|

डडेल्धुरा : नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा गृह जिल्ला डडेल्धुरा आइपुगेका छन्। उनी सोमवार बेलुकी जिल्ला सदरमुकाम आइपुगेका हुन्।

चुनाव जितेको दुई वर्षपछि जिल्ला फर्किएका देउवालाई जिल्ला सदरमुकाममा बाजागाजासहित सो पार्टीका नेताकार्यकर्ताले स्वागत गरेका थिए। यसअघि चुनाव जितेपछि जिल्ला नफर्किने देउवा यसपटक चुनाव जितेको दुई वर्षपछि जिल्ला आएका हुन्।

देउवा जिल्ला आउने भएपछि सदरमुकाम क्षेत्र र उनले भ्रमण गर्ने ठाउँमा व्यापक सरसफाइ गरिएको छ। उनी २०७० पछि पहिलोपटक सडक मार्ग भएर भ्रमण गरिरहेका छन्। २०७४ र ०७९ को निर्वाचनमा उनी हेलिकप्टरमार्फत जिल्लाका विभिन्न कार्यक्रममा सहभागी भएका थिए।

सोमवार बिहान जिल्लाको भित्रीमधेसमा पर्ने आलिताल र परशुरामधामको दर्शन गरेका देउवा बेलुकी जिल्ला सदरमुकाम आएका हुन्। उनी मंसिर १ गतेसम्म जिल्लामा बस्नेछन्। यहाँ रहँदा उनी धार्मिक र पार्टीका कार्यक्रममा सहभागी हुने कार्यतालिका छ।

जिल्ला सभापति भीमबहादुर साउदका अनुसार सभापति देउवा कात्तिक २७ गते गन्यापधुरा गाउँपालिकाको बडाल जाँत (जात्रा)मा सहभागी हुनेछन्। उनले कात्तिक २८ गते पालिकास्तरीय भेटघाट र २९ गते कार्यकर्ता भेटघाट गर्ने  कार्यक्रम रहेको छ।

सभापति देउवा कात्तिक ३० गते गन्यापधुरा गाउँपालिका–१ रुवाखोलामा आयोजना हुने कार्यक्रममा सहभागी हुने छन्। गन्यापधुरा देउवाको गृहपालिका हो। पूर्वप्रधानमन्त्री देउवा मंसिर १ गते डडेल्धुराको उग्रतारा मेलामा सहभागी हुने जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.