काठमाडौँ : नेपाली कांग्रेसका नेताहरूले संविधानमा व्यवस्था गरिएको समावेशी समानुपातिक प्रतिनिधित्वको व्यवस्थालाई कुनै पनि बहानामा कमजोर बनाउन नहुने बताएका छन्।
नेपाल दलित सङ्घका केन्द्रीय अध्यक्ष तथा सदस्यहरूलाई प्रमाणपत्र वितरणका लागि आज ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा कांग्रेस नेताहरूले संविधान संशोधन गर्दा सत्ता गठबन्धनले प्रतिनिधित्वको विषयलाई कमजोर बनाउन लागेको भनेर विपक्षी दलहरूले हल्ला चलाएको र त्यो सत्य नभएको स्पष्ट पारे।
कार्यक्रममा कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले दलितलगायत पछाडि परेका समुदायको हितका लागि कांग्रेसले सधैँ आवाज उठाएको र समावेशी समानुपातिक प्रतिनिधित्व त्यसैको उपज भएको धारणा राखे।
उनले पार्टी सभापति शेरबहादुर देउवाकै नेतृत्वको सरकारले दलित समुदायको हकअधिकारको कुरा उठान गर्न दलित आयोगलगायत व्यवस्थाका लागि महत्वपूर्ण योगदान गरेको स्मरण गरे।
कांग्रेस महामन्त्री गगनकुमार थापाले कांग्रेसले संविधानमा भएको सबै जातजातिको प्रतिनिधित्वको व्यवस्थालाई थप व्यवस्थित बनाउन भूमिका खेल्ने बताए। उनले हाल भएको व्यवस्थाले देशभर सबै जातजातिको प्रतिनिधित्व सुनिश्चित गरे पनि त्यसलाई थप समृद्ध बनाएर जानुपर्नेमा जोड दिए।
महामन्त्री थापाले ११ वर्षभन्दा लामो समयदेखि सङ्घको निर्वाचन हुन नसक्दा राम्रो सन्देश नगएको उल्लेख गर्दै अब तोकिएको समय आगामी चैतभित्र महाधिवेशन सम्पन्न गर्न आग्रह गरे।
पार्टीका सहमहामन्त्री जीवन परियारले अन्य पार्टीको तुलनामा अहिले पनि कांग्रेसमा पहुँच, प्रतिनिधित्व र सम्मानमा कुनै समस्या नरहेको तर यसले मात्रै परिवर्तित अवस्थाका माग तथा मुद्दालाई सम्बोधन गर्न नसक्ने बताए। उनले पार्टीले हरेक तहका चुनावमा दलितहरूलाई प्रत्यक्ष निर्वाचनका लागि तयार गर्नुपर्ने र सोही अनुसार टिकट दिनुपर्ने बताए।
पार्टी प्रवक्ता डा प्रकाशशरण महतले कांग्रेसले नै ‘कदमजम’ अर्थात् कर्णाली, दलित, मधेशी, जनजाति र महिला अधिकारको कुरा उठाएको र सोही नीतिअनुसार संवैधानिक व्यवस्था गरिएको जिकिर गरे।
कार्यक्रममा दलित सङ्घका संस्थापक सभापति मानबहादुर विश्वकर्मा र पूर्वअध्यक्ष मीन विश्वकर्माले कांग्रेसले १३ प्रतिशतभन्दा बढी जनसङ्ख्या भएको दलित समुदायको भावनाविपरीत कुनै काम नगर्नेमा आफूहरू विश्वस्त रहेको बताए।
उनीहरूले आफ्नो पार्टीसहितको सरकारले आमदलित समुदायको हितमा काम गर्ने अवस्था बनाउन, संविधान संशोधनको कुरा उठिरहँदा आफ्ना माग सशक्तरूपमा राख्न सङ्घले समयमै महाधिवेशन सम्पन्न गरी रचनात्मक काममा लाग्नुपर्नेमा जोड दिए।
सङ्घका अध्यक्ष लोकबहादुर विश्वकर्माले पार्टीले विश्वास गरेर आफ्नो नेतृत्वमा समिति गठन गरेकामा आभार व्यक्त गर्दै समयमै महाधिवेशन सम्पन्न गर्न आफू दत्तचित्त भएर लागिरहेको बताए।
११ वर्षदेखि सङ्घको नेतृत्व चयनका लागि महाधिवेशन हुन सकेको छैन। आगामी चैत मसान्तभित्र महाधिवेशन सम्पन्न गर्ने जिम्मेवारीसहित विश्वकर्माको सभापतित्वमा दुई सय ४० सदस्यीय केन्द्रीय तदर्थ समिति गठन गरिएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।