|

काठमाडौं : फुटपाथ र अव्यवस्थित तार भूमिगत गरिएसँगै न्युरोडको शुक्रपथ अहिले चिरिच्याँट्ट देखिएको छ। उक्त व्यवस्थित दृश्यले अहिले अधिकांशको ध्यान खिचेको छ। कुनै समय उक्त क्षेत्रको फुटपाथको बीच भागमा रहेको बिजुलीको पोलका कारण सर्वसाधारणले हिँड्नका लागि सास्ती भोग्नु परेको थियो।

अहिले सो क्षेत्रको बिजुलीको तार, पोल र इन्टरनेट सेवाका तारहरु भूमिगत गरिएसँगै सुन्दर पनि देखिएको छ। शुक्रपथबाहेक अन्य काठमाडौं उपत्यकाका क्षेत्रमा भने अव्यवस्थित तारका कारण शहर कुरूप बनेको छ। 

यही अव्यवस्थित रूपमा कुरूप देखिएको बिजुली, इन्टरनेट लगायतका तार व्यवस्थित गर्ने भन्दै तारलाई भूमिगत (अन्डरग्राउण्ड) गर्न २०७४ सालमा सरकारले प्रक्रिया अघि बढायो। त्यही सालमै व्यवस्थापिका संसद्को विकास समितिले काठमाडौं उपत्यकाभित्रको अव्यवस्थित रूपमा रहेका बिजुली, केबल, फोन तथा इन्टरनेटका तार हटाउन सरकारलाई निर्देशन दिएको थियो।

तार व्यवस्थित गर्न नेपाल विद्युत प्राधिकरण र भारतीय निर्माण कम्पनी एइआई इन्डस्ट्रिजबीच सन् २०१९ मार्चमा ठेक्का सम्झौता भयो। यी कम्पनीले नै रत्नपार्क र महाराजगञ्ज क्षेत्रमा सम्पूर्ण विद्युत् वितरण लाइन भूमिगत गराउने सम्झौता भएको थियो तर ठेक्का सम्झौता भएको समयमा काम हुन सकेन।

पछि २०७६, फागुन ५ गते मात्रै पहिलो चरणमा रत्नपार्क र महाराजगञ्जको विद्युत् वितरण केन्द्र अन्तर्गतका क्षेत्रमा तार भूमिगत गर्ने काम भयो। त्यस वेला उक्त क्षेत्रमा तारको भूमिगत गर्ने सुरुवात प्रधानमन्त्री केपी शर्मा ओलीले नै उद्घाटन गरेका थिए। 

पहिला प्राधिकरणले सन् २०२१ सम्म सबै काम सकाउने लक्ष्य लिएको थियो। तर कोभिडले काम रोकिएपछि सन् २०२२ सम्म उपत्यकाभित्र काम सकाएर भरतपुर, पोखरा लगायत बाहिरी जिल्लामा तार व्यवस्थापन गर्ने प्राधिकरणको योजना थियो।

तर भूमिगत कामको सुरु भएको पाँच वर्ष बितिसक्दा पनि अझै काठमाडौं उपत्यकामै काम पूरा भएको छैन। नेपाल विद्युत् प्राधिकरणले उपत्यकाभित्र भूमिगत तार बिछ्याउने काम भने सकिएको जनाएको छ।

कुन क्षेत्रमा कसले पाएको थियो ठेक्का ?

केईआई इन्डस्ट्रिज लिमिटेड इन्डियाले पाएको ठेक्का सम्झौतानुसार रत्नपार्क‚ नयाँ बानेश्वर‚ तीनकुने‚ एयरपोर्ट‚ गौशाला‚ चाबहिल‚ चुच्चेपाटी‚ बौद्ध, जोरपाटी क्षेत्रमा तार भूमिगत गर्नुपर्ने छ।

तर हालसम्म काम सकिएको छैन। महाराजगञ्ज-बालाजु क्षेत्रको भूमिगत तारका लागि केइआई इन्डस्ट्रिज लिमिटेड इन्डियासँग नै २०१९ मार्च १५ मै ठेक्का सम्झौता भएको थियो।

प्राधिकरण भन्छ : सबै तहले साथ दिए दुई महिनाभित्र काम सकिन्छ

नेपाल प्राधिकरणका प्रवक्ता चन्द्रकुमार घोषले उपत्यकाभित्र भूमिगत तारको लागि तार बिछ्याइसकेको जानकारी दिए। अब बिजुलीका पोल र तार मात्रै हटाउनुपर्ने काम बाँकी रहेको उनले बताए। स्थानीय तहलगायत निकायले साथ दिएको अबको दुई महिनाभित्र सबै ठाउँकाे भूमिगत तारको काम सक्ने उनको दाबी छ।

‘तार बिछ्याउने काम सबै सकिसकेको छ, अब काम भनेको बिजुलीको पोल र तारकाे व्यवस्थापन गर्ने हो। याे काम न्युरोडबाट सुरु भइसकेकाे छ,अब महाराजगञ्ज,कलंकी,कालीमाटी,बल्खु क्षेत्रबाट व्यवस्थापन हुँदै छ,सम्बन्धित स्थानीय तहको साथ सहयोग मिल्यो भने दुई महिनाभित्र उपत्यका न्युरोडको शुक्रपथ क्षेत्रजस्तै देखिने छ, सबै तार भूमिगत हुनेछ तर सहयोग चाहिँ मिल्नुपर्‍यो,समन्वय हुनुपर्छ,नसकिने भन्ने काम छैन,’उनले भने।

एसियाली विकास बैंक (एडीबी) को सहुलियतपूर्ण ऋण सहयोगमा भइरहेको यो तार व्यवस्थापन कार्यमा ७ अर्ब रुपैयाँभन्दा बढी लागत लाग्ने अनुमान प्राधिकरणको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.