काठमाडौं : कान्ति बाल अस्पतालमा काठमाडौँ महानगरपालिकाले मोडुलर अपरेसन थियटर निर्माण गरिदिने भएको छ।
अस्पतालमा अपरेसन थियटर निर्माण आगामी जेठ मसान्तभित्र गरिसक्ने सम्झौतामा उल्लेख छ। महानगरले आधारभूत र आकस्मिक स्वास्थ्य सेवालाई सरल, सहज, पारदर्शी र पहुँच योग्य बनाउन, सरकारी स्वास्थ्य सेवाको क्षमता बढाउन सहकार्य गरिएको जनाएको छ।
उक्त सम्झौता पत्रमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ र अस्पतालका निर्देशक पंकज रायले हस्ताक्षर गरे। उक्त सहकार्यका लागि महानगरले ५ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ। महानगरबासीलाई सरल पहुँच पुर्याउन सम्झौताको उद्देश्य रहेको महानगरले जनाएको छ।
हस्ताक्षरपछि संक्षिप्त प्रतिक्रिया दिँदै प्रमुख प्रशासकीय अधिकृत गुरागाईँले, महानगरबासीप्रति महानगरपालिकाले पूरा गर्नु पर्ने स्वास्थ्य सेवाको पहुँच सम्बन्धी दायित्व पूरा गरिएको बताए। यस्तै स्वास्थ्य सल्लाहकार डा. जगदीश अग्रवालले, बाल रोगको उपचारका लागि महानगरबासीले विशेष सहुलियत प्राप्त हुने अपेक्षा व्यक्त गरे।
तपाईंको ईमेल गोप्य राखिनेछ ।