|

सुनसरी : सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा रहेको सप्तकोशी न्यूरो अस्पतालको लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै आफन्त तथा स्थानीयवासीले सडकमा शव राखेर विरोध प्रदर्शन गरेका छन्। 

यही कात्तिक २५ गते व्यवसायी दुर्गा प्रसाईं सवार बागमती प्रदेश ०१–०२८ च ०२०१ नंको गाडीले कोशी–३ स्थित नहर चौकमा को १८प ७६९४ नंको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका स्थानीय ६० वर्षीय फुलेश्वर मेहताको शुक्रवार उपचारका क्रममा निधन भएको थियो। 

घाइते भएका मेहतालाई भोक्राहा–५ मा रहेको सप्तकोशी न्यूरो अस्पतालमा उपचारका लागि ल्याइएकामा अस्पतालको लापरबाहीपछि बिरामीमा थप समस्या देखिएको र थप उपचारका लागि विराटनगरस्थित नोवेल अस्पतालमा पठाइएकामा शुक्रवार मेहताको निधन भएको थियो।

आफन्तले मेहता प्रसाईंको गाडीको ठक्करबाट घाइते भएको र उहाँकै सालो अध्यक्ष रहेको अस्पतालको लापरबाहीका कारण मृत्यु भएको आरोप लगाएका छन्। मृतककी छोरी किरणकुमारी मेहताले अस्पतालको लापरबाहीका कारण बुबाको मृत्यु भएको भन्दै भोक्राहा–४ स्थित पूर्व पश्चिम राजमार्गमा शव राख विरोध प्रदर्शन गरेको बताइन्।

गाडीको ठक्करबाट घाइते भएका बुबाको अवस्था सामान्य रहेको जानकारी अस्पताल प्रशासनले नै दिएको र पछि समस्या भयो भनेर अर्को अस्पताल पठाएकामा औषधिको ‘ओभरडोज’ ले समस्या भएको थाहा पाएपछि आफूहरू विरोधमा उत्रिएको मृतककी अर्की छोरी रिकिता मेहताले बबताइन्।

पीडित परिवारले चक्काजाम गरेपछि क्षतिपूर्ति र रोजगारी दिने सहमतिपश्चात यातायात सञ्चालनमा आएको छ। क्षतिपूर्तिबापत न्यूरो अस्पतालले नगद आठ लाख र इन्सुरेन्सबापत पाँच लाख गरी १३ लाख उपलब्ध गराउने सहमति जुटेको कोसी गाउँपालिकाका अध्यक्ष अयुव अंसारीले जानकारी दिए।

यसैगरी, शैक्षिक योग्यताअनुसार परिवारका दुई जनालाई रोजगारी र परिवारका सदस्यको आजीवन उपचार गर्नेसमेत दुई पक्षीय सहमति भएको अध्यक्ष अंसारीले बताए। अस्पतालले आफूहरूबाट उपचारका क्रममा कुनै लापरबाही नभएको दाबी गर्दै आएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.