काठमाडौं : स्थानीय तहमा रिक्त ४१ सदस्य चयन गर्न आज मतदान हुँदैछ।
कहाँ-कहाँ हुँदैछ मतदान ?
कीर्तिपुर नगरपालिकाको प्रमुख र जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख, मोरङको ग्रामथान र दैलेखको महाबु गाउँपालिकाका अध्यक्ष, दोलखाको गौरिशङ्कर, रुकुम (पूर्वी भाग) पुथा उत्तरगङ्गा, हुम्लाको सर्केगाड र बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्ष पदका लागि निर्वाचन हुँदैछ।
यस्तै वडाध्यक्षमा ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका- ३, झापाको कन्काई नगरपालिका- ६, तेह्रथुमको लालिगुराँस नगरपालिका- ८, सुनसरीको गढी गाउँपालिका- ६, ओखलढुङ्गाको मोलुङ गाउँपालिका- ५, उदयपुरको त्रियुगा नगरपालिका- १२ र बेलका नगरपालिका- ९, सप्तरीको डाक्नेश्वरी नगरपालिका- १ र ४, धनुषाको धनुषाधाम नगरपालिका - १, महोत्तरीको रामगोपालपुर नगरपालिका- २, रौतहतको ईशनाथ नगरपालिका - ७, रौतहटका राजपुर नगरपालिका- ६ र गढीमाई नगरपालिका- ८ मा निर्वाचन हुनेछ।
काठमाडौँको काठमाडौँ महानगरपालिका - १६, कीर्तिपुर नगरपालिका- १ र ४, नुवाकोटको ककनी गाउँपालिका- २, मकवानपुरको हेटौँडा उपमहानगरपालिका - १२, गोरखाको गोरखा नगरपालिका- ५, गुल्मीको मुसिकोट नगरपालिका- १, कपिलवस्तुको शुद्धोधन गाउँपालिका- १, रोल्पाको रुन्टीगढी गाउँपालिका- ४, बर्दियाको ठाकुरबाबा नगरपालिका- ४ र रुकुम पश्चिम भागको सानीभेरी गाउँपालिका- ५ वडाध्यक्ष पदका लागि निर्वाचन हुँदैछ।
दैलेखको दुल्लु नगरपालिका- १३, जाजरकोटको कुसे गाउँपालिका- ७, कालीकोटको तिलागुफा नगरपालिका - ४, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका- ५, बझाङको सूर्मा गाउँपालिका- ४, डोटीको पूर्वीचौकी गाउँपालिका- ६, दार्चुलाको दुहुँ गाउँपालिका- ५ र कञ्चनपुरको भीमदत्त नगरपालिका- ६ मा निर्वाचन हुने निर्वाचन आयोगले जनाएको छ । निर्वाचनमा तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धामा छन्।
यसअघि जिल्ला समन्वय समिति ओलखढुङ्गा र कैलालीका प्रमुखमा क्रमशः नेपाली कांग्रेसका उम्मेदवार टेकराज भट्टराई र टीकाकुमारी चौधरी भूल तथा रुकुम पूर्वी भागपुगा उत्तरगङ्गा गाउँपालिका- २ मा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका जगत घर्ती निर्विरोध निर्वाचित भइसकेका छन्।
५ दल निर्वाचनमा सहभागी भएनन्
स्थानीय तह उपनिर्वाचन प्रयोजनका लागि २५ वटा दल दर्ता भए पनि ५ राजनीतिक दल निर्वाचनमा सहभागी भएका छैनन्।
निर्वाचन आयोगले उपनिर्वाचन प्रयोजनका लागि दल दर्ताको आहृवान गरे अनुसार २५ दल दर्ता भएका थिए। तीमध्ये २० दलले विभिन्न पदका लागि हुन लागेको निर्वाचनमा सहभागी हुँदैछन्।
निर्वाचन आयोगमा दर्ता भएकामध्ये हाम्रो नेपाल पार्टी, नेपाल कम्युनिष्ट पार्टी माले, नेपाली कांग्रेस बिपी, नेपाली जनता दल र आम जनता पार्टी गरी ५ राजनीतिक दलले उम्मेदवारी नदिएका हुन्।
निर्वाचन आयोगमा १२५ भन्दा बढी दल दर्ता छन्। तीमध्ये यसपटक उपनिर्वाचनका लागि २६ दलले निवेदन दिएका थिए। त्यसमध्ये २५ दल योग्य ठहरिएका थिए।
मत परिणाम वेबसाइटमै
मतदान कार्य सम्पन्न भई सबै मतपेटिका तोकिएको मतगणनास्थलमा सङ्कलन भएपछि मतगणना कार्य प्रारम्भ हुनेछ। मतगणनाको अद्यावधिक परिणाम आयोगको बेवसाइटमा हेर्न सकिने आयोगले जनाएको छ।
आयोगले मतदाता नामावलीमा नाम भएका सम्बन्धित निर्वाचन क्षेत्रका सम्पूर्ण मतदाताले आफूलाई मन परेको उम्मेदवारलाई मतदान गरी आफ्नो मताधिकारको प्रयोग गर्न आह्वान गरेको छ। मतदाताले मतदान केन्द्रमा आफूलाई प्राप्त मतपत्र लिई गोप्य मतदान कक्षमा गएर मन परेको कुनै उम्मेदवारको चिह्न भएको कोठामा स्वस्तिक छापले मत सङ्केत गर्नुपर्छ।
मतपत्र च्यातिएमा, मतदान अधिकृतको हस्ताक्षर नभएमा, दुई वटा निर्वाचन चिह्न रहेको कोठाको बीचमा पर्ने गरी मत सङ्केत गरेमा, स्वस्तिक छाप नबुझिने गरी लत्पतिएमा, निर्वाचन चिह्न रहेको कोठाभन्दा बाहिर मत सङ्केत गरेमा वा मतपत्रमा स्वस्तिक छाप बाहेक औँठा छाप, हस्ताक्षर आदिले मत सङ्केत गरेमा मत बदर हुने आयोगले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।