काठमाडौँ : आईसीसी महिला यू–१९ टी–२० विश्वकपमा छनोट भएको नेपाली महिला टोली बिहीवार स्वदेश फर्किएको छ।
बुधवार भएको एशिया छनोटको अन्तिम खेलमा घरेलु टोली यूएईलाई ८ विकेटले पराजित गर्दै नेट रनरेटका आधारमा नेपालले सन् २०२५ मा मलेशियामा आयोजना हुने विश्वकपमा स्थान सुरक्षित गरेको हो।
खेलाडीलाई त्रिभुवन विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीलगायतले स्वागत गरे। यूएईलाई नेट रनरेटका आधारमा उछिन्दै पहिलो पटक महिला यू–१९ टी–२० विश्वकपमा पुगेको हो।
फराकिलो अन्तरसहित जित्नैपर्ने खेलमा जितका लागि ८४ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले १४ ओभर ४ बलमा २ विकेटमात्र गुमाएर घरेलु टोली यूएईलाई पराजित गरेको थियो।
विश्वकपमा पुगेसँगै नेपालले यही डिसेम्बरमा मलेशियामा नै हुने एसीसी यू-१९ महिला टी-२० एशिया कपमा समेत खेल्ने अवसर पाएको छ।
क्यानले यू-१९ टोलीका खेलाडीलाई जनही २ लाख ५० हजार रुपैयाँ नगद र टिममा रहेका अफिसियललाई १ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार दिने घोषणा गरेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।