काठमाडौं : नयाँ शैक्षिक सत्र (२०८२) को लागि ६० प्रतिशत नयाँ पाठ्यपुस्तक छपाइको काम सकिएको छ।
सरकारको स्वामित्वमा भएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले समयमै नयाँ पाठ्यपुस्तक छपाइको काम थालिएको र हालसम्म ६० प्रतिशत छपाइको काम सकिएको जनाएको छ।
जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका सूचना अधिकारी पार्वती न्यौपानेका अनुसार जनक शिक्षाले आगामी शैक्षिक सत्रमा पनि सम्बन्धित ठाउँमै समयमै पाठ्यपुस्तक छापेर पुर्याउने लक्ष्यका साथ धमाधम छाप्दै आएको छ।
‘हालसम्म नयाँ शैक्षिक सत्रको लागि ६० प्रतिशत पुस्तक छपाइएको काम सकिएको छ,बाँकी धमाधम छपाइ भइरहेको छ,’उनले भनिन्।
जनक शिक्षाले वर्षेनी एक करोड थान भन्दा बढी नयाँ पाठ्यपुस्तक छाप्दै आएको छ। जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले २०८० सालको शैक्षिक सत्रका लागि १ करोड ५० लाख थान नयाँ पुस्तक छाप्नुपर्ने अनुमति पाएको थियो। यस्तै, कक्षा ५ देखि १२ सम्मको पाठ्यपुस्तक छपाइको जिम्मेवारी पाएको जनक शिक्षाले गत वर्ष (२०८१) का लागि एक करोड ७४ लाख थान छाप्ने अनुमति पाएको थियो।
उक्त छापिएको नयाँ पुस्तक चैत १५ गतेदेखि बिक्री वितरणको काम थालेको थियो। जनक शिक्षाले उही संख्यामै नयाँ पुस्तक छापिने र थप आवश्यकता अनुसार पुस्तक छाप्दै आएको जनाएको छ।
एक करोड थान पुस्तक स्टक
जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका सूचना अधिकारी न्यौपानेले पुरानै एक करोड थान पाठ्यपुस्तक स्टक रहेको जानकारी दिइन्। उनका अनुसार उक्त पुस्तक यस वर्ष पनि प्रयोगमा ल्याइनेछ। सरकारले पाठ्यक्रम परिमार्जन गर्नलाई प्रक्रिया अगाडि बढाए पनि लागू हुन भने समय लाग्नेछ।
पाठ्यक्रम विकास केन्द्रका निर्देशक एवं सूचना अधिकारी वासुदेव वस्तीका अनुसार कक्षा १ र ३ को पाठ्यक्रम र पाठ्यसामग्री अद्यावधिक गरिनेछ। कक्षा ४ देखि १२ सम्मको सामाजिक विषयको पाठ्यक्रम अद्यावधिक गरिनेछ। त्यस्तै, इसिडीको पाठ्यक्रम अनुकूलन गरिने उनले जानकारी दिए।
उनले पाठ्यक्रम परिमार्जनको लागि विज्ञ, सरोकारवालासँग सुझाव, पृष्ठपोषण माग गरिएको जानकारी दिए। त्यही सुझावको आधारमा पाठ्यक्रम परिमार्जन हुने उनको भनाइ छ। उनका अनुसार यो आर्थिक वर्ष, नभए ढिलोमा २०८२ सम्ममा पाठ्यक्रमको अद्यावधिक भइसक्नेछ। त्यसपछि सबै काम सक्दा २०८३ को नयाँ शैक्षिक सत्रबाट क्रमशः परिमार्जन भएको पाठ्यक्रम लागू हुने छ। त्यसैले पनि पहिला छापिएकै पुस्तक प्रयोगमा ल्याउन सकिनेछ।
समयमै पुस्तक पुग्नेमा शंका छैन
जनक शिक्षाले आगामी नयाँ शैक्षिक सत्रमा पनि समयमै पुस्तक सम्बन्धित विद्यालयमा पुग्ने प्रतिबद्धता जनाएको छ। २ वर्ष अघिसम्म वर्षेनि समयमा नयाँ पाठ्यपुस्तक छाप्न ढिलाइ र सम्बन्धित ठाउँमा नपुग्ने समस्या दोहोरिरहेको थियो। त्यही कारण सरकारको चर्को आलोचना हुन्थ्यो।
तर २०८० को शैक्षिक सत्रदेखि सम्बन्धित ठाउँमा समयमै पुस्तक पुग्न थालेको छ। ०८१ को शैक्षिक सत्रमा पनि समयमै पाठ्यपुस्तक पुग्यो। ‘यसपटक पनि समयमै पुस्तक पुग्छ,केही समस्या हुँदैन,अब त पर्याप्त जनशक्ति र पूर्वाधारहरू छन्,’जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका सूचना अधिकारी न्यौपानेले भनिन्।
जनक शिक्षालय समयमै पुस्तक छपाइ गर्न थालेपछि शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले निजीले छाप्दै आएको पाठ्यपुस्तक छपाइमा कटौती गर्दै कक्षा ३ को पनि जनक शिक्षाले नै छाप्ने अधिकार दिएको छ। यसअघिसम्म निजीले कक्षा १ देखि ४ सम्मको पाठ्यपुस्तक छाप्दै आएको थियो भने जनक शिक्षाले कक्षा ५ देखि १२ सम्मको नयाँ पाठ्यपुस्तक छाप्ने जिम्मा पाएको थियो।
तर अबदेखि ३ को पनि नयाँ पाठ्यपुस्तक छाप्ने जिम्मा जनक शिक्षाले पाएको छ। योसँगै जनक शिक्षाले अबदेखि कक्षा ३ त्यसैगरी कक्षा ५ देखि १२ सम्मको नयाँ पाठ्यपुस्तक छाप्नेछ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।