जनकपुरधाम : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सामाचकेवा आत्मअनुशासनको पर्व भएकाले यसले आदर्श समाज निर्माण हुने बताएका छन्।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र मैथिली विकास कोषद्वारा जनकपुरधाममा आयोजित सामाचकेवा मूर्तिकला निर्माण कार्यशालाको आइतवार उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।
मुख्यमन्त्री सिंहले मधेशका पर्व त्यौहारले सामाजिक सम्बन्धलाई सुदृढ बनाउन तथा नयाँ पुस्तामा आत्मअनुशासन तथा समूहबद्ध भएर काम गर्ने संस्कार र चेतना दिनुका साथै असल जीवनशैलीको अभ्यासका लागि प्रेरित गर्ने गरेको बताए।
उनले सामाचकेवा पर्वले भाइबहिनीबीचको स्नेह प्रकट मात्र गर्ने नभएर टोलछिमेकसँगको कसिलो र सार्थक सम्बन्ध र त्यसबाट सकारात्मक परिणाम खोज्ने रीति रहेको भन्दै पर्वका क्रममा उधिन्ने विषयवस्तु, परिवेश र पात्रहरूले आदर्श समाज निर्माणको परिकल्पना गरेको स्पष्ट पारे।
सबै चाडपर्वका पछाडि आध्यात्मिक, वैज्ञानिक र भौतिक चेतनासँग जोडिएका मूल्य, मान्यता रहेको प्रष्ट पार्दै सांस्कृतिक तथा परम्परागत पर्वत्यौहार प्रवर्द्धनका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गरे।
उनले सामाचकेवाका पात्रहरूको परिचय र महत्वसहितको आधिकारिक विवरण समेटिएको श्रव्यदृश्य निर्माण गर्न सञ्चारकर्मीहरूसँग आग्रह गरे।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमुनि हार्तम्छालीले अनुसन्धान, सिर्जना र सम्मान गर्न सामाचकेवासम्बन्धी कार्यशाला आयोजना गरिएको भन्दै मूर्तिकलामा निपूणताबाट जीविकोपार्जनको अवसर जुर्नसक्ने बताए। उनले कार्यविधिबाट नभएर ऐनबाटै मधेशमा प्रज्ञा प्रतिष्ठान गठन गर्न सुझाव दिए।
कार्यक्रममा मुख्यमन्त्री सिँह र नेपाल ललितकला प्रतिष्ठानका कुलपति हार्तम्छालीलाई आयोजक संस्थाले सम्मान गरेका थिए। मिथिलाञ्चलका ख्यातिप्राप्त गायक सुनिलकुमार मल्लिकले सामाचकेवाका गीत सुनाएका थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।