काठमाडौँ : रुपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बयान सकिएलगत्तै आजै पोखरा पठाउने तयारी स्थगित गरिएको छ।
अब उनलाई शुक्रवार पहिलो उडानबाटै पोखरा पठाउन लागिएको रुपन्देही प्रहरीले जनाएको छ। आज टिकट काटेरै राति जहाजबाट पठाउने तयारी गरिएपनि मौसम अनुकुल नभएको बताइएको छ। भोलि पहिलो उडानबाटै पठाइने रुपन्देहीकी प्रहरी नायब उपरीक्षक लक्ष्मी खनालले जानकारी दिइन्।
मंगलवार दिउँसो पोखराबाट भैरहवा लगिएका लामिछानेलाई सरकारी वकिलको कार्यालय रुपन्देहीमा तीन दिन लगाएर लिखित बयान लिइएको हो।
उनीसँग ७० भन्दा बढी लिखित प्रश्न सोधिएको र लामिछानेले इन्कारी बयान दिएको जिल्ला प्रहरी कार्यालय रुपन्देही स्रोतले जनाएको छ। लिखित बयानका आधारमा प्रहरीले पुरक प्रतिवेदन बनाउने जनाएको छ।
यसअघि बयान सकेर आजै उनलाई पोखरा पठाउने तयारी गरिएको थियो तर बयानसहितका अन्य प्राविधिक तयारी गर्दा रातिको झण्डै ८ बजेको थियो। त्यसपछि पोखरा पठाउने तयारी गरिए पनि मौसम अनुकुल नभएको प्रहरीले जनाएको छ।
लामिछानेमाथि सहकारी ठगी, संगठित अपराधका साथै सम्पत्ति सुद्धीकरणको कसुरमा समेत कास्की प्रहरीले अनुसन्धान गरिरहेको छ। विगत २६ दिनदेखि सहकारी ठगी र संगठित अपराध कसुरमा अनुसन्धानका लागि कास्की प्रहरी हिरासतमा रहेका उनलाई अर्को सहकारी ठगी प्रकरणको बयानकै लागि रूपन्देही लगिएको हो।
पोखराको सूर्यदर्शन सहकारीको बचत अपचलन आरोपमा लामिछानेलाई कात्तिक २ गते काठमाडौँस्थित पार्टी कार्यालयबाट पक्राउ गरी पोखरा लगिएको थियो।
बुटवलस्थित सुप्रिम सहकारीबाट १ करोड ९६ लाख लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको आरोप छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।