‘चिठ्ठा, उपहार तथा लगानीका नाममा बढे ठगी’

|

काठमाडौं : ‘इन्टरनेट’ तथा ‘कम्प्युटर’ र ‘कम्प्युटिङ’ उपकरणहरूको प्रयोग बढ्दै जाँदा उपत्यकामा साइबर अपराधअन्तर्गत पर्ने घटनाहरूमा पनि वृद्धि भएको पाइएको छ।

पछिल्लो समय साइबर ब्युरोमा सामाजिक सञ्जालमा चिठ्ठा, उपहार तथा लगानीका विभिन्न नाममा ठगीका मुद्दा हाल्ने नागरिकको संख्या बढ्दै गएका हुन्।

नेपाल प्रहरीको साइबर ब्युरोमा करिब दैनिक करिब ८० वटा मुद्दा दर्ता हुने गरेका छन्। जसमा सबैभन्दा बढी सामाजिक सञ्जालबाट विभिन्न बहानामा मान्छे ठगिएका मुद्दा नै बढी रहेको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जानकारी दिए।

उनले दैनिक रूपमा गिफ्ट, सस्तो फ्लाइट, अनलाइन सपिङ, चिट्ठा तथा आकर्षक जागिरका नाममा नागरिक ठगिने गरेको बताए। उनका अनुसार यस्ता घटनामा करिब ५० देखि ६० वटा केस ब्युरोमा आउने गरेका छन्।

अनलाइन ठगीबाट जोगिए ओलम्पियन दीपक विष्ट

ओलम्पियन एवं तेक्वान्दो प्रशिक्षक दीपक विष्ट अनलाइन ठगी हुनबाट जोगिएका छन्। केही दिन अगाडि सामाजिक सञ्जालमा एक सन्देश जारी गर्दै विष्टले बैंकको आइटी कर्मचारी भन्दै स्क्यामरले झुक्याएर आफूलाई ठगी गर्ने प्रयास गरेको बताए।

उनका अनुसार उनलाई सबैभन्दा पहिले कृषि विकास बैंकको कर्मचारी भन्दै एक व्यक्तिले अनलाइन बैंकिङ अपग्रेड गर्नुपर्ने भन्दै कल गरेका थिए। विष्टले तपाईं कहाँबाट बोल्नुभयो? भनेपछि ती व्यक्तिले भने, ‘म हेड अफिसको आइटी डिपार्टमेन्टबाट बोलेको हुँ भने।'

स्क्यामरको कुरालाई पत्याएका विष्टले आफ्नो अकाउन्ट नम्बर र जन्ममिति उसलाई दिए। स्क्यामर यतिमै रोकिएन त्यसपछि विष्टलाई मोबाइल बैंकिङ एपमा गएर  सेक्युरिटी कोड उपलब्ध गराउन अनुरोध गर्‍यो।

सेक्युरिटी कोड त अहिलेसम्म कुनै पनि बैंकले मागेको थिएन। यो बैंकले किन मागेको होला? उनी आश्चर्यमा परे। अनि शंका लागेर तत्कालै आफ्नो खातावाला बैंक कृषि विकास बैंक लिमिटेडको हेड अफिसमा  कल गरे। विष्टले यो सबै काम बैंकबाट नभएको थाहा पाए।

यसपछि विष्टले तत्कालै बैंकको शाखा कार्यालयमा फोन गरी आफ्नो खाता तत्काललाई रोक्का गरिदिन अनुरोध गरे।  ‘यदि मैले सेक्युरिटी कोड र पिन दिएको भए उसले रकम ट्रान्सफर गरिसक्थ्यो। र, मलाई ठूलो हानि हुन्थ्यो,’ विष्ट भन्छन्, ‘यस्तो फोन आयो भने सचेत रहनुहोला भनेर हार्दिक अनुरोध गर्छु।’

महिनामा २६ सय मुद्दा

साइबर ब्युरोका प्रवक्ता दीपक अवस्थीले पछिलो ७ महिनामा २ हजार ६ सय ४७ वटा मुद्दा दर्ता भएको जानकारी दिए।  उनले थाहाखबरसँग भने, ‘सामाजिक सञ्जालबाट ठगिने घटना बढ्दै गएका छन्। सामान्य लोभका कारण वा नजानेर आम नागरिक स्क्याममा पर्दै गएका छन्।'

उनका अनुसार ०७९/८० मा १८ सय २५ केस दर्ता भएका थिए भने ०८०/८१ मा ३७ सय ७१ केस दर्ता भएका छन्। अहिले सामाजिक सञ्जालबाट नागरिक ठगिने गरेका छन्। सबैभन्दा धेरै फेसबुक ह्‍वाट्सएप, इन्ष्टाग्राम, टेलिग्राममार्फत सबैभन्दा धेरै मान्छेहरू ठगिएका छन्। पछिल्लो ७ महिनामा  फेसबुकबाट ६६१, इन्स्टाग्रामबाट ४७८, टेलिग्रामबाट ६९६ र ह्वाट्स्एपबाट ५६९ मान्छे ठगिएका छन्।

अवस्थीले भने, ‘सामाजिक सञ्जाल प्रयोग गर्नेहरू बढ्दै गएपछि सोझा नागरिकहरूलाई  यसैमार्फत ठग्ने प्रचलन बढ्दै गएको छ। हामीले सामाजिक सञ्जालमा कोही अपरिचितको विश्वास नगर्न आग्रह गर्दछौँ।'

सबैभन्दा बढी फेसबुक र इन्ष्टाग्राम

सामाजिक सञ्जालमा ठगले सबैभन्दा धेरै फेसबुक, इन्स्टाग्राम, टेलिग्राम र ह्वास्टयाप प्रयोग गरेर ठगी गर्ने गरेका छन्। ब्युरोका तथ्यांकअनुसार ०७९/८० मा फेसबुकमार्फत १ हजार ३६ ठगी फेसबुकबाट मात्र भएका छन् भने इन्ष्टाग्रामबाट १९४, ह्वास्टयापबाट २२० वटा ठगी भएका छन्।

त्यस्तै, ०८०/८१ मा  फेसबुकबाट १ हजार ८२३ ठगी भएका छन्। इन्ष्टाग्रामबाट ७ सय २५, टेलिग्रामबाट ५९ र ह्वास्टएपबाट ६५६ वटा ठगी भएका छन्।

यसका अलवा सामाजिक सञ्जालबाट नग्न तस्विरमा व्यक्तिको मुहार जोडी विभिन्न सामाजिक सञ्जालमा राख्ने, अश्लील तस्विर तथा भिडियो सामाजिक सञ्जालमा प्रकाशन गर्ने, अरूको सूचना आफ्नो नियन्त्रणमा लिई फिरौती माग गर्ने प्रवृत्ति बढेको प्रहरीले जनाएको छ।

यस्तै, सामाजिक सञ्जालमा अन्य व्यक्तिको नाम तथा तस्बिर प्रयोग गरी प्रोफाइल पेज खोलेर बेइज्जत गर्ने सरकारी तथा अन्य संघ संस्थाको वेबसाइट ह्याक गर्ने र अनलाइन ठगी गर्ने क्रम पनि बढेको छ।

कसरी सुरक्षित हुने? 

-अप्रत्यासित लिंक तथा चिट्ठा पर्यो भनी आएका मेल/ लिंकहरूको विश्वासमा परी क्लिक नगरौँ।

-विदेशबाट गिफ्ट आयोभन्सार कटाउने भनी गिफ्ट/आइफोनको फोटो देखाएर रकम माग गरेमा समेत विश्वासमा नपरौँ। 

-आफ्नो गोप्य फोटो / भिडियो, तथा व्यक्तिगत जानकारी जो कोहीसँग सेयर नगरौँ।

-आकर्षक रोजगारी पाउनका लागि उल्टो आफूले रकम लगानी गर्न लगाउने प्रलोभनका पछि नलागौँ।

-फेसबुकमा स्पोन्सर्ड' भनी आउने अनलाइन जागिर तथा प्रलोभनको पछि नपरौँ। 

-चिनजानकै व्यक्तिबाट मेसेजमा च्याट गरी रकम माग गरेमा कल गरी यकिन गरौँ -- ह्याक भएको आइडी हुनसक्छ।

-सुरक्षित पासवर्ड प्रयोग गरौँ, समय-समयमा परिवर्तनसमेत गरौँ।

-सम्भव भएसम्म अनलाइन खाताहरूमा 2FA वा MFA (Multi-Factor Authentication) प्रयोग गरौँ। यो भनेको पासवर्ड सँगै OTP समेत हो।

-सार्वजनिक स्थानमा उपलब्ध फ्री वाइफाईमा बैंङ्किक कारोबार वा संवेदनशील जानकारी आदनप्रदान नगरौँ।

-कम्प्युटर / ल्यापटपलाई समय समयमा अपडेट गरौँ, विश्वसनीय एण्टी भाइरस प्रणालीहरू प्रयोग गरौँ।

-जरूरी विवरण तथा डाटाहरूको नियमित ब्याकअप गर्ने गरौँ (Portable Hard Disk, Cloud, लगायत)।

-बालबालिकाहरूघर परिवारका सदस्यहरू प्रविधिको प्रयोग तथा अनलाइनमा हुनसक्ने खतराहरूको बारेमा कुराकानी गरौँ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.