्जा, स्टिकर निजीले छाप्न नपाउने प्रावधानसहित व्यवस्था गरिएको छ। उक्त विधेयक पास भइसकेको उनले जानकारी दिइन्।

‘यो विधेयक पास भएसँगै टिकट, जग्गाधनी प्रमाण पूर्जा, स्टिकर निजीले नभई जनक शिक्षाले छाप्न पाउने व्यवस्था भइसकेको छ’, उनले भनिन्।

कक्षा १, २ र ४ बाहेक सबै तहको पाठ्यपुस्तक जनकले छाप्ने

शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले निजीले छाप्दै आएको पाठ्यपुस्तक छपाइमा कटौती गरेको छ। यसअघिसम्म निजीले कक्षा १ देखि ४ सम्मको पाठ्यपुस्तक छाप्दै आएको थियो भने जनक शिक्षाले कक्षा ५ देखि १२ सम्मको नयाँ पाठ्यपुस्तक छाप्ने जिम्मा पाएको थियो।

तर केही वर्षदेखि जनक शिक्षाले समयमै नयाँ पुस्तक छापेर सम्बन्धित ठाउँमा पुर्‍याउन सकेपछि मन्त्रालयले निजीले छाप्दै आएको जिम्मेवारी कटौती गरेको छ। जनक शिक्षा सामग्री केन्द्र लिमिटेडकी सूचना अधिकारी न्यौपानेका अनुसार अबदेखि कक्षा ३ को पनि नयाँ पाठ्यपुस्तक छाप्ने जिम्मा जनक शिक्षाले पाएको छ। यो सँगै जनक शिक्षाले अबदेखि कक्षा ३ त्यसैगरी कक्षा ५ देखि १२ सम्मको नयाँ पाठ्यपुस्तक छाप्नेछ।

दुई वर्षदेखि समयमा पुग्यो पुस्तक

२ वर्ष अघिसम्म वर्षेनि समयमा नयाँ पाठ्यपुस्तक छाप्न ढिलाइ र सम्बन्धित ठाउँमा नपुग्ने समस्या दोहोरिरहेको थियो। त्यही कारण सरकारको चर्को आलोचना हुन्थ्यो। संसद्‌मा जनक शिक्षा खारेज गर्ने माग समेत उठ्यो।

२०७९ जेठ २६ गते  प्रतिनिधिसभा बैठकको शून्य समयमा पूर्व सांसद नवीना लामाले भनेकी थिइन्, ‘अहिले कक्षा ६ र ८ को पाठ्यपुस्तक अभाव छ, जनक शिक्षाले बेलैमा पाठ्यपुस्तक छाप्न र वितरण गर्न सक्दैन भने किन लगानी गर्ने? किन खर्च गर्ने? उनीहरू जवाफदेही हुनुपर्दैन? पाठ्यपुस्तक दिन नसक्ने जनक शिक्षा खारेज गरौँ, अब निजी क्षेत्रलाई पाठ्यपुस्तक छाप्ने र वितरण गर्ने जिम्मा दिऔँ।’ 

तर २०८० को शैक्षिक सत्रदेखि सम्बन्धित ठाउँमा समयमै पुस्तक पुग्न थालेको छ। ०८१ को शैक्षिक सत्रमा पनि समयमै पाठ्यपुस्तक पुग्यो। जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रबन्ध निर्देशक अनिलकुमार झाले शैक्षिक सत्रको सुरुवातमै सबै जिल्लामा पुस्तक पुगेको जानकारी दिएका थिए।

०८१ वैशाख ४ गते नै उनले उक्त वर्षका लागि एक करोड २० लाख थान पुस्तक बिक्री गरेको उनले जानकारी दिएका थिए। आगामी नयाँ शैक्षिक सत्रमा पनि समयमै पुस्तक पुर्‍याउने जनक शिक्षाले लक्ष्य लिएको छ।

जनक शिक्षा भन्छ : नेपाली नोटसमेत छाप्न सक्छौँ 

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका सूचना अधिकारी न्यौपानेले जनक शिक्षामा पर्याप्त जनशक्ति र पूर्वाधार रहेकाले पाठ्यपुस्तक बाहेक अतिरिक्त सामग्री पनि छाप्न सक्ने भएको बताइन्।

उनले भनिन्, ‘जनक शिक्षामा पहिलाभन्दा अहिले पर्याप्त जनशक्ति र पूर्वाधार छन्। त्यसैले समयमा पाठ्यपुस्तक छपाइको काम गरिरहेकाे छ।’ उनले नेपाली नोटसमेत जनक शिक्षाले छाप्न सक्ने बताइन्।

‘हामीसँग दक्ष जनशक्ति छ, पूर्वाधार पनि छ। त्यसैले सरकारले चाह्यो भने नेपाली नोटसमेत जनक शिक्षामा छाप्न सकिन्छ, विदेशमै छाप्नुपर्ने बाध्यता छैन,अबदेखि यही आवश्यक पूर्वाधार भएकाले नाेट छाप्न सक्छाैँ’‚ उनले भनिन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.