काठमाडौं : चिकित्सा शिक्षा आयोगले नेपालमा पोष्ट स्नातकोत्तर ग्र्याजुएट (पिजी) शैक्षिक कार्यक्रमहरूमा भर्नाका लागि एकीकृत प्रवेश परीक्षाको अनलाइन आवेदन खुलाएको छ। आयोगले यही मंसिर १७ गतेबाट परीक्षाका लागि आवेदन दिन सकिने भन्दै सूचना निकालेको छ।
यसअघि पिजीका विद्यार्थीहरुलाई दिइने निर्वाह भत्ताको विषयमा विवाद हुँदा निजी मेडिकल कलेज सञ्चालकहरू स्नातकोत्तर तहका लागि स्वमूल्यांकन (सेल्फ अप्रेजल) नभरेर विवाद भएपछि एकीकृत प्रवेश परीक्षा लिन आयोगले ढिलाई गरिरहेको थियो।
उक्त विवाद समाधान भएर दोस्रो पटक निकालेको सुचनाबाट निजि मेडिकल कलेजले सेल्फ अप्रेजनल फर्म भरेपछी आयोगले प्रवेश परिक्षाको सुचना निकालेको हो।
सूचनाअनुसार शैक्षिक सत्र ०८१/८२ मा चिकित्सा शिक्षा स्नातकोत्तर तहका विभिन्न शैक्षिक कार्यक्रमहरूमा भर्नाका लागि विद्यार्थी छनौट गर्न सञ्चालन गरिने एकीकृत प्रवेश परीक्षामा सहभागी हुन इच्छुक योग्यता पुगेका उम्मेदवारहरूले मंसिर १७ गते बिहान १०:०० बजेदेखि २०८१ पुस ७ गते अपरान्ह ४:०० बजेसम्म नियमित दस्तुर बुझाई र पुस ७ गते अपरान्ह ४:०० बजेपछि पुस १४ गते अपरान्ह ४:०० बजेसम्म दोब्बर दस्तुर बुझाई अनलाइन आवेदन दिन सकिने आयोगले जनाएको छ।
प्रवेश परीक्षा भने आयोगले विषयगत आधारमा माघको २६, २७ र २८ गते परीक्षा लिने जनाएको छ।
सामान्यतया डिसेम्बरमा पिजीको प्रवेश परीक्षा भएर जनवरीदेखि शैक्षिक शत्रको पढाइ सुरु हुने भए पनि यस वर्ष निर्वाह भत्ताको विवादले गर्दा प्रवेश परीक्षा ढिलो भएको हो। यसैअनुरूप अघिल्ला वर्षहरूमा भन्दा यस वर्ष पिजीको आगामी नयाँ शैक्षिक शत्र पनि ढिलो सुरु हुने देखिएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।