खोटाङ : दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले ‘मुन्दुम ट्रेल भ्रमण वर्ष- २०२५’का अवसरमा रेडपाण्डा र थार महोत्सव गर्ने भएको छ। मुन्दुम ट्रेल भ्रमण वर्षमा घुम्न आउने पर्यटकमार्फत नगरपालिका क्षेत्रभित्र पर्ने विभिन्न जङ्गलमा पाइने लोपोन्मुख जनावर रेडपाण्डा र थारको संरक्षण, प्रवर्द्धन तथा प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो।
महोत्सवका लागि मुन्दुम ट्रेलसँग जोडिएका वडाका वडाध्यक्ष, सामुदायिक वन महासङ्घ सम्मिलित कार्यदलले विस्तृत अध्ययन गरी योजना बनाउने र त्यसका आधारमा महोत्सवको समय निर्धारण गरिने नगरप्रमुख तीर्थराज भट्टराईले बताए। ‘मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५लाई प्रभावकारी र सफल बनाउन स्थानीय तहहरूको महत्त्वपूर्ण भूमिका रहन्छ। भ्रमण वर्षमा घुम्न आउने पर्यटकलाई लक्षित गरेर हामीले रेडपाण्डा र थार महोत्सव आयोजना गर्ने निर्णय गरेका हौँ’, उनले भने। महोत्सव सफल बनाउन वडा नं १० पाथेकाका वडाध्यक्ष मुगाधन राईको संयोजकत्वमा तयारी समिति गठन गरिएको छ। १५ वटै वडाका वडाध्यक्ष सम्मिलित तयारी समितिले महोत्सवका लागि विस्तृत अध्ययन गरेर योजना बनाउने छ।
आगामी पुस १७ गतेदेखि औपचारिक रूपमा सुुरु हुने ‘मुन्दुम ट्रेल भ्रमण वर्षका अवसरमा केपिलासगढी गाउँपालिकामा हनी हन्टिङ महोत्सव तथा गोठस्टे (गोठबास) महोत्सव तथा साकेला गाउँपालिकामा उँभौली साकेला तथा अन्य साँस्कृतिक महोत्सव गर्ने तयारी छ। यस्तै, भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा गुराँस, घोडचढी तथा फिल्म सुटिङ महोत्सव, भोजपुर नगरपालिकामा अल्ट्रा म्याराथन, माउन्टेन साइक्लिङ, साल्पा सिलिछो गाउँपालिकामा नछोङ (धामी) महोत्सव, षडानन्द नगरपालिकामा रुद्राक्ष महोत्सव, महाकुलुङ गाउँपालिकामा चाकचाकुर महोत्सवलगायत कार्यक्रम गर्ने तयारी छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।