काठमाडौँ : यो वर्ष पनि नेपालमा नर्सने रोगका विरामी दोब्बर बढेको देखिएको छ। हालै मात्र स्वास्थ्य मन्त्रालयले राष्ट्रिय संयुक्त वार्षिक समीक्षा बैठकमा सार्वजनिक गरेको विवरणमा गत वर्षको तुलनामा यो वर्ष नसर्ने रोग ( मुटु, क्यान्सर, मधुमेह) जस्ता रोगबाट विरामी हुने नेपाली दिन प्रतिदिन बढ्दै गएको देखिएको हो।
देशभरबाट स्वास्थ्यसम्बन्धी तथ्यांक संकलन गर्ने स्वास्थ्य सेवा विभाग अन्तर्गतको हेल्थ म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम (एचएमआइएस)को ‘नेपाल हेल्थ फ्याक्ट सिट्स २०२४’ले देशभरका अस्पताल तथा अन्य स्वास्थ्य संस्थाबाट संकलन गरेको विवरणमा मुटु/ कार्डियो भास्कुलर, मधुमेहका विरामी नेपालीको संख्या उल्लेख्य मात्रामा बढेको देखाएको छ।
मुटुका विरामीको अघिल्लो आव २०७९।०८० मा १९ हजार २६२ रहेकामा गत आव २०८०।०८१ मा सो सङ्ख्या ३० हजार ३३० रहेको छ। तर मुटुका बिरामीको यो संख्या अझै धेरै हुने मन्त्रालयका अधिकारीले बताएका छन्।
नेपालमा मुटुका विरामीको उपचार गर्ने विशिष्टीकृत अस्पताल तथा यसको उपचार गर्दै आएका अन्य अस्पतालले आफ्नो अस्पतालमा आएका विरामीको विवरण पूर्णरूपमा नदिँदा यस्तो हुन पुगेको मन्त्रालयको भनाइ छ।
यस्तै यो वर्ष मधुमेहका नयाँ विरामी पनि दोब्बर थपिएका छन्। अघिल्लो वर्ष ३ लाख १२ हजार ३४२ रहेकोमा गत गत आवमा यो संख्या बढेर ५ लाख ८४ हजार ३४७ जना पुगेको छ। यसरी हेर्दा मुटु, मधुमेह जस्ता जटिल/कडा खालका नसर्ने रोगबाट ग्रसित हुने नेपालीहरू बढ्दै गएको देखिन्छ।
त्यसैगरी दीर्घ दम रोग (सिओपीडी) को बिरामीको सङ्ख्या अघिल्लो आवमा एक लाख ८५ हजार ८५७ रहेकामा गत आवमा दुई लाख ५९ हजार ११० रहेको छ ।
स्वास्थ्य मन्त्रालयका नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डा. कृष्ण पौडेलले स्वास्थ्यका विभिन्न सूचकमा उल्लेखनीय प्रगति भए पनि नसर्ने रोगका विरामी बढ्दै जानु नेपालको स्वास्थ्य क्षेत्रको प्रमुख चुनौती रहेको बताउँछन्। डा. पौडेलले भने, “दिगो विकास लक्ष्य हासिल गर्न पाँच वर्ष मात्र बाँकी छ‚ स्वास्थ्यका थुप्रै सूचकमा राम्रो प्रगति गरेका छौँ तर नसर्ने रोगका विरामी बढ्दै जानु हाम्रो प्रमुख चुनौती हो।’
यसअघि नसर्ने जोखिम बढाउने सक्ने मोटोपनाको समस्या पनि नेपालमा बढ्दै गएको जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण सन् २०२२ समेत देखाएको थियो।
जनसांख्यिक सर्वेक्षण सन् २०२२ का अनुसार २० देखि ४९ वर्ष उमेर समूहका महिलामा अधिक तौल वा मोटोपन अत्यधिक देखिएको थियो। ग्रामीण क्षेत्रका महिलामा पनि २६ शहरी क्षेत्रका ३८ प्रतिशत महिलामा मोटोपनको समस्या रहेको पाइएको थियो। जसको मुख्य कारणमा गुलियो पेय पदार्थ सेवन, बोसोयुक्त खानेकुरा जस्तैः केक, बिस्कुट, कुकीज, जेरी / जुलेबी, मिठाई, टफी, आइसक्रिमलगायत तारेको र नुनिलो खानेकुरामा जस्तैः चिप्स, कुरकुरे, चीजबल, तयारी चाउचाउ, समोसा, पकौडा, पुरी र तारेको खानेकुरा धेरै खाने गर्दा मोटोपनको समस्या रहेको यो रिपोर्टले देखाएको थियो।
सर्वेक्षणले मोटोपन घरेलु सम्पन्नताको वृद्धिसँगै बढ्दै गएको छ, गरिब घरपरिवारका २० प्रतिशत महिलाहरूमा र धनी घरपरिवारका ५३ प्रतिशत महिलाहरूमा मोटोपन देखिएको थियो भने यही रिपोर्टले २० देखि ४९ उमेर समूहका नेपाली पुरुषहरूमा ३२ प्रतिशतमा मोटोपनको समस्या भएको समेत उल्लेख गरेको थियो।
बदलिँदो जीवनशैलीपछि नेपालमा नसर्ने रोगहरू बढ्दै जानुमा जलवायु परिवर्तन पनि रहेको हुँदा अब यसका लागि सबै सरोकारवालाहरू एकजुट भएर लाग्नुपर्ने मन्त्रालयका नीति योजना महाशाखा प्रमुख डा. कृष्ण पौडेलले भने, ‘विस्तारै नसर्ने रोगहरूको भार हामीलाई बढ्दै गएको छ जसले गर्दा रोकथाम र उपचारको सेवाको सर्वसुलभ पहुँचको लागि सबै सरोकारवला लाग्नु पर्ने अवस्था आएको छ।’
तपाईंको ईमेल गोप्य राखिनेछ ।