|

बागमती : हेटौंडा सिमेन्ट उद्योग व्यवस्थापनले आगामी पुसको पहिलो सातादेखि पुनः सिमेन्ट उत्पादन शुरु गर्ने तयारी गरेको छ। उद्योग व्यवस्थापनले मङ्सिरमै सिमेन्ट उत्पादन सुरु गर्ने बताए पनि उद्योगको विभिन्न उपकरण मर्मतको काम नसकिँदा उत्पादन अझै शुरु हुन नसकेको हो। 

‘उद्योगको क्लिनिकलर मेसिन लगायतका उपकरणको मर्मतकार्य अझै भइरहेकै छ’, उद्योग व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र भण्डारीले भने,‘‘ हामीले तिहारसम्ममा मर्मत सकिन्छ र त्यस लग्तै पुनः सिमेन्ट उत्पादको कार्य शुरु गर्ने अनुमान गरेका थियौँ।’ तर अझै उपकरण मर्मतको काम नसकिएकाले उद्योग सहज हुन अझै केही दिन लाग्न सक्ने उनको भनाइ छ। उपकरणहरुको मर्मत कार्य सम्पन्न हुने बितिकै यही पुस महिनाको पहिलो साताबाट सिमेन्ट उत्पादन शुरु गर्ने गरी तयारी भइरहेको उनले बताए। उद्योग व्यवस्थापनले यही असोज १५ गतेदेखि सिमेन्ट उत्पादन बन्द गरेको थियो। 

उद्योगको उपकरण बनाउन भारतबाट श्रमिक ल्याउनुपर्ने भएकाले मर्मत सम्भारमा समय लागेको अध्यक्ष भण्डारीले बताए। मर्मत सम्भारको काम तीव्ररूपमा भइरहेकाले छिटै सकिने र त्यसलगत्तै उत्पादन शुरु गर्ने तयारी भएको उनको भनाइ छ। ‘हामीसँगै कच्चा पदार्थको कुनै अभाव छैन’, अध्यक्ष भण्डारीले भने,‘उद्योगलाई चाहिने करिब ४०० मेट्रिक टन कोइला मौज्दात छ।’ 

आर्थिक अभावका कारण यसअघि दुई महिना उद्योग बन्द भएको थियो। यही भदौको तेस्रो साताबाट सिमेन्ट उत्पादन शुरु गरेको सो उद्योगले यसअबधीमा ६५ हजार बोरा सिमेन्ट उत्पादन गरेको अध्यक्ष भण्डारीले बताए।  २०३३ सालमा हेटौँडाको लामसुरेमा स्थापना भएको उद्योगले  २०४३ सालदेखि सिमेन्ट उत्पादन शुरु गरेको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.