काठमाडौँ : सहकारी ठगी प्रकरणको विषयमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङसँग प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले आज बयान लिएको छ।
लाजिम्पाटस्थित सिआइबीको कार्यालयमा बोलाएर मितेरी सहकारी ठगीबारे उनीसँग बयान लिइएको हो। झण्डै ५ घण्टा बयान लिएपछि घटना विवरण कागज गराएर छाडिएको सिआइबीले जानकारी दिएको छ।
मध्याह्यनदेखि साँझ ५ बजेसम्मै सोधपुछ गरिएको थियो। सिआइबीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले उनीसँग सोधपुछपछि कागज गराएर छाडिएको थाहाखबरलाई जानकारी दिए।
ललितपुर महानगरपालिका ५ स्थित महालक्ष्मीस्थानमा रहेको मितेरी सहकारीको रकम अपचलन गरेको आरोपमा सहकारीका सञ्चालक ज्योति गुरुङसहित ५ जना विरुद्ध जाहेरी परेको छ।
ज्योति गुरुङ धनराजकी पूर्वपत्नी हुन्। उनीहरूबीच २०७६ फागुन २९ मा ललितपुर जिल्ला अदालतबाट सम्बन्ध विच्छेद भएको थियो। त्यसपछि पनि उनीहरू सँगै बस्दै आएको र दायित्व बेहोर्दै आएको समाचार सार्वजनिक भएको थियो।
सार्वजनिक विवरण अनुसार सहकारीको दायित्वबाट छुटकाराका लागि उनीहरूले सम्बन्धविच्छेद गरेका आरोप लगाइएको छ। हाल ज्योतिसहितका आरोपीमाथि रेड नोटिस जारी भइसकेको छ।
प्रहरीले गुरुङसँग सहकारीबाट लिएको ९१ लाख ऋण र सहकारीको रकम अपचलनबारे सोधपुछ गरेको जानकारी दिएको छ। मितेरी सहकारीको १२ करोड ५१ लाख रकम अपचलन भएको भेटिएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।