एमाले भन्छ : अवैध पत्रको जरिवाना तिर्दैनाैँ

|

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले शुक्रबार नेकपा एमालेलाई एक लाख जरिवानासहित पत्र काटेको पत्र सामाजिक सञ्जालमा सार्वजनिक भयो। 

उक्त पत्रमा भनिएको छ, ‘मिति २०८१ मंसिर ७ गते काठमाडौँ महानगरपालिका वडा-१ दरवारमार्गस्थित​ खुल्ला सडकमा जागरणसभा गर्ने क्रममा सडक तथा सडकपेटीमा जथाभावी फोहरमैला गरी वातावरण प्रदूषण​ गरेकाले तपाईंलाई फोहरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम एक लाख जरिवाना गरिएको ब्यहोरा निर्देशानुसार अनुरोध गर्दछु।’

उक्त पत्र सार्वजनिक भएपछि एमालेका नेताहरू महानगरपालिकाका प्रमुख बालेन साहविरुद्ध उत्रिए। हालसम्म पनि उनको आलोचना गरिरहेका छन्। बालेन पक्षकाले भने कानुनविपरीत फोहरमैला गराउनेलाई जरिवाना तिराएको भन्दै खुशी व्यक्त गरिरहेका छन्।

एमालेका नेता तथा कार्यकर्ताहरू आ-आफ्नै तर्क दिइरहेका छन्। कार्यक्रम सकिएपछि आफैँ सफा गरेको पनि दाबी गरेका छन्। एमाले केन्द्रीय कार्यालय सचिव भीष्म अधिकारी भन्छन्, ‘हामीले कार्यक्रम सकेपछि सफा गरिसकेका थियौँ तर पत्र भने महानगरले काट्यो। यो पत्र अवैध छ, उक्त पत्र प्राप्त भएको पनि छैन।’

नेकपा एमालेका महासचिव शंकर पोखरेलले महानगरपालिकाका प्रमुख साह एमालेविरुद्ध परिचालित भएको आरोप लगाएका छन्। सामाजिक सञ्जालमा लेख्दै महासचिव पोखरेलले आफ्ना स्वयंसेवकहरू कार्यक्रम थलोमै फोहर संकलन गरेर गाडीमा राख्दै गर्दा मेयरको निर्देशनमा जरिवानाको पर्चा सार्वजनिक गरेर स्टण्टबाजी गरिएको टिप्पणी गरेका छन्।

उनले भनेका छन्, ‘मेयरको ध्यान सरसफाइमा होइन जरिवानाको स्टण्टबाजीमा थियो, जुन समयअगावै सार्वजनिक गरियो। एमाले पार्टी आफ्नो कार्यक्रमपछि कार्यक्रमस्थल सफा गर्छ भन्ने कुरा हेक्का भएन मेयर बालेनलाई।’  

महानगरले भन्यो : गैरजिम्मेदार भएपछि जरिवाना गराएका हौँ

काठमाडौँ महानगरपालिकाले एमालेले गैरजिम्मेवार भएर कार्यक्रम गरी फोहर गरेपछि जरिवाना तोकेको जनाएको छ। महानगरपालिकाका प्रवक्ता नवीन मानन्धर भन्छन्, ‘कार्यक्रम गरेपछि फोहर सरसफाइ त गर्नुपर्‍याे नि, फोहर गर्न त भएन, वातावरण हराभरा राख्नुपर्‍याे। उनीहरूले कार्यक्रम गरेर फोहर गरेर गैरजिम्मेवार बने। त्यसैले कानुनअनुसार जरिवाना तोकेर पत्र काटेका हौँ।’

नेकपा एमालेका महासचिव पोखरेल र एमाले केन्द्रीय कार्यालय सचिव अधिकारीले कार्यक्रम सकेपछि फोहर सरसफाइ गरेको दाबी गरेका छन्। तर उनीहरूको दाबीअनुसार फोहर सफा भएको भने देखिएन। शनिबार महानगरपालिकाले सरसफाइ गरेको थियो। उक्त बेला पार्टीका झण्डा रूखमाथि राखिएका पाइएको थियो भने पानीका बोतल देखिन्थे। बदमका खोष्टा थिए।

महानगरपालिकाले सरसफाइ सकेपछि पत्र काट्यो भन्ने आरोप छ भन्ने प्रश्नमा महानगरपालिकाका प्रवक्ता मानन्धरले भने, ‘खै उहाँहरूले कसरी त्यस्तो भन्नु भयो‚ त्यो थाहा भएन, कार्यक्रम सकेपछि पनि सरसफाइ गरिएको थिएन। त्यसैले शनिबार महानगरपालिकाले कर्मचारी खटाएर सरसफाइ गर्‍याैँ, कार्यक्रम सकेर सरसफाइ गरेकाे भए त त्यस्ताे फोहर नहुनुपर्ने थियाे।’

उक्त क्षेत्रको फोहरमैला व्यवस्थापन गर्दै आएका मित्रप्रसाद घिमिरेले पनि उक्त कार्य गलत रहेको बताए।

उनले भनेका छन, ‘जुनसुकै पार्टी होस् वा आयोजक होस, कार्यक्रम गर्नुपूर्व सचेतना दिनुपर्छ, यसरी फोहर गर्नु गलत हो, हाम्रो संस्कार नै गलत छ, बदाम, चटपटे खाएर सडकमा फाल्नुपर्छ भन्ने जुन खालको विचार छ, यो सोच परिवर्तन नगरी हुँदैन, यो हाम्रो देशकै अति उत्कृष्ट ठाउँ हो। यसरी जथाभावी फोहर गर्दा र फाल्दा पर्यटकहरूमा के सन्देश जान्छ?।’  उनले गल्ती गरेपछि जोसुकैले जरिवाना तिर्नुपर्ने पनि बताए। 

जरिवाना नतिर्ने एमालेको अडान

महानगरपालिकाले एक लाख जरिवाना तोके पनि नेकपा एमालेले नतिर्ने अडान लिएको छ। एमाले केन्द्रीय कार्यालय सचिव अधिकारीले भने, ‘कार्यक्रम सकेपछि हामी आफैंले सरसफाइ गरेका हौँ। त्यसैले हामीले किन जरिवाना तिर्नु?, तिर्नुपर्ने कारण नै छैन।’

महानगरपालिकाले भने जसरी पनि जरिवाना असुल गर्ने जनाएको छ। ‘हामीले पत्र पठाइसकेका छौँ, गल्ती, नियमानुसारको जरिवाना जसरी नि तिर्न परिहाल्छ’, महानगरपालिकाका प्रवक्ता मानन्धरले भने।

महानगरपालिकाले गत वैशाखमा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई चैत २७ गते प्रदर्शन गर्ने क्रममा महानगरको विभिन्न क्षेत्र फोहोर गरेकाले पाँच हजार र ट्राफिक आइल्यान्डमा क्षति पुर्‍याएको भन्दै मर्मतका लागि २२२ रुपैयाँ ८१ पैसा जरिवाना तिराएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.