|

जनकपुरधाम : ऐतिहासिक तथा धार्मिक महत्त्वको दूधमती नदीको अतिक्रमित प्राकृतिक बहाव क्षेत्रको सीमाङ्कन, नक्साङ्कन तथा उत्खनन शुरु गरिने भएको छ।

मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहको अध्यक्षतामा रहेको दुग्धमती नदी संरक्षण उच्चस्तरीय समितिको बैठकले ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री शेषनारायण यादवको संयोजकत्वमा दुग्मधमती नदी संरक्षणात्मक कार्य कार्यान्वयन उपसमिति गठन गर्दै सो सम्बन्धी कार्य तत्काल र तीव्रताका साथ शुरु गर्ने निर्णय गरेका छन्।

धार्मिक तथा पौराणिक आस्था र विश्वाससँग जोडिएको मात्र नभएर सिँचाइ तथा खानेपानी समेतको महत्त्वपूर्ण स्रोत दूधमती नदी संरक्षण हुनैपर्ने भएकाले प्रदेश सरकार उत्खननसहितको काम अघि बढाएको उच्चस्तरीय समितिका अध्यक्ष एवं मुख्यमन्त्री सिंहले बताए। 

उनले भने, ‘पवित्र स्नान तथा नदीको पूजन परम्परामार्फत स्थानीय पर्यटन प्रवर्धन र प्रदेशका बहुसंख्यक खोला खहरे भएका वेला नदीको प्राकृतिक बहाव क्षेत्र पुनःस्थापन जरुरी हुँदा सरकारले यो कामलाई उच्च प्राथमिकतामा राखेको छ।’ 

मंगलवार मुख्यमन्त्री कार्यालय जनकपुरधाममा मुख्यमन्त्री सिंहको अध्यक्षतामा ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री यादव, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयका प्रदेश सचिव जक्की अहमद अन्सारी, धनुषा र महोत्तरीका प्रमुख जिल्ला अधिकारीहरू, मधेश प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षक, राष्ट्रिय अनुसन्धानका अनुसन्धान निर्देशकलगायत सम्मिलित दुग्धमती नदी संरक्षण उच्चस्तरीय समितिले पिलरसहित सीमाङ्कन, नक्साङ्कन तथा पहिचान भएको सीमाभित्र नदीको प्राकृतिक बहाव क्षेत्रलाई अतिक्रमणमुक्त गराउन उत्खनन गर्ने निर्णय गरेको ऊर्जामन्त्री शेषनरायण यादवले बताए।

मन्त्री यादवले दूधमती नदीको प्राकृतिक बहाव क्षेत्र पहिचान तथा यकिन गरी उत्खनन गर्न उच्चस्तरीय समितिले आवश्यक उपकरण, जनशक्ति तथा अन्य सहयोग गर्न समुदायका सबैलाई आह्वान गर्ने निर्णय गरेको जानकारी दिए। 

धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा रहेको नदीको मुहानदेखि दक्षिणी बहाव क्षेत्रको पूर्णतः अतिक्रमित नदीको भूभाग उत्खननका लागि समुदाय तथा अन्य तहका सरकारको सहयोग अपेक्षासँगै थप जरुरी कायका लागि समितिले आवश्यक बजेट व्यवस्थापन गर्ने निर्णय गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.