|

काठमाडौँ : कतार एयरवेजले भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट उडान थाल्ने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का अनुसार कतार एयरवेजले भोलि (मंगलवार)देखि भैरहवामा दैनिक उडान भर्न लागेको हो।

कतारले दैनिक दुई उडान काठमाडौँ र एउटा भैरहवाबाट गर्नेछ। कतार एयरवेजको भैरहवाका ३० नोभेम्बरसम्म दैनिक एक उडानको तालिका निर्धारण गरिएको छ। 

प्राधिकरणका सूचनाअधिकारी ज्ञानेन्द्र भूलले कतार एयरवेजले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा दैनिक उडान भर्न लागेको बताए। कतार एयरवेजको भैरहवा उडान सांकेतिक रुपमा ठूलो उपलब्धि भएको उल्लेख उनले गरे।

“भैरहवाबाट अन्तरराष्ट्रिय उडान हुनु आफैँमा नेपालको इन्टरनेशनल एयरपोर्टलाई अन्तरराष्ट्रिय एरोनोटिकल समुदाय ‘इन्टरनेशनल एरोनोटिक कम्युनिटी’ले रिकनाइज गर्नु हो”, सूचना अधिकारी भूलले भने, “विश्वका ठूला एयरलाइन्स कतार, फ्लाई दुबई, थाई एयर एशिया, जजीरालगायत अन्तरराष्ट्रिय एयरलाइन्सको भैरहवाबाट उडान हुनु रणनीतिक हिसाबले निकै महत्व हुन्छ। नेपालले बनाएको अन्तरराष्ट्रिय एयरपोर्ट ‘गेट वे’ को रुपमा विश्वप्रशिद्ध एयरलाइन्सले सेडुअल उडानको रुपमा प्रयोग गर्नु भनेको आर्थिक हिसाबले गौतमबुद्ध विमानस्थल र आसपासको क्षेत्र पनि आर्थिक सम्भावनायुक्त हुने हुनाले यसको विशेष महत्व छ।”

सूचना अधिकारी भुलका अनुसार गौतमबुद्ध विमानस्थलबाट हुने अन्तरराष्ट्रिय उडानले हवाई भाडा नियन्त्रण गर्न मद्दत पुग्छ। नेपालले अधिकांश देशसँग गरेको हवाई सेवा सम्झौतामा इन्धनको मूल्य र प्रतिस्पर्धाको आधारमा हवाई भाडा निर्धारण गरिएको हुन्छ। 

स्वदेशी र विदेशी वायुसेवा कम्पनीको समन्वयमा प्रतिस्पर्धी उत्कृष्ट ‘एयरफेयर सिस्टम’ भएपछि स्वदेशी वायुसेवा कमजोर हुँदा विदेशी वायुसेवाको क्षमतामा निर्भर हुनुपर्दा विदेशी कम्पनीले हवाई भाडा बढाउँदा बजार उनीहरुको पहुँचमा जान्छ।

“सरकारले विमानस्थल सहुलियतको प्याकेज घोषणा गरेको छ। यसबाट एयरलाइन्सले पनि नयाँ विमानस्थलबाट व्यावसायिक उडान भरेर श्रेय लिने सम्भावनाको प्रतिस्पर्धा हुने तथा यसले अन्तरराष्ट्रिय महत्व राख्ने प्राधिकरणका विश्वका ठूला एयरलाइन्स विश्वको नम्बर एक एयरलाइन्स कतार एयरवेजले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थललाई ‘रिकनाइज’ गर्नु नै आफैँमा रणनीतिक रुपमा ठूलो महत्व रहन्छ,” उनले भने, “यसले भविष्यमा अन्तरराष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन हुने वातावरण सिर्जना हुन्छ।”

विमानस्थल मर्मत शुरु हुनुअघि कतारले काठमाडौँमा दैनिक ४ उडान भर्दै आएको थियो। योसहित मुलुकको दोस्रो अन्तरराष्ट्रिय विमानस्थल, गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा अन्तरराष्ट्रिय उडान सञ्चालन गर्ने हवाई कम्पनीको सङ्ख्या ५ पुगेको छ।

निर्माण सम्पन्न भएको लामो समयपछि यो विमानस्थलमा धमाधम अन्तरराष्ट्रिय उडान भइरहेको छ। विमानस्थलमा यसअघि नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स), जजीरा एयर र फ्लाई दुबईले अन्तरराष्ट्रिय उडान सञ्चालन गरिरहेका छन्।

गौतमबुद्ध विमानस्थलबाट पहिलो पटक यही कात्तिक १४ गते एकै दिन तीनवटा अन्तरराष्ट्रिय उडान सञ्चालन भएको थियो। 

थाई एयर एशियाले यही कात्तिक १८ गतेदेखि व्यावसायिक उडान शुरु गरेको थियो। फ्लाई दुबईले कात्तिक २४ गतेदेखि भैरहवा विमानस्थलमा उडान शुरु गरेको थियो। साताको सातै दिन फ्लाई दुबईले दुबई–भैरहवा र भैरहवा–काठमाडौँ–दुबई उडान गर्न लागेको हो।

नेपाल एयरलाइन्सले भैरहवा विमानस्थल बेस बनाएर मलेशियाको क्वालालम्पुर र दुबई उडान सञ्चालन गरिरहेको छ। विसं २०७९ जेठ २ गते गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको उद्घाटन भएको थियो। 

दुई अन्तरराष्ट्रिय विमानस्थल पूर्णक्षमतामा सञ्चालन गर्ने सरकारको कार्ययोजना अनुरुप गौतमबुद्ध विमानस्थलमा धमाधम अन्तरराष्ट्रिय उडान सञ्चालन गर्न लागिएको विमानस्थलले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.