|
फाइल तस्वीर

मलेखु : गणेश हिमाल बेस क्याम्पनजिकै हाई अल्टिच्युटका कारण विरामी परेर फसेकाहरूलाई उद्धार गर्न गएको नेपाली सेनाको हेलिकप्टर उद्धार गर्न नसकी फर्किएको छ।

खराब मौसमका कारण ल्याण्ड गर्न नसकेपछि आँखुखोलाको शिर आसपासमा फसेकाहरुलाई उद्धार गर्न नसकी हेलिकप्टर फर्किएको हो। 

पटकपटक ल्याण्ड गर्ने प्रयास गरे पनि खराब मौसम र सञ्चार सम्पर्क गर्न नसकेपछि फर्किएको धादिङका सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले जानकारी दिए।

ट्रेकिङ टोलीमा रहेका रुविभ्याली गाउँपालिकाका विपिन तामाङका अनुसार गणेश हिमाल बेसक्याम्पको केही तल (करिब डेढ घण्टाको दूरीमा) ट्रेकिङ गएका १६ जना फसेका छन्।

डिभिजन वन कार्यालय धादिङका प्रमुख विष्णुप्रसाद आचार्य र रेञ्जर अनुसुया ढुङ्गाना विरामी परेका छन्। सँगै ट्रेकिङमा रहेका ११ जना भने रुविभ्याली गाउँपालिका–४ हिन्दुङनजिकै आइपुगेका छन्।

पर्या–पर्यटन प्रवर्द्धन गर्न धादिङको रुविभ्याली गाउँपालिका र डिभिजन वन कार्यालय धादिङको टोली ६ दिनदेखि यात्रामा छन्। सोमवार राति त्यस स्थानमा पुगेका उनीहरु हाई अल्टिच्युटका कारण विरामी परेका थिए।

त्यस स्थाननजिक मानवबस्ती नभएको र सञ्चार सम्पर्क नभएपछि आज विहानदेखि ६ घण्टा हिँडेर सञ्चार सम्पर्कमा आएको ट्रेकिङमा रहेका पत्रकार मिलन तिमिल्सिनाले बताए।

“फसेको ठाउँ बेसक्याम्प पुग्न करिब डेढ घण्टा जति समयको दूरीमा छ। त्यहाँ फोन लाग्दैन। सोमवार राति त्यहाँ पुगेको हो। अहिले पनि त्यही छ। हामी टेलिफोन लाग्ने ठाउँसम्म आएर सम्पर्कमा आएका हौँ”, तिमल्सिनाले भने। 

ट्रेकिङ टोलीमा २७ जना रहेको र २ जना विरामी परेपछि विरामीसहित १६ जनालाई त्यही छोडेर ११ जना अहिले १४ घण्टा हिँडेर तिप्लिङको हिन्दुङनजिक आइपुगेको जानकारी उनले दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.