|

काठमाडौं : वैदिक शास्त्रका अध्येताहरूले वैदिक कालगणना पद्धति अवलम्बन गरे हरेक वर्ष चाडपर्वमा देखिने गरेको विवाद अन्त्य हुने बताएका छन्।

वैदिक नववर्ष (कलिसंवत्) ५०९० का अवसरमा आइतबार बुढानीलकण्ठ-६ हात्तीगौँडा ब्रह्मपुरीस्थित स्वाद्ध्यायशालामा आयोजित कार्यक्रममा उनीहरूले हरेक वर्ष दशैँतिहारलगायत चाडपर्वमा देखिँदै आएको विवाद वैदिक कालगणनाअनुरूपको पात्रोबाट मात्र समाधान हुने बताए।

कार्यक्रममा वैदिक तिथिपत्रम् (पात्रो) का सम्पादक प्रमोदवर्धन कौण्डिन्न्यायनले वैदिक तिथि अहोरात्र हुने बताए। एक सूर्योदयदेखि अर्को सूर्योदय नभएसम्म एउटै तिथि हुने भएकाले चाडपर्व मनाउँदा अहिलेजस्तो समस्या नहुने उनले जानकारी दिए। वैदिक कालगणना अनुसार वर्षका ६ वटा कृष्णपक्षका 'चतुर्दशी' टुट्ने उनले बताए।

कौण्डिन्न्यायनले शिशिर ऋतुकै छेको पारेर विभिन्न जातजातिले मनाउने नयाँवर्ष पनि वैदिक कालगणनाबाटै प्रभावित भएको दाबी गरे। ‘शिशिर ऋतु आसपास नयाँवर्ष मनाउने चलन वैदिक कालगणना सिद्धान्तसँग सम्बन्धित रहेको देखिन्छ’, उनले भने, ‘ल्होसार र माघी जस्ता विभिन्न समुदायमा मनाइने नयाँ वर्ष पनि वैदिक नववर्षबाटै प्रभावित हुन्।’ 

कार्यक्रममा स्वाद्ध्याशालाका आमोदवर्धन कौण्डिन्यायन, सुमोदवर्धन कौण्डिन्न्यायन, डा. सम्मोद आचार्य र प्रियंवदा काफ्ले आचार्यलगायतले वैदिक कालगणना र वैदिक पात्रोको महत्त्वबारे प्रवचन दिएका थिए।

मूल वैदिक परम्पराका अनुयायीले तपः महिनाको शुक्लपक्षको प्रतिपदामा नयाँ वर्ष मनाउने गरेका छन्। त्यसैअनुरूप योपटक आइतबार (मार्गशीर्ष शुक्ल प्रतिपदा) मा वैदिक नववर्ष परेको हो।

सौरचान्द्र उत्तरायण शिशिर ऋतु प्रारम्भ हुने दिन वैदिक नववर्ष मनाइन्छ। आइतबार पाँच वर्षे युगको पाँचौँ वर्ष वत्सर तथा अनल नामक वर्षको प्रारम्भको दिन भएको वैदिक पात्रोका सम्पादक कौण्डिन्न्यायनले जानकारी दिए।

स्वाद्ध्यायशालाले १५ वर्षदेखि वैदिक कालगणनामा आधारित वैदिक तिथिपत्रम् (पात्रो) प्रकाशन गर्दै आएको छ।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.