काठमाडौँ : काठमाडौँको बौद्धमा २१औँ हस्तकला व्यापार मेला तथा १९औँ हस्तकला प्रतियोगिता हुने भएको छ। नेपाल हस्तकला महासंघले आज काठमाडौँमा पत्रकार सम्मेलन गर्दै मेलाको तयारी सुरु भएको जानकारी दिएको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको संयुक्त तत्वावधानमा आउँदो मंसिर २० देखि २४ गतेसम्म होटल हायत बौद्धमा मेला आयोजना गरिएको महासंघले जानकारी गराएको छ।
मेलाले उद्यमी, कलाकार, कालिगढहरुबाट उत्पादित नेपाली हस्तकलाका वस्तुहरुको राष्ट्रिय र अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन र नयाँनयाँ निर्यातयोग्य वस्तु उत्पादन गर्न उद्यमीहरुलाई प्रोत्साहित गर्ने विश्वास लिइएको छ ।
मेलाले हस्तकला डिजाइन र रङ संयोजनका बारेमा उद्यमी व्यवसायीहरुमा जानकारी आदानप्रदान गर्ने, स्वदेशी तथा विदेशी क्रेता तथा विक्रेताबीच एक आपसमा सीप, प्रविधि, डिजाइन र ज्ञानको आदानप्रदान गर्न सहयोग गर्ने मेला संयोजक दिल्लीरत्न तुनाधरले जानकारी दिए।
राष्ट्रपति रामचन्द्र पौडेलबाट उद्घाटन गरिने मेलामा हस्तकलाका वस्तुहरुको करिब १५० स्टलहरु रहने आज पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
मेलामा स्वदेशीसहित विदेशी प्रदर्शनीकर्ताका रुपमा भारत, चीन, पाकिस्तान, बंगलादेशका व्यापारीहरुको सहभागिता रहने छ। व्यापार मेलामा धातुकला, सुनचाँदी, सुती एवं ढाकाका सामान, पश्मिना, छालाजन्य सामान, प्राकृतिक रेसा र बाँसका सामानलगायत अन्य हस्तकलाका सामग्रीहरु प्रर्दशनी तथा विक्रीमा राखिने छन्।
मेलाको प्रमुख आर्कषणको रुपमा रहेको १९औँ संस्करणको हस्तकला प्रतियोगिता रहने र त्यसमा परम्परागत विधातर्फ लोपोन्मुख अवस्थामा रहेको ‘बुट्टेनली’ र समसामयिक विधातर्फ ‘गलैँचा बुनाई’मा प्रत्यक्ष रुपमा जीवन्त प्रदर्शनी गरिने प्रतियोगिता संयोजक नवीन शाक्यले जानकारी दिए।
प्रतियोगितामा प्रत्येक विधामा प्रथम हुनेलाई ५० हजार, दोस्रो हुनेलाई ३० हजार र तेस्रो हुनेलाई २० हजार रुपैयाँसहित पदक प्रदान गरिने छ।
मेलाकै सन्दर्भमा हस्तकलाका विविध विधामा संलग्न कलाकारहरुको प्रतीभा पहिचान गराउने र कलाकारहरुको व्यापार व्यावसाय प्रवद्र्धन गराउने उद्देश्यले ‘कला प्रदर्शनी २०८१’पनि आयोजना गरिने भएको छ।
यस पटक व्यापार मेलाकै सन्दर्भमा चिनिया तथा अन्य देशबाट पाहुनाहरु निमन्त्रणा गरी चीन नेपाल हस्तकला, संस्कृति र पर्यटक समिट समेत आयोजना गरिने र त्यसबाट नेपालमा ग्रीन परियोजना विकास गरी कार्यान्वयन गरिने महासंघका अध्यक्ष प्रचण्ड शाक्यले जानकारी दिए।
सोही सन्दर्भमा चीनको इष्ट कल्चरल टुरिजम एलाइन्स तथा चाईना र नेपालको हस्तकला महासंघबीच चीन नेपाल ह्याण्डीक्राफ्ट कल्चर एण्ड टुरिजम फोरममार्फत ‘चीन–नेपाल हस्तकला, संस्कृति र पर्यटन सम्मेलन’ काठमाडौँमा आयोजना गर्नेगरी समझ्दारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम समेत रहेको छ।
पत्रकार सम्मेलनमा महासंघका वरिष्ठ उपाध्यक्ष सनम शाक्यले मेला सामान विक्रीका हिसाबले मात्रै होइन यसबाट बजार प्रवद्र्धन र हस्तकला क्षेत्रका समस्या पहिचान गरी समाधान गर्ने उद्देश्य समेत रहेको बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।