एक्सन लिँदैन सरकार
एक्सन लिँदैन सरकार
काठमाडौं : हरेक दिन सवारी दुर्घटनाका हृदयविदारक समाचार र तस्वीर सार्वजनिक भइरहेका छन्। गत २३ कात्तिकदेखि ३० गतेसम्म देशभर दर्जनौँ दुर्घटना भएका छन्। जसमा ६७ जना नागरिकले ज्यान गुमाएका छन्।
नेपाल प्रहरीले आज सार्वजनिक गरेको विज्ञप्तिमा पछिल्लो २४ घण्टामा मात्रै १३ जनाले ज्यान गुमाएका छन्। यसरी हेर्दा यो हप्ता दैनिक सरदर ७ जनाभन्दा बढीले ज्यान गुमाएका हुन्।
यी दुर्घटना शहरदेखि ग्रामीण क्षेत्रसम्म भएका छन्। दैनिक छिटफुट घटनालाई नगन्ने हो भने देशभर करिब दैनिक ५४ वटा दुर्घटना हुने गरेका छन्। आज दार्चुलाको शैल्यशिखर नगरपालिका- ६ मा भएको जीप दुर्घटनामा ज्यान गुमाउनेको संख्या आठ पुगेको छ। पाँचजना घाइते छन्।
शैल्यशिखर-९ नक्तडका ४५ दिलीप विष्ट, लेकम गाउँपालिकाकाका ३० वर्षीय वीरेन्द्र रावल, २५ वर्षीया शान्ति रावलको मृत्यु भएको प्रहरी छत्रबहादुर निरीक्षक रावतले जानकारी दिए। प्रहरीका अनुसार रावलद्वय श्रीमान्-श्रीमती हुन्।
यस्तै नक्तडका ४५ दिलीप विष्ट र ४० वर्षीया मीना लेखकको पनि मृत्यु भएको छ। बैतडीको डिलासैनी गाउँपालिका-५ का ५० वर्षिय वीरेन्द्र बोहरा र १६ वर्षीया सुजित बोहराको ज्यान गएको छ।
ज्यान गुमाउनेमध्ये दुई भारतीय नागरिक छन्। भारत विजनोर मोभारपुरका ४५ वर्षीय मोहम्मद सकिर र १८ वर्षीय मोहम्मद बसिलको मृत्यु भएको प्रहरी निरीक्षक रावतले जानकारी दिए।
मालिकार्जुनबाट गोकुलेश्वरतर्फ जाँदै गरेको म १ ज ३३८ नम्बरको जीप बिहान ४ बजेतिर शैल्यशिखर नगरपालिका-६ मा दुर्घटना भएको थियो।
घाइतेमध्ये चालक दार्चुला शैल्यशिखरका ३० वर्षीय सुनिल जोशीको अवस्था गम्भीर छ। गोकुलेश्वर अस्पतालमा तीनजनाको उपचार भइरहेको प्रहरीले जनाएको छ। उनीहरूको अवस्था सामान्य छ। एक जना भने उपचारपश्चात् डिस्चार्ज भएका छन्। जीपमा १३ जना सवार थिए।
स्थानीय मालिकार्जुन मन्दिरमा लागेको जात्रा हेरेर फर्किने क्रममा दर्शनार्थी चढेको जीप सडकबाट १०० मिटर तल खसेको प्रहरीले जनाएको छ।
त्यस्तै, कार्तिक २५ गते कालीकोटको पलाँता गाउँपालिका-३ राडूनेटामा भएको जिप दुर्घटनाका मृतक ६ जनाको सनाखत भएको थियो भने ७ जना घाइते भएका थिए।
त्यस्तै, कार्तिक २६ गते बागलुङमा पिकअप जिप दुर्घटना भयो। जसमा पाँच जनाको मृत्यु भयो। जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग २ च ९२४७ पिकअप जिप ढुङ्गेखानी भन्ने स्थानमा दुर्घटना भएको थियो। भ्यान सडकदेखि सात सय मिटरभन्दा तल खसेको थियो।
कार्तिक २३ गते सुर्खेत–दैलेख सिमास्थित वीरेन्द्रनगर–१४, को रातानाङ्ग्ला नजिक भएको फोर्स गाडी दुर्घटनामा परी चार जनाको मृत्यु भएको थियो भने २५ जना घाइते भएका थिए। २९ जना सवार उक्त गाडी सडकभन्दा झण्डै दुई सय मिटर तल खसेको थियो।
‘ग्रामीण सडक सवारी चलाउन सिक्ने माध्यम बने’
सवारी साधनको चेकजाँचमा कमजोरी, अपरिपक्व चालक, निगरानी तथा अनुगमनको कमीले यात्रुहरूको जोखिममा रहेका छन्। ग्रामीण क्षेत्रमा सवारी दुर्घटनाको मुख्य कारण भने नयाँ चालक तथा ओभर स्पीड रहेको चालक सन्तोष विक बताउँछन्।
विगत १९ वर्षदेखि गण्डकी क्षेत्रका विकट क्षेत्रमा बोलेर भ्यान चलाउँदै आएका विकले सडकको अवस्था यति धेरै कमजोर छ कि दुर्घटना कति खेर हुन्छ भन्ने डर बोकेर हिँड्नुपर्ने बताउँछन्।
‘नेपालका सडकको अवस्था स्तरिय छैनन्। जसले गर्दा जोखिम लिएर नै सवारी चलाउनुपर्छ भने यात्रुले यात्रा गर्नुपर्छ। दोस्रो कुरा यात्रुको चाप बढी हुँदा पनि दुर्घटना निम्तिएका छन्’, सन्तोषले थाहाखबरसँग भने, ‘ग्रामिण क्षेत्रमा सरकारको निरीक्षण पुग्दैन भने नयाँ चालकहरूले बेप्रवाह सवारी हुइँक्याउँदा दुर्घटना निम्तिएको हो।'
ग्रामीण क्षेत्रमा सवारी चलाउँदा झन् धेरै अनुभव आवश्यक पर्ने उनको बुझाइ छ। ‘ग्रामीण क्षेत्रका सडकहरू सवारी चलाउन सिक्ने माध्यम भएका छन्। यसले जनधनमा ठूलो क्षति भएको छ', उनले भने। सरकारले यसतर्फ गम्भीर हुनुपर्ने उनले बताए।
‘ज्यानमारा सडक’
सवारी दुर्घटनाबाट हुने क्षतिमा धन सम्पतिको क्षतिभन्दा मानवीय क्षति अति संवेदनशील र हृदयविदारक हुने कुरा हामी सबैले महसुस गर्दै आइरहेका छौँ।
सवारी दुर्घटनाका कारण नागरिकले ज्यान गुमाइरहेका छन् भने अंगभंगका कारण कष्टकर जीवन बाँच्न अभिशप्त रहेका छन्। जनधनको क्षतिका कारण परिवार, समाजदेखि लिएर राज्य समेतले त्यसको प्रतक्ष परोक्ष असर भोग्नु परिरहेको छ।
सीमित स्रोतबाट धेरै सडक निर्माण गर्दा हामीले गाउँ गाउँ जोड्न मात्र लागि परेको पूर्वधारविद् आशिष गजुरेल बताउँछन्। ‘सुरक्षित सडक बनाउन लागेनौँ’, उनले थाहाखबरसँग भने, ‘सडक विभागले निर्माण गरेका बाहेक अन्य सडक ज्यानमारा सडक हुन् जसलाई तत्काल बन्द गरे हुन्छ। झन ग्रामिण सडकको अवस्था नाजुक छ।'
‘सहरका सडकहरू त यहाँ जोखिमपूर्ण छन्। गाउँका सडकहरूको त ज्यानमारा नै छन्’, उनले भने। यात्रुलाई गन्तव्यमा पुग्नुपर्ने हतारो, चालकहरूलाई कमाउनुपर्ने लोभ र अपरिपक्कता। सवारीको चेकजाँच नहुनु तथा अनुगमन शून्य हुनु नै सडक हाम्रा लागि ज्यानमारा साबित भएको उनले बताए। उनले भने, ‘यो चिन्ताको विषय हो। सरकारले कुनै एक्सन लिन सकिरहेको छैन। सरकार जिम्मेवार हुन सकेन।'
प्रहरी अनुगमन पनि शहर केन्द्रित रहेको भन्दै उनले अनुगमनको दायरा फराकिलो हुँदा पनि केही जोखिम कम हुने उनले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।