काठमाडौँ : नेपाल क्रिकेट संघ (क्यान)ले यही मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म एनपिएल (नेपाल प्रिमियर लिग) आयोजना गर्दै छ। उक्त खेलमा ८ टोली रहेका छन् भने क्यानले खेलको तयारी धमाधम गरिरहेको छ।
प्रतियोगिताका लागि कीर्तिपुर अन्तरराष्ट्रिय क्रिकेट मैदानलाई स्तरोन्नति व्यापक रूपमा चलिरहेको छ। दर्शक बस्ने ठाउँलाई व्यवस्थित बनाइएको छ। पहिलोपटक भीआईपीमा बसेर हेर्न मिल्ने प्रबन्ध पनि मिलाइँदै छ।
पिच पुनर्निर्माणदेखि ‘साइट स्क्रिन’ व्यवस्थित गर्ने र डिजिटल स्कोर्ड बोर्ड पनि राखिएका छन्। क्यानले एनपिएलको खेल तालिका सार्वजनिक गरिसकेको छ। एनपिएलको उदघाटन खेलमा विराटनगर किङ्गस र जनकपुर बोल्टले दिउँसो सवा १२ बजे प्रतिस्पर्धा गर्नेछन्।
डबल राउण्ड रोबिन लिगका आधारमा हुने प्रतियोगिताका शीर्ष दुई टोली क्वालिफायरमा पुग्नेछन्।
पहिलो क्वालिफायरमा पुग्ने दुवै टोलीबीच सीधै फाइनल प्रवेशका लागि पुस ३ गते प्रतिस्पर्धा हुनेछ। खेलको विजेता टोलीले सीधै फाइनलमा स्थान बनाउँदा पराजित टोलीले अंक तालिकाको तेस्रो र चौथौ स्थानमा रहने टोलीबीच हुने ‘एलिमिनेटर’ खेलको विजेतासँग खेल्नुपर्नेछ।
अंक तालिकाको तेस्रो र चौथो स्थानमा रहने टोलीले पुस ३ गते नै ‘एलिमिनेटर’ खेल्नेछन्। ‘एलिमिनेटर’को विजेताले फाइनल प्रवेशका लागि पहिलो क्वालिफायरमा पराजित टोलीसँग खेल्नुपर्नेछ।
फाइनल खेल आगामी पुस ६ गते शनिवार हुनेछ। क्यानका सचिव पारस खड्काले एनपिएलको ब्रान्ड भ्यालु बढाउन स्टार स्पोर्ट्सजस्ता अन्तरराष्ट्रिय च्यानल आवश्यक रहेको र सोहीअनुरूप स्टार स्पोर्ट्ससँग सहकार्य गरिएको बताए।
क्यानले एनपिएलको टाइटल स्पन्सरको रूपमा सिद्धार्थ बैंक रहने घोषणा पनि गरेको छ। क्यानका सचिव पारस खड्काले एनपिएल र बैंकबीच ५ वर्षको सहकार्य हुने जानकारी दिए। लिगलाई लिएर सामाजिक सञ्जाल तातिएको छ। क्रिकेटप्रेमीहरू लिग शुरू हुने दिनको व्यग्रतासाथ प्रतीक्षा गरिरहेका छन्।
करिब २१ दिन चल्ने खेलमा कुन कुन खेलाडी छन्? कुन कुन क्लबले कस्ता खेलाडी भित्र्याएका छन् त?
सुदूरपश्चिम रोयल्स
सुदूरपश्चिमको मार्की खेलाडीमा दीपेन्द्रसिंह ऐरी छन्। मेन्टरमा अष्ट्रेलियाका ब्राड हज तथा मुख्य प्रशिक्षक राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक जगत टमाटा रहेका छन्।
सुदूरपश्चिम रोयल्सको टोलीमा ऐरीसहित, आरिफ शेख, अभिनाश बोहोरा, विनोद भण्डारी, अर्जुन कुमाल, खडक बोहोरा, इशान पाण्डे, नरेश बुढाऐर, ब्रान्डन मक्मलेन, सेफ अली जेब, स्कट कुगेलेइन, रोहन मुस्तफा, भोजराज भट्ट, नरेन साउद र अमित श्रेष्ठ छन्। प्रशिक्षक राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक जगत टमाटा रहेका छन्।
कर्णाली याक्स
ज्ञानेन्द्र मल्ल मुख्य प्रशिक्षक रहेको कर्णाली याक्सका मार्की खेलाडी सोमपाल कामी हुन्। उनीसहित गुल्सन झा, देव खनाल र नन्दन यादवलाई याक्सले टोलीमा समावेश गरेको छ।
अर्जुन घर्ती, रित गौतम, मौसम ढकाल र भुवन कार्की पनि टोलीमा छन्। दीपेन्द्र रावत र युनिशविक्रम सिंह ठकुरीसँगै दीपक डुम्रे छन्। कर्णालीले विदेशी खेलाडी भारतका शिखर धवन‚ वेष्ट इण्डिजका ब्याटर चाडविक एन्टोनिओ वाल्टन, पाकिस्तानका अलराउण्डर मोहम्मद हुसैन तलात र हङकङका बाबर हयातलाई अनुबन्ध गरेको छ।
लुम्बिनी लाएन्स
लुम्बिनी लाएन्समा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल मार्की खेलाडी हुन्। क्लबमा आशुतोष घिरोइया, सन्दीप जोरा, सूर्य तामाङ, दुर्गेश गुप्तालगायतका खेलाडी सम्मिलित छन् ।
साथै क्लबले आइतवार ट्यालेन्ट हन्ट सम्पन्न गरेको छ । ट्यालेन्ट हन्टबाट स्थानीय ४ खेलाडी टिममा समावेश गरिएको छ।
क्लबले वेष्ट इण्डिजका बलर रोमोन सिमन्ड्स, इंग्ल्याण्डका विकेटकिपर थोमस मुर्स, अष्ट्रेलियन अलराउन्डर बेन कटिङ र भारतीय मूलका अमेरिकी विकेटकिपर/ब्याटर उन्मुक्त चन्दलाई अनुबन्ध गरेको छ। क्लबका प्रशिक्षक नन्दन फडनिस हुन्।
पोखरा एभेन्जर्स
नेपाली राष्ट्रिय टोलीका ओपनर कुशल भुर्तेल मार्कि खेलाडी रहेको पोखरा एभन्जर्समा चारजना विदेशी खेलाडी इंग्ल्याण्डका म्याट क्रिचली, वेष्ट इण्डिजका एन्डर्सन फिलिप, अमेरिकाका आन्द्रेस गौस र नेदरल्याण्ड्सका बास डे लिडे अनुबन्ध भइसकेका छन्।
टोलीमा नेपालबाट सागर ढकाल, आकाश चन्द, किरणकुमार ठगुन्ना, नारायण जोशी, विपिन खत्री, दिलिप नाथ, तृतराज दास, सुनम गौतम, दिनेश खरेल र अमृत गुरुङ अक्सनमार्फत छनोट भइसकेका छन्। पोखराका प्रशिक्षक भने राजीव कुमार हुन्।
चितवन राइनोज
यो टिममा कुशल मल्ल मार्की खेलाडी हुन्। टोलीमा अमरसिंह रौतेला, विपिन रावल, दीपक बोहरा, दिपेश श्रेष्ठ, गौतम केसी, कमलसिंह ऐरी, रञ्जितकुमार, रिजन ढकाल, सन्तोष कार्की, शरद भेसवाकर छन्।
टिमले विदेशी खेलाडी रवि बोपारा, मर्साडी लङ्गा, ल्युक मार्टिन बेनकेन्स्टाइन, हसन इसाखिल, जान निकोल लोफ्टी–इटनलाई पनि समावेश गरेको छ। टिम प्रशिक्षक उमेश पटवाल रहेका छन्।
काठमाडौँ गुर्खाज
काठमाडौँ गुर्खाजमा मार्की खेलाडी करण केसी हुन्। टोलीमा भीम शार्की, शाहब आलम, राशिद खान, दिपेश कँडेल, कृष्ण कार्की, सुमित महर्जन, शंकर राना, राजु रिजाल, प्रतीक श्रेष्ठ, विवेक केसी छन्।
काठमाडौँले इंग्ल्याण्डकै स्टेफन इस्किनाजी र डान डौथवेटलाई टोलीमा अनुबन्ध गर्दा नेदरल्याण्ड्सका माइकल लेभिट र नामिबियाका जेरार्ड इरास्मससँगै इंग्ल्याण्डका लेग स्पिनर नाथन सोटरलाई टोलीमा अनुबन्ध गरिसकेको छ। प्रशिक्षक वसन्त शाही रहेका छन्।
जनकपुर बोल्टस
जनकपुर बोल्टसका मार्की खेलाडी हुन् आसिफ शेख। टोलीमा अनिलकुमार शाह, ललितनारायण राजवंशी, रुपेश सिंह, अरनिको यादव, शुभ कंसाकार, तुलबहादुर थापा, किशोर महतो‚ शेर मल्ल, हेमन्त धामी रहेका छन्।
आकाश त्रिपाठी, जिमी निशम, जोशुआ ट्रम्प, मोहम्मद मोहसिन, लाहिरु मिलन्था र सोएब मक्सद रहेका छन्। प्रशिक्षकमा नेपालका पूर्वप्रशिक्षक पुबुदु दासानायके छन्।
विराटनगर किङ्ग्स
नेपाली क्रिकेटका सफल खेलाडी सन्दीप लामिछाने विराटनगर किङ्सका मार्की खेलाडी हुन्। टोलीमा प्रतीश जिसी, लोकेश बम, बसिर अहमद, जितेन्द्र मुखिया, राजेश पुलामी, दिपक बोहरा, सुवास भण्डारी, नरेन भट्ट, मृनाल गुरुङ, अनिल खरेल रहेका छन्।
मार्टिन गुप्टिल, अकिब इलियास, निकलस किर्टोन, क्रिस सोल र इस्मत आलम विदेशी खेलाडी रहेका छन्। त्यसैगरी टोलीको मुख्य प्रशिक्षक केभिन ओ‘ब्रायन रहेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।