|

काठमाडौँ : पछिल्ला वर्षहरुमा नेपालमा एचआइभिको नयाँ विरामी भेटिने दर उल्लेख्य मात्रामा कम हुँदै आएको छ। नेपालमा सन् सन् २०१० देखि २०२३ सम्म नयाँ एचआईभी सङ्क्रमण दर ७८ प्रतिशतले र एड्सका कारण हुने मृत्युदर ८५ प्रतिशतले घटेको छ।

एचआइभीको सङ्क्रमण घटेको पाइएको हो। यसले गर्दा सरकारको २०३० सम्म नेपालबाट एड्स तथा एचआइभीलाई अन्त्य गर्ने रणनितिमा सफलता पाउने देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग अन्तर्गतको  राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले विश्व एड्स पछिल्लो विवरणमा एचआइभीको नयाँ संक्रमण रोक्न पनि नेपाल धेरै हदसम्म सफल भएको उल्लेख गरेको छ।

केन्द्रका अनुसार नयाँ संक्रमण दर सन् २०१० को तुलनामा ७८ प्रतिशतले कम र सन् २००० को तुलनामा ९१ प्रतिशतले कम भएको छ। यसैगरी १ देखि १४ वर्ष उमेर समूहका बालबालिकामा हुने संक्रमणमा पनि उल्लेख कमी आएको छ। सन् २०१० मा २२२ जना बच्चामा नयाँ संक्रमण भएकोमा सन् २०२३ मा जम्मा ४८ जना बच्चामा संक्रमण भएको अनुमान गरिएको छ। यो भनेको ७८ प्रतिशतले घटेको हो।

आर्थिक वर्ष २०८०/८१ मा पाँच लाख २४ हजार ९० जना शंकास्पद विरामीको एचआइभी परीक्षण गर्दा दुई हजार ४७५ जनामा एचआइभी पोजेटिभ आएको थियो।

केन्द्रका निर्देशक डा. सर्वेश शर्माका अनुसार सन् २०२३ मा दुई ४५७ जना मात्र नयाँ एचआइभीका सङ्क्रमित भेटिएका छन्। सन् २००० मा पाँच हजार १०० जना नयाँ सङ्क्रमित भेटिएका थिए। “हामीले सङ्क्रमितको पहिचान गरेर औषधि पद्धतिलाई राम्रो बनाएका छौ“ सबै सङ्क्रमित उपचारमा ल्याएका छौँ’‚ डा. शर्माले भने।

सन् २०२३ मा २३१ जनाको सङक्रमणको कारणले मृत्यु भएको छ। सन् २०१० सम्म एक हजार सात सयजना व्यक्तिको एड्सको कारणले मृत्यु हुने गरेको थियो। योसँगै नेपालमा एचआइभीबाट मृत्यु हुने संक्रमितहरुको संख्यामा पनि कमी आएको छ।

सरकारले ६३ जिल्लाका ९२ एआरटी केन्द्रबाट एन्टीरेट्रोभाइरस उपचार निःशुल्क उपलब्ध गराउँदै आएको छ।

तर नयाँ संक्रमित पहिचान हुने दर घटे पनि अहिले पनि नेपालमा २५ हजार ७२८ संक्रमित सरकारको निःशुल्क केन्द्रबाट उपचार गराइरहेका छन्।

राष्ट्रिय एड्स केन्द्रका अनुसार हाल विभिन्न केन्द्रमा २५ हजार ७२८ जना उपचाररत छन्। उपचाररत सङ्क्रमित सबैभन्दा बढी बागमती प्रदेशमा रहेका छन्। बागमती प्रदेशमा छ हजार ७३५, लुम्बिनी प्रदेशमा चार हजार ८५२, मधेश प्रदेशमा  चार हजार ३३२,  सुदूरपश्चिममा तीन हजार ७२३, कोशी प्रदेशमा दुई हजार ४०३, गण्डकी प्रदेशमा दुई हजार ९६८, कर्णली प्रदेशमा ७१५ जना छन्।

यो बाहेक सरकारसँग अझै ५ हजार संक्रमित उपचार बाहिर रहेको अनुमान छ।

निर्देशक डा. शर्माले अझै पनि उपचारबाट बाहिर रहेका करिब पाँच हजार सङ्क्रमितलाई उपचारमा ल्याउने हो भने सरकारले तोकेको लक्ष्य पूरा हुने बताए। “अझै करिब पाँच हजार सङ्क्रमित उपचारभन्दा बाहिर रहेका छन्”, उनले भने, “हामी ती सङ्क्रमितको पहिचान गरेर उपचारमा ल्याउने प्रयासमा रहेका छौँ।”

नेपालमा एचआईभी संक्रमण को मुख्य कारण असुरक्षित यौनसम्पर्कका कारणले हुने गरेकाले असुरक्षित यौनसम्पर्कलाई रोक्न सकिए मात्रै पनि अहिले भइरहेको संक्रमणदरलाई अझै रोक्न सकिने बताउछन सरुवा रोग विशेषज्ञ डा. अनुप बाँस्तोला। संक्रमणको जोखिम हुन सक्ने अवस्थामा रहेका व्यक्तिहरूले कन्डम, प्रेप, पेप लगायत अन्य रोकथाम का उपायहरु को प्रयोग गरी जोखिम न्यूनीकरण गर्न सकिने उनको भनाइ छ।

‘६८ प्रतिशत एचआइभी संक्रमणदर अहिले पनि  हेटेरोसेक्सुअल माध्यम रहेको छ।असुरक्षित यौन सम्बन्ध नराख्ने, कन्डमको प्रयोग गर्ने गर्दा मात्रै अहिलेको संक्रमण दर रोक्न सकिन्छ’‚ डा. बास्तोलाले भने।   

यस्तै संक्रमित भइसकेका संक्रमित व्यक्तिहरुले पनि  नियमित औषधि सेवन गरे स्वस्थ जीवन बाँच्न सक्ने र नियमित लामो समयदेखि उपचारमा रहेका संक्रमित हरुले ‘नसर्ने रोगहरुको’ रोगथाम, परीक्षण तथा उपचार गर्न जरुरी रहेको छ। यसले संक्रमितहरुलाई नसर्ने रोगका कारण हुने मृत्युबाट बचाउनका साथै ‘स्वस्थ बुढ्यौली’ को आधार बनाउन मद्दत गर्दछ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. विकास देवकोटाले एचआइभी संक्रमण नियन्त्रण गर्न समुदायमा आधारित कार्यक्रम बढी प्रभावकारी देखिएको र उनीहरुको सक्रियता अझ बढी चाहिएको बताए। उनले संयुक्त रुपमा गरिएको कार्यक्रममध्ये एचआइभी नियन्त्रण कार्यक्रम नमुना कार्यक्रम रहेको भन्दै समुदायको पनि सहभागितासहितको कार्यक्रम आगामी दिनमा पनि गरिने जनाएका छन्। 

यस्तै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले एड्सको महामारीलाई अन्त्य गर्ने सरकारको लक्ष्य प्राप्त गर्न सबैले सहयोग गरे लक्ष्य अनुसारको उपलब्धि हासिल गर्न सकिने बताउँछन्।  

सङ्क्रमित व्यक्तिहरुको उपचार, सेवा र संरक्षणमा समान पहुँचको महत्त्वलाई सम्झाउन र एड्को महामारीलाई अन्त्य गर्ने लक्ष्य प्राप्त गर्न समुदायको सक्रिय सहभागिता र सहकार्यको आवश्यकता हुने भएकाले आ-आफ्नो क्षेत्रबाट योगदान पुर्‍याउन उनले सबैलाई आग्रह गरेका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.