|

काठमाडौँ : स्थानीय उत्पादनमा आधारित पोषणयुक्त विद्यालय दिवा खाजा प्रारूप, २०८१ स्वीकृत भएको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मन्त्रीस्तरीय निर्णयमा दिवा खाजा प्रारूप स्वीकृतपछि सार्वजनिक गरेको छ।

उक्त प्रारुप ३५ पेजको छ। मन्त्रालयले विद्यालय तहमा स्थानीय उत्पादनमा आधारित पोषणयुक्त दिवा खाजाको प्रबन्धलाई व्यवस्थित गर्न मार्गदर्शन गर्ने, विद्यालयका बालबालिकालाई स्थानीय उत्पादनमा आधारित स्वस्थकर तथा पौष्टिक खाजाको सुनिश्चितताका लागि थप नीतिगत आधार तय गर्नेलगायतका उद्देश्य लिएको छ। 

दिवा खाजाको व्यवस्थापन गर्दा हरेक खाजामा अन्न समूहबाट ५०-६० ग्राम, गेडागुडी समूहबाट ४०-५० ग्राम, फलफूल तथा हरियो सागसब्जीबाट ३०-५० ग्राम र पशुजन्य उत्पादनबाट २०-३० ग्राम गरी कुल १५० देखि २०० ग्रामसम्म हुने गरी तोकिएको छ। चारै समूहको औसत प्रतिविद्यार्थी १७५ ग्राम हुने गरी तोकिएको छ।

खाद्य सुरक्षा र स्वच्छताअन्तर्गत प्रशोधित खानेकुरा निषेध गर्ने तथा खाजा खान प्लास्टिकको भाँडा प्रयोग गर्ने कार्य बन्देज गर्नुपर्ने छ। स्थानीय उत्पादनमा आधारित पोषणयुक्त विद्यालय दिवा खाजा कार्यक्रमको व्यवस्थापनको जिम्मा स्थानीय तहलाई छ।

आफ्ना स्थानीय तहअन्तर्गतका विद्यालयहरूमा राष्ट्रिय मापदण्डअनुसारका मापदण्ड र स्तर कायम गर्ने र कार्यक्रमको अनुगमन र मूल्याङ्कन गर्ने भूमिका स्थानीय सरकारको हुने दिवा खाजा प्रारूपमा उल्लेख छ।

शिक्षा मन्त्रालयले गत भदौमा दिवा खाजा राष्ट्रिय प्रारूपलाई थप परिष्कृत गरी कार्यान्वयनमा लैजान सुझाव माग गरेको थियो। आएका सुझाव समेटेर स्वीकृत गरी सार्वजनिक प्रारूप गरिएको  हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.