‘राज्यले निःशुल्क शिक्षा र पढ्नमा प्रोत्साहित गर्नुपर्छ’
‘राज्यले निःशुल्क शिक्षा र पढ्नमा प्रोत्साहित गर्नुपर्छ’
काठमाडौं : जब हरेक वर्षको वैशाख आउँछ, सरकार तामझामका साथ नयाँ भर्नाको अभियान थाल्छ।
झण्डै एक महिनासम्म थालिने भर्ना अभियानमा टेलिभिजन, रेडियो, पोष्टरलगायत माध्यमबाट प्रचारप्रसार पनि हुन्छ। सन्देश दिइन्छ।
अभिभावकविहीन बालबालिकाको अभिभावकत्व लिइन्छ र भर्ना पनि हुन्छन्। यस्तै,हरेक श्रीपञ्चमी अर्थात् सरस्वती पूजाका दिन स–साना बालबालिकाको अक्षरारम्भ गरिन्छ। विद्यालयहरूले उक्त दिन निःशुल्क भर्ना अभियान चलाएर भर्ना गर्छन्।
तर,पछिल्लो समय भर्ना भएका बालबालिकाहरू बीचैमा छाड्ने समस्या विकराल बन्दै गएको छ। विद्यार्थी ड्रपआउटको कारणबारे भने कुनै अध्ययन गर्न सकेको छैन राज्यले।
शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले कात्तिक २३ गते सार्वजनिक गरेको प्रतिवेदनसहितको ‘विद्यालय शिक्षा क्षेत्र योजना २०७९-०८८’मा अहिले विभिन्न कक्षामा विद्यार्थीको कक्षा छाड्ने र कक्षा दोहोर्याउने कारणले हरेक वर्ष कक्षा १ मा भर्ना भएकामध्ये करिब १६.५ प्रतिशत विद्यार्थीले आधारभूत तह पूरा गर्नुपूर्व नै विद्यालय छाडेको पाइएको उल्लेख।
यस्तै,२४ प्रतिशत बालबालिका आधारभूत तहबाट माध्यमिक तहमा पुग्न नसकेको प्रतिवेदनमा उल्लेख छ। हरेक वर्ष १० लाखभन्दा बढी बालबालिकाहरू कक्षा १ मा भर्ना हुन्छन्। शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार २०७१ सालमा ११ लाख ३६ हजार ४३३ विद्यार्थीहरू कक्षा १ मा भर्ना भएका थिए। तर २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) का लागि ५ लाख ४ हजार विद्यार्थीले मात्रै फाराम भरेका थिए।
‘विद्यालयको संख्या तथा विद्यार्थी भर्नामा वृद्धि तथा समताका सूचकहरूमा सुधार आए पनि सबै बालबालिकालाई विद्यालयमा ल्याई गुणस्तरीय सिकाइसहित विद्यालय तह पूरा गराउन सकिएको छैन,’प्रतिवेदनसहितको विद्यालय शिक्षा क्षेत्र योजनामा भनिएको छ,‘प्रारम्भिक बाल शिक्षा तथा विकासमा चार वर्ष उमेरका ३१ प्रतिशत बालबालिका बालविकास केन्द्रमा सहभागी हुन सकेका छैनन्, आधारभूत तहमा ४.९ प्रतिशत ५–१२ वर्ष उमेर समूहका बालबालिका विद्यालयमा भर्ना हुन सकेका छैनन्, विद्यालयको पहुँच बाहिर छन्।’
किन बिचैमा छाड्छन् लाखौँ विद्यार्थी?
शिक्षाविद् प्राडा विद्यानाथ कोइराला भर्ना भएका विद्यार्थीहरू अध्ययनबाट टाढा अर्थात् बिचैमा छाड्नुको मुख्य कारण गरिबी रहेको बताउँछन्। उनका अनुसार हरेक वर्ष १० लाखभन्दा बढी विद्यार्थी कक्षा १ मा भर्ना भएका हुन्छन्। तर कक्षा १० सम्म पुग्दा ४/५ लाखले मात्रै विद्यार्थीले एसइई परीक्षा दिएको सरकारी तथ्यांकले नै देखाउँछ।
‘सुरूमा विद्यालयमा धेरै विद्यार्थी भर्ना भएका हुन्छन्,हामी देख्छौँ पनि,’उनी भन्छन्,‘तर गरिबी, चेतनशील समाज नहुँदा, शिक्षा प्रणाली राम्रो नहुँदा विद्यार्थीहरू स्कुल छाड्दै जान्छन्,यो संकेत राम्रो होइन।’
पछिल्लो समय नेपालमा रोजगारी नपाएका कारण युवाहरू विदेशिनेको लर्को छ। अहिले पनि उच्च शिक्षा भन्दै बाहिर देश पढ्नका लागि एनओसी लिनेको भीड छ। त्यसैले पनि समाजमा नेपालमा पढेर के हुन्छ?,के गर्न सकिन्छ र? भन्ने धारणासँगै भ्रम पैदा गरियो।
‘समाजले नै विद्यार्थीलाई पढ्नमा हौसला दिएका हुँदैनन्,जसले गर्दा झनै विद्यार्थीको मानसिकतामा पढाइको महत्व नहुने रहेछ भन्ने भ्रम पैदा हुन्छ,अनि पैसाकै लागि विदेशिन बिचैमा पढाइ छाडिरहेका छन् विद्यार्थीहरू,’उनले भने।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक तथा सूचना अधिकारी सुरेशकुमार जोशी पढ्दापढ्दै बीचमा पढाइ छाड्नुको कारणहरू धेरै रहेको बताउँछन्। ‘बीचमै पढाइ छाड्नुको कारणमा गरिब, अन्तराष्ट्रिय बसाइसराई, बेरोजगारी‚ पठनपाठनमा गुणस्तरीय नहुनुलगायत कारण पर्छन्,’उनले भने।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेल पनि आर्थिक समस्याकै कारण बढी विद्यार्थीहरू पढ्दा पढ्दै बीचैमा विद्यालय छाड्ने गरेको बताउँछन्।
उनी भन्छन्,‘पछिल्लो समय यहाँ पढेर पनि रोजगारी पाइँदैन त्यसैले विदेश नै जानुपर्छ, त्यसो त पढेर किन समय खेर फाल्छौ भन्ने नकारात्मक सोचका सुझाव दिने गरियो,यसकारण पनि पढ्दापढ्दै विद्यार्थीहरूको मानसिकता परिवर्तन हुन्छ अनि कतिपय विद्यार्थीले पढाइ छाड्छन्,कोही परीक्षा दिन छाडेर विदेश पलायन हुन्छन्।’
‘सरकारले निःशुल्क शिक्षा र पढ्नमा प्रोत्साहित गराउनुपर्छ’
नेपाल अभिभावक महासंघका अध्यक्ष शुप्रभात भण्डारी बीचैमा पढाइ छाड्ने समस्या हटाउनको लागि सरकारले पहिला अनिवार्य निःशुल्क शिक्षा कार्यान्वयन गर्नुपर्ने माग गर्छन्। त्यसपछि सरकारले पढ्नको लागि प्रोत्साहित हुने खालका कार्यक्रम ल्याउनुपर्ने उनी बताउँछन्।
‘सरकारले विद्यार्थीलाई पढाउन आकर्षक दिन नसकेका कारण पढ्ने विद्यार्थी संख्या घट्दै जाने गरेको हो,’उनले भने। स्कुलसम्म विद्यार्थी पुग्ने वातावरण दिनमा अभिभावकको समेत ठूलो हात हुन्छ।
अभिभावकको भूमिकामा भण्डारी भन्छन्,‘सबै अभिभावकको इच्छा नै छोराछोरी पढून्, पछि राम्रो जागिर खाउन भन्ने हुन्छ, छोराछोरीकै लागि अभिभावक दिन रात खटिन्छन्, सक्दो पढाइको लागि दुःख गरिरहेका हुन्छौँ, तर, कतिपय अभिभावक गरिबीका कारण इँटाभट्टामा काम गर्छन्, त्यही छोराछोरी पनि काम गराउँछन्।’
यी आधारभूत आवश्यकता पूरा गर्न नसक्ने अभिभावकलाई तीन तहकै सरकार मिलेर निःशुल्क व्यवस्था गर्नुपर्ने उनी माग गर्छन्। ‘सरकारले दिवा खाजा, स्वास्थ्य, शिक्षा निःशुल्क गर्नुपर्छ,’ उनले भने,
‘कक्षा १ देखि १२ कक्षा सम्म नै टोली खटाएर चेतना दिँदै खोजी खोजी विद्यार्थीलाई पढाउन लगाउनुपर्छ, अनुगमन गर्नुपर्छ, नपढ्नुको कारण खोजी त्यसको उपचार गरिनुपर्छ, यसो गरेमा ९९ प्रतिशत विद्यार्थी पढाई छोड्दैनन्।’
के गर्दै छ शिक्षा मन्त्रालय?
शिक्षा मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद भट्टराई बीचैमा पढाइ छाड्ने समस्या अन्त्य गर्नका लागि मन्त्रालयले विभिन्न योजनासँगै कार्यक्रम चलाइरहेको बताउँछन्।
उनी भन्छन्,‘विद्यालयमा विद्यार्थी टिकाइराख्न भौतिक पूर्वाधार निर्माण र सुधार, गुणस्तरीय शिक्षा प्रदान गर्न तालिम, दक्ष शिक्षक उपलब्ध,शैक्षिक सामग्रीको व्यवस्थालगायत कार्य भइरहेका छन्, खासगरी यी सबै जिम्मा र अधिकार स्थानीय तहलाई छ, स्थानीय तहले के कहाँ समस्या छन्,के कारण पढाइ छाडेका छन्,यी सबै हेर्नुपर्छ, अनुगमन गर्नुपर्छ,मन्त्रालयले समन्वय त गर्ने हो।’
उनले मन्त्रालयबाट हुनुपर्ने कार्य, सहयोग स्थानीय तहलाई दिइरहेको बताए। ‘के कारण बिचैमा विद्यार्थीहरूले पढाइ छाडेका छन् भन्ने यकिन अध्ययन गरी पहिचान त भएको छैन,यसको लागि प्रदेश र स्थानीय तहसँग समन्वय चाहिँ भइरहेको छ,विशेषतः आर्थिक उपार्जन नै जोडिने हो,त्यसैले सरकारले शिक्षा तथा आय-आर्जनका लागि सहुलियत अनुदानको व्यवस्था गरेको छ,सरकारसँग भएको स्रोत,क्षमता अनुसार विद्यार्थीहरूलाई पढ्नमा आकर्षित त गरिरहेकै छ,’उनले भने।
तपाईंको ईमेल गोप्य राखिनेछ ।