‘१५ रुपैयाँमा स्तरीय खाजा खुवाउन सकिदैन’

|

काठमाडौँ ः सरकारले पछिल्लो समय सामुदायिक विद्यालयमा दिइँदै आएको ‘दिवा खाजा’मा विभिन्न खाजा मेनु आइटमसँगै नीतिगत व्यवस्था गर्दै आएको छ। सरकारले ‘जङ्क फुड’ (पत्रु खाना)लाई निषेध गर्दै स्थानीय उत्पादनमा आधारित पोषणयुक्त खाजा अनिवार्य गर्नुपर्ने नीति ल्याएको छ।

सरकारले २०७७ सालबाटै जङ्क फुड निषेध गर्दै अनिवार्य पकाएरै खुवाउनुपर्ने निर्णय गरेको थियो। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सार्वजनिक गरेको मेनुमा पोषिलो जाउलो, खीर, हलुवा, चिउरामासु लगायत खुवाउनुपर्ने मापदण्ड तोकिएको छ।

स्थानीय उत्पादनमा आधारित पोषणयुक्त विद्यालय दिवा खाजा प्रारूप, २०८१ पनि केही दिनअघि मात्रै स्वीकृत भएको छ। तर पोषणयुक्त दिवा खाजाको नीतिगत व्यवस्था गरे पनि सरकारले रकम बढाएको छैन। बरु दिवा खाजामा भने खाजाको आइटमदेखि नीतिगत व्यवस्था परिमार्जन गर्दै लगेको देखिन्छ। सरकारले प्रतिदिन प्रतिविद्यार्थीका लागि १५ रुपैयाँ तोकेको छ।

कर्णालीका विद्यार्थीलाई भने २० रुपैयाँ तोकेको छ। यति रकमले दिवा खाजा व्यवस्थापन गर्न नसकिने भन्दै वेला वेला रकम बढाउन माग उठेको छ। हुन पनि बढ्दो यो महँगीमा यति रकम उचित देखिँदैन। तर सरकारले भने यसप्रति खासै चासो देखाएको पाइँदैन।

कम्तीमा पनि ३० रुपैयाँसम्म पुर्‍याउन माग

विद्यालयका प्रधानाध्यापकहरूले यति रकमले दिवा खाजा व्यवस्थापन गर्न नसकिने बताउँछन्। महिला शिक्षक समाजका अध्यक्ष एवं नीलवाराही माध्यमिक विद्यालयकी प्रधानाध्यापक डा.जानुका नेपालले १५ रुपैयाँले खाजा व्यवस्थापन गर्न कठिन पर्ने बताउँछिन्।

उनले भनिन्, ‘बजारमा महँगी बढ्दै गएको छ। त्यसैले यति रकमले व्यवस्थापन गर्न गाह्रो छ। महानगरपालिकाले रकम थपेर मात्रै हामीलाई सहज भएको छ।’ 

काठमाडौँ महानगरपालिका वडा–६ बौद्ध महाँकालस्थित जनकल्याण माध्यमिक विद्यालयकी पूर्व प्रधानाध्यापक कुमारी कमला राई पनि दिवा खाजा रकम बढाएर कम्तीमा पनि सरकारले ३० रुपैयाँ पुर्‍याउनुपर्ने माग गर्छिन्।

‘हामीलाई काठमाडौँ महानगरपालिकाले १५ रुरूपैयाँमा १० रुपैयाँ थपेर २५ रुरूपैयाँ दिँदै आएको छ। त्यसैले केही सहज छ, अरू ठाउँमा त १५ रुपैयाँले पुर्‍याउनै सकिँदैन, अहिले महँगी झनै बढिरहेको छ, त्यसैले ३० रूपैयाँ पुर्‍याउनुपर्छ’, उनले भनिन्। 

सरकारले दिवा खाजा कार्यक्रमका लागि रकम बढाउनुपर्ने माग संसद्‌मै समेत उठिसकेको छ। सांसद कान्तिका सेजुवालले २०७९ मै  प्रतिनिधिसभा बैठकमा दिवा खाजाका लागि दिएको रकम बढाउन सरकारसँग माग गरेकी थिइन्।

उनले भनेकी थिइन्, ‘एक दिनमा हिमाली जिल्लामा २० रुपैयाँ र तराई जिल्लामा १५ रुपैयाँ दर छ, त्यो १८० दिनका लागि छुट्याएको हुन्छ, आज यस्तो महँगी छ, १५ र २० रुपैयाँको दरले बालबालिकालाई भ्याउँछ भ्याउँदैन ? यो दर बढाउनुपर्छ।’

के-कस्तो तोकिएको छ दिवा खाजा मापदण्ड ?

मन्त्रालयले विद्यालय तहमा स्थानीय उत्पादनमा आधारित पोषणयुक्त दिवा खाजाको प्रबन्धलाई व्यवस्थित गर्न मार्गदर्शन गर्ने, विद्यालयका बालबालिकालाई स्थानीय उत्पादनमा आधारित स्वस्थकर तथा पौष्टिक खाजाको सुनिश्चितताका लागि थप नीतिगत आधार तय गर्नेलगायतका उद्देश्य लिएको छ। 

स्थानीय उत्पादनमा आधारित पोषणयुक्त विद्यालय दिवा खाजा प्रारूपमा दिवा खाजाको व्यवस्थापन गर्दा हरेक खाजामा अन्न समूहबाट ५०-६० ग्राम, गेडागुडी समूहबाट ४०-५० ग्राम, फलफूल तथा हरियो सागसब्जीबाट ३०-५० ग्राम र पशुजन्य उत्पादनबाट २०-३० ग्राम गरी कुल १५० देखि २०० ग्रामसम्म हुने गरी तोकिएको छ।

चारै समूहको औसत प्रतिविद्यार्थी १७५ ग्राम हुने गरी तोकिएको छ। शिक्षा मन्त्रालयले दिवा खाजाको मेनुको हकमा विद्यालय दिवा खाजा व्यवस्थापन सहयोगी पुस्तिका २०७७ मा तोकिएको मेनु सान्दर्भिक रहेको भन्दै उक्त अनुसार खाजा व्यवस्थापन गर्न सकिने जनाएको छ।

रकम बढाउनुपर्ने बारे यसो भन्छ‚ शिक्षा मन्त्रालय 

शिक्षा मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद भट्टराईले दिवा खाजा रकम बढाउनेबारे मन्त्रालय लागिपरेको तर यसका लागि पहिला स्रोत सुनिश्चित हुन आवश्यक रहेको बताए।

यद्यपि हाल उपलब्ध रकमले खाजा व्यवस्थापन गर्न धौ धौ नपरेको उनको तर्क छ। उनले भने, ‘दिवा खाजा कार्यक्रमका लागि वर्षेनि संघीय सरकारले रकम उपलब्ध गराउँदै आएको छ। प्रतिविद्यार्थी दिइने उक्त रकमले यदि जङ्क फुड खरिद गरे पुग्दैन, स्थानीय उत्पादनकै खाजा व्यवस्थापन गर्न त पुग्छ, अहिले तीन तहको सरकार छ। त्यसैले रकम नपुगेको खण्डमा स्थानीय तहले पनि बढाएर दिनुपर्छ। यसमा स्थानीय तहको पनि जिम्मेवारी रहन्छ।’  

सरकारले शिक्षण सिकाइमा बालबालिकाको सहभागिता वृद्धि र सिकाइ सुधार गर्न दिवा खाजा कार्यक्रम ल्याएको हो। कम्तीमा ३० प्रतिशत पोषण परिपूरक हुने विविधतामूलक आहार उपलब्ध गराएर विद्यालयमा बालबालिकाको स्वास्थ्य र पोषण स्थिति सुधार गर्ने पनि यो कार्यक्रमको उद्देश्य थियो।

सामुदायिक विद्यालयमा दिवा खाजा मापदण्ड तथा कार्यक्रम सहजीकरण पुस्तिका, २०७६ अनुसार दिवा खाजा कार्यक्रमको शुरुवात १९६४ देखि शुरु भएको हो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.