|

काठमाडौँ : काठमाडौँ उपत्यकामा पानीको समस्या वर्षौंदेखि कायमै छ। काकाकुल बनेको देशकै राजधानीको प्यास मेट्ने स्रोत मेलम्ची खानेपानीको मात्रै बनेको छ। यही पानी हिउँदमा पानी आउने र वर्षाभर बन्द हुने कारण शहरवासीको हालसम्म प्यास मेट्न सकेको छैन।

उक्त पानी पनि चक्रपथ भित्रमात्रै सीमित छ। त्यसैले यही मंसिर १६ मा हुने उपनिर्वाचनमा कीर्तिपुर नगरपालिकाका प्रमुखका दावेदारहरूले प्रमुख एजेण्डा नै पानी बनाएका छन्।

प्रमुखमा माओवादी केन्द्रबाट उम्मेदवारी दिएका शिवशरण महर्जनले कीर्तिपुरमा खानेपानीको समस्या भएको भन्दै यसको समाधान गर्ने आश्वासन बाँडिरहेका छन्। उनले घरघरमा पुगी भोट माग्दा भन्दै आएका छन्,‘कीर्तिपुरमा खानेपानीको समस्या छ, म पहिलादेखि नै बृहत् खानेपानी योजनामा लागिरहेको मान्छे हुँ। त्यसैले व्यवस्थित रूपमा खानेपानी व्यवस्थित, वितरण र अझै बढी पानी उपलब्ध गराउने योजना बनाएको छु।’

नेकपा एमालेका उम्मेदवार सुरेन्द्र मानन्धरले पनि नगरपालिकाका मेयरमा निर्वाचित भएपछि खानेपानीलाई प्राथमिकतामा राखेर काम अघि बढाउने बताउँदै आएका छन्।

नेपाली कांग्रेसबाट नगरपालिका प्रमुख पदमा उम्मेदवार बनेका कृष्णमान डंगोलले पनि भन्दै आएका छन्, ‘कीर्तिपुरवासीले लामो समयदेखि खानेपानीको समस्या भोगिरहेका छन्। म निर्वाचित भएपछि यी समस्या समाधान गर्ने काम गर्नेछु। केन्द्र सरकार र प्रदेश सरकारसँग समन्वय गरेर खानेपानीको समस्या समाधान गर्न सकिन्छ।’ 

काठमाडौँ उपत्यकामा दैनिक ४३ करोड लिटर पानी माग

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का अनुसार काठमाडौं उपत्यकामा दैनिक ४३ करोड लिटर पानी माग छ तर पूर्ण क्षमतानुसार दैनिक १७ करोड लिटर मेलम्चीको पानी आइरहँदा पनि उक्त माग धानेको छैन।

मेलम्चीको पानी नआउँदा विभिन्न स्रोतबाट दैनिक १३-१४ करोड लिटर पानी मात्रै आपूर्ति भइरहेको केयूकेएलले जनाएको छ। त्यसो त पानी वितरणमै समस्या हुने केयूकेएलका प्रवक्ता प्रकाशकुमार राई बताउँछन्। उनका अनुसार मेलम्चीको पानी नआएका वेला २ देखि ३ दिनको अन्तरमा पानी वितरण गर्नुपर्छ। 

उपत्यकामा कहिले हट्ला पानीको समस्या ?

सरकारले उपत्यकाको खानेपानी समस्या समाधानका लागि मेलम्चीसँगै याङ्ग्री र लार्के खोलाको पानी ल्याउने योजना बनायो। वर्षौ बितिसक्दा पनि हालसम्म मेलम्चीबाहेक याङ्ग्री र लार्के खोलाको पानी आउन सकेको छैन।

यसैगरी मेलम्ची खानेपानी आयोजनाको दातृ निकाय एशियाली विकास बैंक (एडीबी)ले अध्ययन प्रतिवेदनका आधारमा आयोजनाको हेडवर्क्स अहिले भएको स्थानभन्दा करिब १ किलोमिटर माथि सार्न सरकारलाई सुझाव दिए पनि हालसम्म सारिएको छैन।

मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्त काठमाडौंमा दीर्घकालीन रूपमा पानी ल्याउन उक्त सुझावअनुसार हेडवर्क्स सार्नुपर्ने आवश्यक रहेको बताउँछन्। ‘यसका लागि सरकार गम्भीर रूपमा लाग्नुपर्ने पनि हुन्छ’, उनी भन्छन्।

सन् २००१ मा शुरु भएको आयोजनाले दुई दशकपछि अर्थात् पहिलोपटक २०७८ चैत १५ गते काठमाडौँ उपत्यकामा पानी वितरण थालेको थियो। २०७८ साल असार र साउनमा मेलम्ची र इन्द्रावतीमा आएको भीषण बाढीले आयोजनामा ठूलो क्षति पुर्‍यायो। त्यसयता पटकपटक बाढीबाट आयोजनामा क्षति र पानी बन्द गरिँदै आएको छ।

खानेपानी मन्त्रालयका प्रवक्ता मीना श्रेष्ठ काठमाडौं उपत्यकाभित्रको खानेपानी समस्या समाधानका लागि मन्त्रालयले काम गर्दै आएको तर्क गर्छिन्। ‘मेलम्ची खानेपानीलाई दीर्घकालीन रुपमा ल्याउन मन्त्रालय आवश्यक पहल गरिरहेको छ। यांग्री र लार्के खोलाको पानी ल्याउने सरकारको योजना छ। यसका लागि थप डिजाइन रिभ्यु हुँदै छ’, उनले भनिन्।

उनका अनुसार यांग्री र लार्के खोलाको पानी पनि मेलम्ची खानेपानीकै सुरुङबाट ल्याउन लागिएको छ। ‘पछिल्लो समय प्राकृतिक विपत्ति आउने भएकाले यसबाट आयोजना बचाउन डिजाइन रिभ्यु गर्ने भन्ने छलफल चलेको छ, डिजाइन रिभ्यु भएपछि  यांग्री र लार्केको पानी आउँछ’, उनले भनिन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.