काठमाडौँ : ट्रेडिशनल चाइनिज मार्सल आर्टस् फेडरेशन, अमेरिकाद्वारा आयोजित १५औँ गोल्डेन ड्रागन च्याम्पियनशिपमा नेपालका भूपेन्द्र गुरुङले दुई रजत पदक प्राप्त गरेका छन्।
अमेरिकाको क्यालिफोर्नियामा भएको उक्त प्रतियोगितामा भूपेन्द्रले दुई स्पर्धामा भाग लिएर दुई रजत प्राप्त गरेका हुन्। प्रतियोगितामा उनले ३६ वर्षमाथिको उमेर समूहमा ताइची र ट्रेडिशनल चाइनिज फम्सतर्फ प्रतिस्पर्धा गरेका थिए।
उक्त प्रतियोगितामा विभिन्न ३० राष्ट्रका २५० भन्दा बढी खेलाडीको सहभागिता रहेको थियो। भूपेन्द्रको यो पाँचौँ अन्ताराष्ट्रिय पदक हो। यसअघि उनले विभिन्न तीन अन्ताराष्ट्रिय प्रतियोगितामा तीन स्वर्ण पदक जितेका थिए।
उनले सन् २०१८ मा जर्मनीमा भएको विश्व च्याम्पियनशिप, सन् २०१९ मा थाइल्यान्डमा भएको सातौँ, विश्व कुङ्फु च्याम्पियनशिप र सन् २०२२ मा बेलायतमा भएको युरोपियन च्याम्पियनशिपमा स्वर्ण पदक जितेका थिए।
सन् २०२२ मा भारतको लखनउमा भएको १४औँ कुङ्फु च्याम्पियनशिपमा भूपेन्द्रले निर्णायकको भूमिका निर्वाह गरेका थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।