|

काठमाडौँ : सरकारले खुला प्रतिस्पर्धाबाट विश्वविद्यालयहरूमा रिक्त पदाधिकारीहरू नियुक्तिका लागि धमाधम आवेदन आह्वान गरेको छ। सरकारले एक सातामै (कात्तिक २१ देखि २८ गतेसम्म)मा नै ३ विश्वविद्यालयको उपकुलपति (भिसी) नियुक्तिका लागि आवेदन आह्वान गरेको छ।

सरकारले रिक्त पदमा छिटो पदपूर्ति गर्न समयमै आवेदन आह्वान गर्‍याे। उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि पनि जारी भयो तर नियुक्तिमा भने सधैं ढिलाइ हुने गरेको छ। सिफारिस भए पनि दलीय भागबन्डा नमिल्दा सधैं नियुक्तिमा विलम्ब हुने गरेको छ। 

कुन कुन विश्वविद्यालयको उपकुलपतिको आवेदन खुल्यो 

कृषि तथा वन विज्ञान विश्वविद्यालयको रिक्त उपकुलपतिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले कात्तिक २१ गते रिक्त उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ।

समितिले इच्छुक तथा योग्य व्यक्तिले कार्यविधिको ढाँचाअनुसार सूचना प्रकाशित भएको मितिले १० दिनभित्र दरखास्त पेश गर्न आह्वान गरेको थियो। पोखरा विश्वविद्यालयको रिक्त उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले दरखास्त आह्वान गरेको छ।

कात्तिक २५ गते भएको दरखास्त आह्वानअनुसार इच्छुक तथा योग्य व्यक्तिले उल्लिखित कार्यविधिको अनुसूची १ मा उल्लेख गरिएको ढाँचामा सूचना प्रथम पटक प्रकाशित भएको मितिले १० दिनभित्र आवेदन दिनुपर्नेछ।

त्यस्तै, नेपाल संस्कृत विश्वविद्यालयको रिक्त उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले पनि रिक्त उपकुलपति नियुक्तिको लागि आवेदन कात्तिक २८ गते आह्वान गरिसकेको छ। इच्छुक तथा योग्य व्यक्तिले सूचना प्रकाशित भएको मितिले १० (दश) दिनभित्र आवेदन पेश गर्न भनिएको छ। 

त्रिविमा अझै भएन डीन र क्याम्पस प्रमुख नियुक्त 

त्रिभुवन विश्वविद्यालयमा झण्डै २ महिनादेखि विभिन्न संकायका डीनलगायतका पदमा नियुक्ति हुन सकेको छैन।

त्रिवि शिक्षाध्यक्षको कार्यालयअन्तर्गत बनेको छनोट समितिले गत भदौ १७ गते सूचना जारी गरेर चिकित्साशास्त्र अध्ययन संस्थान, इन्जिनियरिङ्ग अध्ययन संस्थान, शिक्षाशास्त्र संकायलगायत ८ सङ्कायका डीन, ६ जना सह-परीक्षा नियन्त्रक, २ जना निर्देशक र ११ जना क्याम्पस प्रमुखलगायतका लागि आवेदन मागेको थियो।

उक्त छनोट समितिले डीन नियुक्तिको लागि सर्ट लिष्ट तयार पारेर सिफारिस पनि गरिसकेको छ तर नियुक्तिमा हालसम्म पनि ढिलाइ भइरहेको छ। भागबन्डा नमिलेपछि ढिलाइ भएको चर्चा चल्न थालेको छ।

त्यसो त त्रिवि प्राध्यापक संघ महाराजगञ्ज चिकित्सा क्याम्पस एकाईले कात्तिकमै त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानको डीन नियुक्तिमा ढिलासुस्ती भएको भन्दै त्रिविका उपकुलपति प्राडा केशरजंग बराललाई ज्ञापनपत्र बुझाउँदै ध्यानार्कषणसमेत गराइसकेको छ।

दलीय विवादले सुरक्षा नै माग

विश्वविद्यालयहरूको अधिकांश पदाधिकारी नियुक्तिमा भागबन्डा नमिल्दा आन्दोलनदेखि तालाबन्दीसमेत हुने गरेको छ। यतिमात्रै होइन त्रिवि पदाधिकारीहरूलाई​पाटीनिकट विद्यार्थी संगठनका नेताहरूले धम्की दिएका कारण सुरक्षाको मागसमेत भइसकेको छ। 

गत भदौमा त्रिवि समाजशास्त्र केन्द्रीय विभाग प्रमुख नियुक्तिको विषयमा कांग्रेस र एमालेनिकट प्राध्यापक, विद्यार्थीबीच विवाद भयो। विभागले कार्यविधिअनुसार वरिष्ठताको आधारमा सिफारिस गरे पनि मानविकी तथा सामाजिकशास्त्र डीन कार्यालयले नामावली उल्ट्याउँदै दोस्रो नम्बरमा रहेका सह-प्राध्यापक टीका गौतमलाई सिफारिस गरेपछि विवाद भयो।

विभागले कार्यविधिअनुसार पासाङ शेर्पा, टीका गौतम र मनहरि ढकालको नाम सिफारिस गरेको थियो तर डीन प्राडा. कुसुम शाक्यले विधि मिच्दै कांग्रेसनिकट गौतमलाई सिफारिस गरेको आरोप छ। 

यही नियुक्तिकै विषयमा त्रिवि रजिस्ट्रार प्राडा केदारप्रसाद रिजालले डीन कार्यालयबाट आएको नामावलीअनुसार नै समाजशास्त्र केन्द्रीय विभाग प्रमुख नियुक्ति गर्न दबाब तथा धम्की आइरहेको भन्दै शिक्षा मन्त्रालयमा आवश्यक सुरक्षाको व्यवस्था गरिदिन अनुरोध गर्दै पत्र नै पठाएका थिए।

त्यसपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सामाजिक सञ्जालबाटै (त्रिवि)मा सुरक्षाका लागि व्यवस्थित प्रबन्ध गर्न भन्दै गृहमन्त्रीसँग माग गरेकी थिइन्।

शिक्षामन्त्री विद्या भट्टराईले भनेकी थिइन्, ‘त्रिविमा केही दिनदेखि पदाधिकारीहरूमाथि हमला गर्न खोज्नु र प्राध्यापकहरूलाई फोन गर्दै धम्की दिने गरेका कारण सिङ्गो विश्वविद्यालय असुरक्षित बनेको छ, त्रिविमा सुरक्षाका लागि व्यवस्थित प्रबन्ध गर्न म गृहमन्त्रीसँग जोडदार माग गर्दछु।’

मन्त्रीले नै गरेको सुरक्षाको मागले केही समयसम्म हल्लिखल्लि नै मच्चाएको थियो।

शिक्षा मन्त्रालय भन्छ- छिटो नियुक्त गर्न पहल भइरहेको छ

शिक्षा मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद भट्टराईले त्रिविमा छिटो डीनलगायत क्याम्पस प्रमुख नियुक्त गर्न शिक्षा मन्त्रालयले पहल गरिरहेको जानकारी दिए। डीन नियुक्त गर्न शिक्षा मन्त्री भट्टराईले पनि पहल गरिरहेको उनको भनाइ छ।

‘शिक्षामन्त्रीज्यूले छिटो डीनलगायत पदाधिकारी नियुक्त गर्न त्रिविका उपकुलपतिज्यूसँग भेटेर छलफल गरिरहनु भएको छ, शिक्षामन्त्रीज्यूले नियुक्तिमा ढिलाइ नगर्नू,आवश्यक सहयोग मिल्छ भनेर पनि भन्नु भएको छ, अब छिटै नै नियुक्ति हुन्छ।’

उनले त्रिविको मात्रै नभई अन्य विश्वविद्यालयहरूको उपकुलपति नियुक्ति पनि समयमै हुने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.