|

काठमाडौं : पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक इमनारायण श्रेष्ठले पाठ्यपुस्तकमा भएको कमीकमजोरी आगामी नयाँ शैक्षिक सत्रदेखि लागु हुने गरि सच्याउने प्रतिबद्धता जनाएका छन्। एमाले निकट अनेरास्ववियुले विद्यालय तहका पाठ्यपुस्तकमा रहेका त्रुटीहरू सच्याउने मागसहित श्रेष्ठलाई ध्यानाकर्षण गराएपछि उनले यस्तो प्रतिबद्धता जनाएका हुन्।

अनेरास्ववियु काठमाडौं जिल्ला कमिटीका इन्चार्ज धर्मराज तिमल्सिनाको नेतृत्व टोलीले पाठ्यक्रम विकास केन्द्रले विद्यार्थीलाई पाठ्यपुस्तक मार्फत गलत पुस्तक पढाउन बाध्य पारेको भन्दै तत्काल गल्ती सच्याउन ध्यानाकर्षण गराएको थियो।

अनेरास्ववियु काठमाडौं जिल्ला कमिटीका इन्चार्ज तिमल्सिनाका अनुसार पाठ्यक्रम विकास केन्द्रले ७७ वटै जिल्लामा रहेका करिब ३५ हजार ६७४ भन्दा बढि विद्यालयमा गलत शिक्षा पढ्न बाध्य पारिएको छ।

‘राज्यको लगानी माथि गम्भीर घात गरिएको छ,अभिभावकका सपना कुल्चिने दुष्प्रयास गरेको छ, विद्यार्थीको भविष्यसँग,समय र श्रमसँग खेलबाड गरेको छ, राज्य कोष दुरुपयोग गरेको छ,’उनले भने।

उनका अनुसार २०७८ कार्तिक-मंसिर महिनामा सम्पन्न राष्ट्रिय जनगणना २०७८ को अन्तिम नतिजा २०७९ चैत्र १० गते नै राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेकोमा हालसम्म पनि कक्षा-१० को पाठ्यपुस्तकमा राष्ट्रिय जनगणना २०६८ कै तथ्याङ्क राखिएको छ।

राष्ट्रिय जनगणना २०७८ को अन्तिम नतिजा प्रकाशित भइसकेको जानकार नहुनु, नेपालको कुल जनसंख्याको विषयमा पाठ्यक्रम विकास केन्द्र अनभिज्ञ रहनु दु:खद रहेको उनले बताए।

‘गलत पुस्तक पढ्नु पनि विषपान सरह हो। दिगोको अर्थ अरूलाई पिडा दिने वा असर पुर्‍याउने काम हैन, यस प्रकारका थुप्रै त्रुटीहरू छन,’उनले भने। उक्त त्रुटीबारेको जानकारी गराएपछि यी कमजोरीहरू शैक्षिक सत्र अर्थात् २०८२ देखि नै लागु हुने गरि सच्याउने प्रतिबद्धता महानिर्देशकले जनाएको उनले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.