काठमाडौँ : पछिल्ला वर्षहरूमा नेपालमा नसर्ने रोग (मुटु, क्यान्सर, मधुमेह) जस्ता रोगका विरामी बढ्न थालेपछि सरकारले एकमहिने परीक्षण तथा पहिचान अभियान सञ्चालन गर्ने भएको छ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आइतबार मन्त्रिस्तरीय निर्णय गर्दै ‘समुदायमा नसर्ने रोगहरू (मधुमेह, उच्च रक्तचाप, मिर्गौला सम्बन्धी रोग, शरीरको उचाइ र तौलको अनुपात) पहिचानका लागि एकमहिने अभियान सञ्चालन निर्देशिका २०८१’ स्वीकृत गरेका हुन्।
मधुमेह, उच्च रक्तचाप तथा मिर्गौला सम्बन्धी रोगबाट पीडित विरामी बढिरहेको भन्दै समयमै पहिचान र उपचारमार्फत विरामी घटाउने उद्देश्यका साथ हरेक वर्ष एक महिनाभर पहिचान र उपचार अभियान सञ्चालन गर्ने निर्देशिकामा उल्लेख छ।
मन्त्री पौडेलले गत २७ साउनमा योजना तथा प्राथमिकतामा सार्वजनिक गर्दा रोगको उपचार र निदानसँगै लाग्नै नदिन रोकथामका उपाय जनस्तरमा पुर्याउने उल्लेख गरेका थिए।
तदनुरूप हरेक वर्ष एक महिना रोकथामका लागि खर्चने गरी ‘समुदायमा नसर्ने रोगहरू (मधुमेह, उच्च रक्तचाप, मिर्गौला सम्बन्धी रोग, शरीरको उचाइ र तौलको अनुपात) पहिचानका लागि एकमहिने अभियान सञ्चालन निर्देशिका २०८१’ स्वीकृत गरेको बताएका छन्।
अहिले देशैभर मिर्गौलासम्बन्धी रोगबाट पीडित भएर डायलसिस हुने विरामीको संख्या बढिरहेको छ। संख्या बढेका कारण भएका डायलसिस गराउने संरचनामा दबाब परिरहेको छ।
यसैगरी खानपान तथा जीवनशैलीका कारण उच्च रक्तचाप तथा मधुमेहका विरामीसमेत बढिरहँदा स्वास्थ्य उपचार प्रणाली र विरामी दुबैले मार खेप्नु परिरहेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आँकडाले पनि पछिल्लो समय नसर्ने रोगहरूमा मिर्गौला, उच्च रक्तचाप, मधुमेह लगायतका रोग प्रमुख स्वास्थ्य समस्याका रूपमा देखिरहेको देखाएको छ।
हालै मात्र मन्त्रालयको ‘नेपाल हेल्थ फ्याक्ट सिट्स २०२४’ले देशभरका अस्पताल तथा अन्य स्वास्थ्य संस्थाबाट संकलन गरेको विवरणमा मुटु/कार्डियो भास्कुलर, मधुमेहका विरामी नेपालीको संख्या उल्लेख्य मात्रामा बढेको देखाएको छ।
जसमा मुटुका विरामीको अघिल्लो आव २०७९।०८० मा १९ हजार २६२ रहेकामा गत आव २०८०।०८१ मा सो सङ्ख्या ३० हजार ३३० रहेको छ।
यस्तै यो वर्ष मधुमेहका नयाँ विरामी पनि दोब्बर थपिएका छन्। अघिल्लो वर्ष ३ लाख १२ हजार ३४२ रहेकोमा गत गत आवमा यो संख्या बढेर ५ लाख ८४ हजार ३४७ जना पुगेको छ।
त्यसैगरी दीर्घ दम रोग (सिओपिडी)को विरामीको सङ्ख्या अघिल्लो आवमा एक लाख ८५ हजार ८५७ रहेकामा गत आवमा दुई लाख ५९ हजार ११० रहेको मन्त्रालयको उक्त ‘नेपाल हेल्थ फ्याक्ट सिट्स २०२४’ले देखाएको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।