|

काठमाडौँ : स्थानीय तह उपनिर्वाचनको परिणामले सत्तारुढ दल नेपाली कांग्रेसलाई नराम्रोसँग झस्काएको छ। १६ मंसिरमा सम्पन्न उपनिर्वाचनको अन्तिम मत परिणाम आइसक्दा समग्रमा कांग्रेस ७ सिट घाटामा रह्यो।

२०७९ को आवधिक निर्वाचनमा कांग्रेसले जितेर विभिन्न कारण रिक्त हुन पुगेका दुई जिल्ला समन्वय समिति (जिसस) प्रमुखसहित २६ ठाउँमा उपनिर्वाचन भएको थियो। अन्य दलले उम्मेदवारी नदिएपछि ओखलढुंगा र कैलाली जिसस प्रमुखमा कांग्रेसकै नेता सर्वसम्मत चुनिए। 

तर बाँकी २४ पदका लागि भएको मतदानको परिणाम भने कांग्रेसका लागि सुखद रहेन। उसले कीर्तिपुर नगरपालिका प्रमुख सुरक्षित गर्दै अन्य १६ वटा वडामा जित निकाल्दा ७ पद गुमायो। 

कांग्रेसले यसअघि जितेको मोरङको ग्रामथान गाउँपालिका र दैलेखको महाबु गाउँपालिका अध्यक्ष पद गुमाउँदा बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका र दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्ष पद गुमायो। यस्तै जाजरकोटको नलगाड नगरपालिका उपप्रमुख पद पनि जोगाउन सकेन। 

उपनिर्वाचनको परिणाम सुखद नआउनुमा विभिन्न कारण रहेको कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ औंल्याउँछिन्। उपनिर्वाचनमा एक्लाएक्लै लड्नु, विद्यमान अन्तरकलह र पार्टी सरकारमा हुनुले सोचेअनुरुप नतिजा नआएको उनी ठान्छिन्। 

‘इमान्दारीपूर्वक भन्नुपर्दा हिजो कतिपय ठाउँमा गठबन्धन थियो, त्यसले अरूलाई पनि सहयोग गर्‍यो‚ कांग्रेसलाई पनि गरेकै हो। तर अहिले एक्लै लड्दा पहिलाकै कतिपय ठाउँ गुमायौं। अध्यक्ष, उपाध्यक्ष, उपप्रमुख जस्तो पद र कतिपय वडा गुमाउनु दुखद नै हो’, उनी भन्छिन्, ‘यसमा कपितय ठाउँमा पार्टीकै अन्तरकलहको प्रभाव पर्‍यो। समयमा छलफल गरेर त्यसलाई समाधान गर्न सक्नुपर्थ्यो। अर्को विषय के सत्य हो भने बाहिर बसेको वेला जनताले सहानुभूतिको रूपमा पनि मत दिन्छन्। तर सरकारमा बस्दा चाहिँ त्यतिकै पनि जनताको अलिकति दृष्टिकोण फरक हुन्छ।’ 

सहमहामन्त्री डिना यसपटक भएका कमीकमजोरीलाई पहिचान गरेर भोलिका लागि त्यसलाई सुधार गर्नुपर्नेमा आवश्यकता औंल्याउँछिन्। ‘अब भोलिका दिनमा पार्टीको आन्तरिक क्रियाकलाप र संगठन बाबजुद तथा एकताबद्ध बनाउन जरुरी छ भन्ने अहिलेको परिणामले देखाएको छ’, उनी भन्छिन्, ‘अब हामी यसका लागि लागिपर्छौं र भोलिका निर्वाचनको रणानीतिमा लाग्छौं।’ 

कांग्रेसले ठूलो क्षति बेहोर्दै गर्दा सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेका लागि भने उपनिर्वाचनको परिणाम सन्तोषजनक आयो। यसअघि उसले जितेको ७ स्थानमा विभिन्न कारण रिक्त हुन पुगेको पदमा उपनिर्वाचन भएको थियो। 

ठाउँ र पद हेरफेर भए पनि उसले आफ्नो सबै पद सुक्षित राख्दै एक सिट थप्यो। एमाले दैलेखको महाबु गाउँपालिका अध्यक्ष र बाजुराको स्वामिकार्तिक तथा दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्ष कांग्रेसबाट खोस्न सफल भयो। त्यसबाहेक उसले विभिन्न पालिकाका पाँच वडाध्यक्ष पदमा जित हासिल गर्‍यो।   

उपनिर्वाचनमा माओवादी कसरी बन्यो सर्वाधिक सफल ? 

उपनिर्वाचनले प्रमुख प्रतिपक्षी माओवादी केन्द्रलाई सबैभन्दा धेरै लाभ भएको छ। उसले जितेका ९ स्थानमा उपनिर्वाचन भएकोमा एक वडाध्यक्ष निर्विरोध जितेको थियो भने अन्य पदमा मतदान भएको थियो। 

प्राप्त मत परिणामअनुसार माओवादीले दुई पद उपनिर्वाचनमार्फत थपेको छ। मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष र जाजरकोटको नलगाड नगरपालिकामा उपप्रमुख पद कांग्रेसबाट खोसेको छ भने रुकुम पश्चिमको पुथाउत्तगङ्गा र हुम्लाको सर्केगाड गाउँपालिकामा उपाध्यक्ष पद जोगाएको छ। यसबाहेक उसले ६ वटा वडामा जित हात पारेको छ। 

उपनिर्वाचनको यो परिणामबाट माओवादी उत्साहित छ। अब २०६४ कै अवस्थामा माओवादी फर्कन्छ र त्यो सम्भव छ भन्ने संकेत उपनिर्वाचनले दिएको उसको दाबी छ। 

मंगलबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विज्ञप्ति नै जारी गरेर उपनिर्वाचनको नतिजाले पार्टीले अघि सारेका एजेन्डा र अघि बढाउन खोजेको अभियानलाई जनताले अनुमोदन गरेको पुष्टि भएको बताएका छन्।  

विज्ञप्तिमा भनिएको छ, ‘खासगरी हाम्रो पार्टी नेतृत्वको सरकारले अघि सारेको सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको एजेण्डालाई जनस्तरसम्म पुर्‍याउँदै पार्टीको आगामी बाटो र दृष्टिकोण सुस्पष्ट गर्ने अवसरको रूपमा उपनिर्वाचनलाई लिएका थियौँ। निर्वाचित जनप्रतिनिधिको संख्या र जनमत दुबै हिसाबबाट पार्टीले उत्साहजनक सफलता प्राप्त गरेको छ।’ 

माओवादी सचिव एवं प्रमुख सचेतक हितराज पाण्डे उपनिर्वाचनमा सिटसँगै समग्रतामा मत पनि बढेकोमा खुसी व्यक्त गर्छन्। यद्यपि यसैबाट धेरै उत्साहित भएर मात्तिन नहुने उनी बताउँछन्। 

‘हामीले विगतमा गरेको कमी कमजोरीको समीक्षा गर्दै जसरी जनतामा जनतामा जाने कोसिस गरेका थियौं त्यसको सुरुवाती नतिजा हो यो। निर्वाचनको जुन परिणाम आएको छ, हामीले सिट मात्रै होइन समग्र मत पनि वृद्धि गरेका छौँ। यो हाम्रा लागि खुसीको कुरा हो’, उनी भन्छन्, ‘तर यसलाई समग्रमै हामी ह्वात्तै माथि उठ्यौं भनेर मात्तिनुपर्ने पनि म देख्दिनँ। अझै हामी रूपान्तरित हुन आवश्यक छ नै।’  

देशलाई समग्रता एकीकृत गर्न सक्ने विचार र नेतृत्व माओवादीसँग छ भन्ने सन्देशका रूपमा पनि उपनिर्वाचन परिणामलाई सचिव पाण्डे अर्थ्याउँछन्। साथै माओवादी आफ्नै खुट्टामा उभिन सक्छ भन्ने सन्देश पनि यसले दिएको उनी बताउँछन्। 

‘देशमा सही विचारको वाहक, समग्र देशलाई एकीकृत गर्ने विचार र नेतृत्व माओवादीसँगै छ भन्ने कुरा जनतामा बोध भएको देखिन्छ’, उनी भन्छन्, ‘अर्को हामीले २०६४ कै अवस्थामा पार्टीलाई फर्काउने भन्दै आएका छौं। त्यसको सुरुवात पनि हो भन्ने हाम्रो बुझाइ हो। साथै माओवादी आफ्नै खुट्टामा उभिन सक्छ भन्ने कुरा पनि पुष्टि भएको छ।’ 

माओवादी सफल हुँदा कांग्रेसलाई किन लाग्यो धक्का ? 

दोस्रो ठूलो दल एमालेसँग सत्ता सहकार्यमा रहेको सबैभन्दा ठूलो दल कांग्रेसले ठूलो क्षति बेहोर्दा माओवादी सर्वाधिक सफल रह्यो। आखिर के–के कारण कांग्रेसका लागि दुःखद र माओवादीका लागि अत्यन्तै उत्साहप्रद नतिजा आयो ? 

राजनीतिक विश्लेषक प्रा.डा. प्रेम शर्मा यसमा विभिन्न कारण रहेको औंल्याउँछन्। सरकारको कमजोर कार्यसम्पादन, सत्ताप्रति जनताको बुझाइ तथा पार्टीभन्दा आफ्नो क्षेत्रका लागि उपयुक्त लाग्ने पात्र चुन्ने मतदाताको चेतलाई उनी मुख्य कारक ठान्छन्। 

कांग्रेसले बेहोरेको क्षतिबारे उनी भन्छन्, ‘सत्तामा भएको पार्टीलाई कार्यसम्पादन फितलो भयो र आश्वासन मात्रै धेरै बाँडियो भने वितृष्णा पैदा हुन्छ र त्यसको बदलामा जनताले मत अन्तै डाइभर्ट गरिदिन्छन्।’ 

सत्ताप्रति वितृष्णा र आफूले भनेको मान्ने र सुन्ने नजिककालाई मतदाताले छान्दा पार्टीगत रूपमा माओवादी सफल देखिएको डा. शर्माको बुझाइ छ। 

‘पहिलो त जुनजुन ठाउँमा उपनिर्वाचन भयो, तुलनात्मक रूपमा ती ठाउँ माओवादीको जनमत बलियो भएका क्षेत्र हुन्’, उनी थप्छन्, ‘अर्को चाहिँ विकल्प खोजिरहने चाहना जनतामा देखिन्छ। साथै मतदाताले के हेर्छन् भने पार्टी होइन, घरदैलोमा जसले राम्रो काम गर्ला जस्तो देख्छन्, जसले आफूले भनेको मान्छ, जसको छवि राम्रो छ, त्यस्तालाई छान्छन्। यसलाई पार्टीको कोणबाट हेर्दा मात्र कुनै दललाई ठूलो क्षति र कसैलाई लाभ भएको देखिएको हो।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.