|

काठमाडौँ : डिजिटल सवारी चालक अनुमतिपत्र नियमनका लागि ट्राफिक प्रहरीलाई ४ सय ८ थान स्मार्ट फोन हस्तान्तरण गरिएको छ। 

बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयले आज ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्रीबहादुर सिंह लामाले प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई उक्त स्मार्ट फोन हस्तान्तरण गरे।

कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री लामाले हस्तान्तरण गरिएका स्मार्ट फोनबाट प्रभावकारी यातायात व्यवस्थापनमा सहयोग पुग्ने बताए। 

नागरिकको गुनासोलाई सम्बोधन गरी आगामी दिनमा ट्राफिक प्रहरीको काम कारबाहीलाई थप प्रभावकारी बनाउँदै लैजान आवश्यक समन्वय गर्दै जाने उनको भनाइ थियो।

कार्यक्रममा बागमती प्रदेश श्रम, रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जन, बागमती प्रदेशसभा सदस्य मधुसुदन पौडेल, बागमती प्रदेशसभा सदस्य एवम् पूर्वमन्त्री रामेश्वर श्रेष्ठ र यातायात व्यवस्था विभागका महानिर्देशक राजिव पोखरेलले उक्त स्मार्ट फोनले ट्राफिक व्यवस्थापनमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए।

अवसरमा बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयका सचिव बलराम निरौलाले स्वागत मन्तव्य तथा मन्त्रालयका भावी योजना बारे जानकारी दिएका थिए।

कार्यक्रममा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले सीमित स्रोत साधनको अधिकतम सदुपयोग गर्दै प्रभावकारी ट्राफिक व्यवस्थापन गर्दै आइरहेको नेपाल प्रहरीलाई आज हस्तान्तरण भएका स्रोत साधनहरू अत्यन्तै उपयोगी सिद्ध हुने विश्वास लिएको बताए।

प्रहरीको एकल प्रयासले मात्र ट्राफिक व्यवस्थापन सम्भव नहुने भएकोले सरोकारवाला निकायको सहयोग र समन्वयले ट्राफिक व्यवस्थापनलाई समयानुकूल आधुनिक र प्रविधिमैत्री बनाउँदै पारदर्शी, परिष्कृत र परिमार्जित सेवा प्रवाह गर्न सहजीकरण हुने उनले उल्लेख गरे।

समग्रमा ट्राफिक प्रहरी कर्मचारीहरूको समेत क्षमता विकास तथा सेवा प्रवाहको प्रभावकारितामा वृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा लिएको उनले बताए। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.