|

काठमाडौँ : नेपाल प्रिमियर लिगको आज तेस्रो दिनमा सुदुरपश्चिम रोयल्स र चितवन राइनोजले उत्कृष्ट नतिजा हात पारेका छन्।

आज भएको पहिलो खेलमा विराटनगर किंग्सलाई सुदुरपश्चिमले ९० रनले पराजित गर्‍यो भने चितवनले पोखरा एभेन्जर्सलाई ८७ रनले पराजित गर्‍यो।

आजको खेलमा ब्याटिङतर्फ सुदुरपश्चिमका कप्तान दिपेन्द्रसिंह ऐरी र चितवनका रवि भोपराले अर्धशतक पूरा गरे। त्यस्तै बलिङतर्फ चितवनका सोहेल तन्विर र रिजन ढकालले उत्कृष्ट प्रदर्शन गरे।

आज कस्तो रह्यो खेल?

पहिलो खेलमा टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित ओभरको खेलमा ७ विकेटको क्षतिमा १८२ रन बनाएको थियो।सुदूरपश्चिमका लागि कप्तान ऐरीले अर्धशतकीय पाली खेले। उनले २३ बलमा अर्धशतक प्रहार गरे। २४ बल खेलेका ऐरी ३ चौका र ५ छक्कासहित ५७ रनमा अविजित रहे।

दीपेन्द्रले २४ बलमा अविजित ५७ रन बनाए। उनले इनिङ्सको अन्तिम दुई बलमा प्रतिस जिसीलाई लगातार छक्का प्रहार गरेका थिए। अन्तिम ओभरमा मात्र दीपेन्द्रले ३ छक्का प्रहार गरेपछि सुदूरपश्चिमले कुल २३ रन जोडेको थियो। दीपेन्द्रले कुल ३ चौका र ५ छक्का प्रहार गरे।

दीपेन्द्र र इशान पाण्डेले आक्रामक ब्याटिङ गरेपछि बिहानको निकै कठिन अवस्थामा पनि सुदूरपश्चिमले राम्रो स्कोर बनाएको हो। यी दुईले छैटौँ विकेटमा २५ बलमा ४९ रन जोडे। इशान १६ बलमा २ चौका र १ छक्कासहित २१ रन बनाई रनआउट भए।

सुदूरपश्चिमबाट ओपनर अमित श्रेष्ठ १ रनमै आउट भएका थिए। उनलाई इस्मात आलमले आउट गरे। अर्का ओपनर विनोद भण्डारीले २० बल खेली ३ चौकासहित २३ रन बनाए।

आरिफ शेख ९ रनमै आउट भए। बसिर अहमदको बलमा निकोलस कृतनले कभरमा उत्कृष्ट क्याच लिएर आरिफलाई पेभेलियन फर्काएका थिए। सैफ जैबले १५ बल खेली १ छक्कासहित १४ रन बनाए। ब्रान्डन म्याकमुलेनले २६ बल खेली समान २ चौका र छक्कासहित ३६ रन जोडे।

विराटनगरका  लागि बसिर अहमदले २८ बल खेल्दै दुई चौकाको सहयोगमा २४ रन बनाए। नौ बल खेलेका राजेश पुलामीले एक चौकाको मद्दतमा १५ रन बनाए। अनिल खरेलले १० रन बनाउनेबोहक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन्।

त्यस्तै क्रिस सोलले नौ रन जोड्दा कप्तान सन्दीप लामिछाने आठ रनमा आउट भए। त्यस्तै इस्मत आलम ६ रन र निकोलस कीर्तोनले पाँच रन जोडे।

बलिङतर्फ सुदूरपश्चिमका अभिनाश बोहोरा र स्कट कुगेलेइनले समान तीन/तीन विकेट लिए भने ब्रान्डन म्याकमुलेन र सैफ अलि जैबले समान एक/एक विकेट लिए।

विराटनगरका लागि अनिल खरेलले तीन विकेट लिए भने इस्मत आलम, बसिर अहमद र क्रिस सोलले समान एक/एक विकेट लिए।

त्यस्तै दोस्रो खेलमा चितवन राइनोजले रवी बोपाराको अर्धशतकमा पोखरा एभेन्जर्सलाई १६२ रनको लक्ष्य दिएको थियो। टस जितेको पोखराले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको चितवनले ७ विकेटको क्षतिमा १६१ रन जोड्यो।

चितवनका लागि इंग्लिस ब्याटर बोपाराले ३८ बलमा ५१ रन बनाए। उनले तीन/तीन चौका र छक्का प्रहार गरे। चितवनले ओपनिङ भने राम्रो गर्न सकेन। ओपनिङ ब्याटर दीपक बोहरा २ रनमा पहिलो ओभरमा विपिन खत्रीबाट बोल्ड भए।

ओपनर हसन इशाखिल पनि १० बलमा १ चौका र १ छक्का प्रहार गर्दै १४ रन बनाएर खेलिरहदा विपिनकै बलमा विकेटकिपर दिलीप नाथबाट क्याच भए।

त्यसपछि लुक बेन्केस्टाइन १६ रनमा आउट भए। उनलाई पोखराका डच बलर बास डि लिडेले आउट गरे। कप्तान कुशल मल्ल र रवी बोपाराबीच ५६ रनको साझेदारी भएपछि चितवनको इनिङ्ग्स अघि बढ्यो।

१४औँ ओभरमा सागर ढकालको बलमा क्याच हुनुअघि कुशलले २३ बलमा १ चौका र ४ चौकाको मद्दतमा  ३८ रन बनाए।

१६ ओभरमा बोपारा आउट भएपछि अर्को ओभरमा सोहिल तन्विर बास डि लिडेको एलबिडब्लूको धरापमा परे। लगत्तै सन्तोष कार्की पनि १३ बलमा ११ रन जोड्दै आउट भए।

अमरसिंह रटेउलाले नटआउट १३ रन र शरद भेषवाकरले नटआउट ११ रन जोडे। चितवनले अन्तिम पाँच ओभरमा ३ विकेट गुमाउँदा ३४ रन मात्र जोड्न सक्यो। बलिङमा पोखराका विपिन खत्री, बास डे लिडे र रेमन्ड राइफरले २-२ विकेट लिए।

त्यस्तै  १६२ रनको लक्ष्य पछ्याएको पोखरा १३.२ ओभरमा ७४ रनमा अलआउट भयो। पोखराका लागि लोअर अर्डरमा आएका नारायण जोशीले सर्वाधिक ३० रन बनाउनुबाहेक अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन्। जोशीले २४ बल खेल्दै ३ चौका र २ छक्का प्रहार गरे। म्याट क्रिटलेले १७ रन जोडे।

पोखरालाई अलआउट गर्न चितवनका तनविरले ३ ओभरमा १ मेडन राख्दै ६ रन मात्र खर्चेर ३ विकेट लिए। रिजनले पनि ३ ओभरमा १ मेडन राख्नदै १० रन खर्चेर ३ विकेट लिए। लुकले ४ ओभरमा ३७ रन खर्चेर ३ विकेट लिए। दीपक बोहराले १ विकेट लिए। तन्विर उनै हुन् जसले पहिलो खेलमा काठमान्डु गूर्खाजविरुद्ध ५ विकेट लिएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.