काठमाडौँ : उपनिर्वाचन भएका ४१ स्थानीय तहमध्ये ३७ वटाको मतपरिणाम सार्वजनिक भएको छ। मतदान सकिएको २४ घण्टामा चार स्थानीय तहबाहेकको अन्तिम परिणाम आइसकेको निर्वाचन आयोगले जनाएको छ।
कीर्तिपुर नगरपालिका प्रमुख, हुम्लाको सर्केगाड र दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्ष पदको मतगणना जारी रहेको आयोगका सहायक प्रवक्ता दुर्गाप्रसाद चालिसेले जानकारी दिए।
उनका अनुसार विवादका कारण रोकिएको उदयपुरको बेलका नगरपालिका-९ मा फेरि मतगणना सुरु भएको छ।
कीर्तिपुरमा कांग्रेस नै अगाडि
कीर्तिपुरको मेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोलको अग्रता कायमै छ। पछिल्लो नतीजा अनुसार डंगोलले ३ हजार ३८५ मत प्राप्त गरेका छन्।
नेकपा एमालेका उम्मेदवार डा. सुरेन्द्र मानन्धरले २ हजार ७२६ मत प्राप्त गरेका छन्। मानन्धरभन्दा डंगोल ६५९ मतले अगाडि छन्। तेस्रोमा नेकपा माओवादी केन्द्रका उम्मेदवार प्रा.डा. शिवशरण महर्जनले २ हजार ३१७ मत ल्याएका छन्। धरानका मेयर हर्क साम्पाङको समर्थनमा चुनाव लडेका स्वतन्त्र उम्मेदवार राजमान महर्जनले १ हजार २०७ मत प्राप्त गरे।
रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिका उपाध्यक्षमा माओवादीकी नरपुरा बुढा विजयी भइन्। सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनलाई ठूलो मतान्तरले पराजित गर्दै माओवादीकी उम्मेदवार बुढा निर्वाचित भएकी हुन्।
कांग्रेसको चुनाव चिह्न लिएर प्रतिस्पर्धामा उत्रिएकी एमालेकी केशकुमारी तुलाचनलाई १ हजार ४९९ मतान्तरले पराजित गर्दै बुढाले जित हासिल गरिन्।
बुढाले ३ हजार ६२७ मत ल्याउँदा कांग्रेस–एमाले गठबन्धनकी तुलाचन २ हजार १२८ मतमा सीमित भइन्।
यस्तै, दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा पनि माओवादीकी निमलेकी शेर्पाले अग्रता लिएकी छिन्। एमालेकी उमा लुङ्गेली मगर शेर्पा दोस्रोमा हुँदा कांग्रेसकी पासदिकी तामाङले तेस्रो स्थानमा छिन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।