|

काठमाडौँ : सरकारले समयमा बाढीपहिरोबाट क्षति भएको विद्यालय मर्मत नगर्दा अधिकांश विद्यार्थी खुला चौरमा बसेर पढ्न बाध्य भएका छन्। केही विद्यार्थी भने टहरामै बसेर बढ्नुपर्ने अवस्था छ। जाडोयाम सुरु भइसकेको छ। जसका कारण थप विद्यार्थीहरूलाई समस्या हुने पनि देखिएको छ। 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका प्रवक्ता चन्द्रकान्त भुसालका अनुसार यो वर्षको मनसुनमा देशभरका ४१३ सामुदायिक विद्यालयमा क्षति पुगेको छ।

उनले भने, ‘यो वर्षको वर्षातमा हुम्ला, जाजरकोट, सिन्धुली, तेह्रथुम‚ रसुवा, मकवानपुर, मोरङ, ललितपुर लगायत विभिन्न जिल्लाका ४१३ विद्यालयमा क्षति पुगेको छ, कुनै पूर्णरूपमा क्षति पुगेको छ भने केहीमा आंशिक क्षति भएको छ।’

गत असोजमा परेको अविरल वर्षाका कारण पनि धेरै विद्यालयमा क्षति पुगेको छ। यी क्षति भएका विद्यालय अझै पुनर्निर्माण हुन सकेका छैनन्। त्यसो त यो चिसो मौसमका वेला विद्यार्थी भुइँमै बसेर पढिरहेका छन्।

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका स्रोतव्यक्ति महेश्वर जंगमका अनुसार गत असोजको वर्षातमा आएको बाढीपहिरोबाट नगरपालिकाभित्रका १८ वटा विद्यालयमा क्षति पुगेको थियो। तीमध्ये ३ वटा विद्यालयमा पूर्ण क्षति भयो। तिहारपछिको पठनपाठनको सुरुवावती चरणमा कक्षा कोठा सफा नगरिएका कारण बाहिर खुला चौरमा पठनपाठन भयो।

‘अब त अधिकांश कक्षाकोठाभित्र पसेको हिलो माटो सफा गरिएको छ, पठनपाठन रोकिएको छैन, केही विद्यालयमा चाही अस्थायी संरचना निर्माण र सरसफाइ भइरहेकाले चौरमा पढाउनुपर्ने बाध्यता पनि छ’, उनले भने। उनका अनुसार गत असोज दोस्रो साताको बाढीपहिरोले भवनसहित डेस्क–बेन्च सबै पुरिएपछि शिक्षकहरूले धोइपखाली गरेका कार्पेट र चकटीको जोहो गरेर भुइँमै बसाएर कक्षा सञ्चालन गरिएको छ।

यसैगरी बाढीपहिरोले अधिकांश विद्यार्थीहरूको घर पुरिँदा पाठ्यपुस्तक, झोला पनि पुरियो। ‘ती विद्यार्थीलाई नगरपालिकाले सक्दो पाठ्यपुस्तक र झोला उपलब्ध गराएको छ’, उनले भने, ‘उहाँहरू पढ्न आउन थाल्नुभएको छ, पाउन बाँकीलाई पनि पुर्‍याउनेछौँ।’

उनले अस्थायी सिकाइ केन्द्र निर्माण गर्न सम्झौता पनि भइसकेको र केहीमा निर्माण थालिएको बताए। ‘संघसंस्थाको सहयोगमा अस्थायी सिकाइ केन्द्र बनाएर पठनपाठन गराउने भन्ने नगरपालिकाको योजना छ। त्यसैअनुसार काम भइरहेको छ’, उनले भने।

बाढीपहिरोबाट क्षति पुगेको विद्यालय पुनर्निर्माणका लागि पनि सम्बन्धित सरकारी निकाय तथा गैरसरकारी संघसंस्थासँग छलफल गरी योजना अघि बढाएको उनको भनाइ छ। 

निजी भवन भाडामा लिएर पठनपाठन

सिन्धुलीको गोलन्जोर गाउँपालिकाले भने व्यक्तिगत भवन भाडामा लिएर पठनपाठन गराइरहेको छ। गाउँपालिकाका अध्यक्ष शंकरराज बरालका अनुसार बाढीपहिरोबाट गाउँपालिकाभित्रका १ वटा विद्यालयमा पूर्ण क्षति र २ वटा विद्यालयमा आंशिक क्षति पुगेको थियो।

आंशिक क्षति पुगेको विद्यालयमा मर्मत तथा सरसफाइ गरि पठनपाठन सञ्चालन गरिएको उनले जानकारी दिए। एएटा पूर्ण क्षति पुगेको विद्यालयमा भने व्यक्तिगत भवन भाडामा लिएर पठनपाठन सञ्चालन गरेको गाउँपालिकाका अध्यक्ष बरालले जानकारी दिए।

उनका अनुसार पूर्ण क्षति भएको गाउँपालिका-३ मुर्किबेसीस्थित कुशेश्वरी प्राविको भवन पुनर्निर्माण थालिएको छ। ‘पठनपाठन भने मासिक भाडामा लिएर त्यहाँ पठनपाठन गराइरहेका छौँ, जे जस्तो क्षति पुगे पनि  पढाइ रोकिँदैन’, उनले भने।

उनका अनुसार आगामी ६ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी निर्माण कम्पनीबीच सम्झौता भएको छ।

बारघेरा लगाएर पठनपाठन थालेका छौँ : कोन्ज्योसोम

ललितपुरको कोन्ज्योसोम गाउँपालिकाका सूचना अधिकारी एवं शिक्षा शाखा प्रमुख विष्णुप्रसाद आचार्यले अहिले क्षति भएका विद्यालयमा बारघेरा लगाएर पठनपाठन थालिएको जानकारी दिए। उनका अनुसार उक्त गाउँपालिकाभित्र एउटा विद्यालयमा पूर्णरूपमा र २ वटामा आंशिक क्षति पुगेको थियो।

‘पठनपाठन रोकिएको छैन, त्यही हामीले बारघेरा लगाएर व्यवस्थित बनाइ पठनपाठन सञ्चालन गरिसक्यौँ’, उनले भने। शिक्षा तथा मानव स्रोत विकास केन्द्रका प्रवक्ता भुसालका अनुसार यो वर्षको बाढीपहिरोबाट पूर्णरूपमा क्षति पुगेका विद्यालयमा अस्थायी संरचना बनाएर भए पनि पठनपाठन सञ्चालन भइरहेको छ।

कुनै पनि विद्यालयको पढाई नरोकिएको उनको भनाइ छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले यो वर्षातमा ५२ जिल्लाका २ हजार ७ सय विद्यालयमा बाढीपहिरोबाट क्षति पुग्ने र यसबाट एक लाख ३ हजार विद्यार्थी बालबालिका प्रभावित हुने अनुमान गरेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.