खाद्य सुरक्षा नै जोखिममा पर्ने सम्भावना
खाद्य सुरक्षा नै जोखिममा पर्ने सम्भावना
काठमाडौँ : नेपालको माटाेकाे भौतिक, रासायनिक तथा जैविक गुण बिग्रँदै गएको छ।
माटोको उर्वराशक्तिमा ह्रास आउने क्रम बढ्दो छ, जसले गर्दा उत्पादनमा कमी आई समग्र खाद्य सुरक्षा नै जोखिममा पर्ने सम्भावना बढेकाे कृषि विभागले जनाएको छ। त्यसो त माटोको समस्या विश्वको साझा समस्या बनेको छ। नेपालमा पनि माटोको स्वास्थ्य व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको पाइएको छ।
देशका कतिपय स्थानमा सूक्ष्म खाद्य तत्त्वहरु (जिंक, तामा, मोलिब्डेनम आदि) र क्याल्सियम, म्याग्नेसियम र सल्फर जस्ता सहायक तत्त्वको कमी देखिन थालेको कृषि विभागले जनाएको छ। यी तत्त्वहरूकाे व्यवस्थापनका लागि प्राथमिक तत्त्व युक्त मलखादका साथ सूक्ष्म तत्त्व युक्त र सहायक तत्त्व युक्त स्रोत प्रयोगमा सचेतना एवं सहयोगका कार्यक्रम पनि सञ्चालनमा जोड दिनुपर्ने आवश्यकता देखिएको छ।
उर्वराशक्ति
नेपालको डिजिटल माटो नक्सांकन (डिजिटल सोइल म्याप) अनुसार नेपालको खेतियोग्य जमिनको ६६ प्रतिशत माटो अम्लीय प्रकृतिको रहेको छ भने ५ प्रतिशत क्षारीय र २९ प्रतिशत माटो मात्र तटस्थ प्रकृतिको पाइएको छ। धेरैजसो बाली उत्पादनका लागि तटस्थ माटो उपयुक्त हुने गर्दछ।
देशका विभिन्न भागबाट लिइएको माटोको नमूना परीक्षणको तथ्याङ्क विश्लेषण गर्दा २३ प्रतिशत माटोमा प्राङ्गारिक पदार्थको मात्रा न्यून पाइएको विभागले उल्लेख गरेको छ। यसैगरी ६५ प्रतिशतमा मध्यम र १२ प्रतिशत माटोमा प्राङ्गारिक पदार्थको मात्रा अधिक रहेको छ। प्राङ्गारिक पदार्थलाई माटोको आधारको रूपमा पनि लिइन्छ।
माटो विज्ञका अनुसार उत्पादनशील माटोमा प्राङ्गारिक पदार्थको मात्रा ३–५ प्रतिशत हुनु आवश्यक हुन्छ। कृषि विकास रणनीतिले नेपालको माटोको प्राङ्गारिक पदार्थको मात्रा १.९६ प्रतिशतबाट ४ प्रतिशतमा पुर्याउने लक्ष्य लिएको छ।
नेपालमा खेती गरिने जमिनको ५ प्रतिशतमा नाइट्रोजनको मात्रा न्यून, ५८ प्रतिशतमा मध्यम र ३७ प्रतिशतमा अधिक रहेको पाइएको छ। फस्फोरस तत्त्व तुलनात्मक रूपमा राम्रो पाइएको छ जसमा ४ प्रतिशतमा न्यून, १९ प्रतिशतमा मध्यम र ७७ प्रतिशतमा अधिक रहेको छ। त्यसैगरी पोटास तत्त्वको मात्रा तीव्र गतिमा घटिरहेको छ, जसमा ३ प्रतिशतमा न्यून, २८ प्रतिशतमा मध्यम र ६९ प्रतिशतमा अधिक पाइएको छ।
बाली विरुवाका लागि आवश्यक हुने सूक्ष्म खाद्य तत्त्वहरू जस्तै जिङ्क, मोलिब्डेनम र बोरनको मात्रा पनि न्यून देखिएको छ।
प्रादेशिक माटो तथा मल परीक्षण प्रयोगशाला, प्रादेशिक जिल्ला स्थित कार्यालय र कतिपय स्थानीय तहमा पनि माटो परीक्षण हुँदै आएको छ। वर्षेनि करिब १० हजार नमुना माटोको परिमाणात्मक परीक्षण, करिब ५ हजार नमुना माटोको गुणात्मक परीक्षण भइरहेको कृषि विभागले जनाएको छ। प्रादेशिक माटो तथा मल परीक्षण प्रयोगशालाहरूले घुम्ती शिविर गरेर समेत माटो परीक्षण सेवा सञ्चालन गरिरहेका छन्।
माटोको रेखदेख र उचित व्यवस्थापनका लागि किसानलाई माटो परीक्षणपश्चात् माटो स्वस्थता प्रमाणपत्र प्रदान गर्ने र परीक्षणका नतिजाको आधारमा व्यवस्थापनका उपायबारे जानकारी प्रदान गर्ने गरिएको विभागले उल्लेख गरेको छ।
केही पालिका र प्रादेशिक माटो तथा मल परीक्षण प्रयोगशाला वा जिल्लास्थित कृषि हेर्ने निकायहरूले परीक्षण नतिजाको आधारमा माटोमा अम्लीयपन रहेको खण्डमा कृषि चुन प्रयोग गरी सुधार गर्न कृषकका लागि कृषि चुनमा अनुदान वा ढुवानीमा अनुदान दिने जस्ता कार्यक्रम सञ्चालन गरिरहेका छन्।
माटो कसरी बिग्रन्छ ?
कृषि विभागका महानिर्देशक ई. जगन्नाथ तिवारीका अनुसार पहिलेको तुलनामा खेती गर्ने तरिका बदलिँदै गएको छ।
बालिनाली लगाउनुअघि माटो बनाउन प्रयोग गरिने औजारदेखि मलजलको प्रक्रिया पनि फरक हुँदै गएको छ। विशेषगरी गोबर वा कम्पोष्ट मल, हरियो मल आदिको प्रयोग न्यून हुँदै जाँदा नेपालको माटोको स्वस्थता बिग्रँदै गएको महानिर्देशक तिवारीले जानकारी दिए।
रासायनिक मलको असन्तुलित प्रयोग हुनुको साथै विषादीको प्रयोग बढ्दै जानु, बालीचक्रको आधारमा खेती नगरिनु र बाली चक्रमा कोसे बालीको प्रयोग घट्दै जानु माटोको स्वस्थता बिगार्ने प्रमुख कारण बनेका छन्।
यसैगरी अवैज्ञानिक तरिकाबाट सघन खेती गर्ने, बाली काटिसकेपछि बाँकी रहेका अवशेष जमिनबाट पूर्ण रूपमा हटाउने र जलाउने तर किसानले आफ्नो खेतबारीको माटोको वेलावेला जाँच नगराउने तथा निरन्तरको भूक्षय, बढ्दो औद्योगिक प्रदूषणको मात्राका कारण पनि माटोको गुणस्तर बिग्रिएको छ।
कृषि औजार/यन्त्रको अधिकतम प्रयोगले माटो कडा बन्दै गएको छ।
माटो सुधार्न के गर्ने ?
ई. तिवारीका अनुसार किसानले वेला वेला आफ्नो खेतबारीको माटोको परीक्षण गराउन जरुरी छ। प्रयोगशालाले परीक्षणको आधारमा सिफारिस गरेको मात्रामा कृषि चुन (माटो धेरै अम्लीय भएमा), प्राङ्गारिक पदार्थ र अन्य पदार्थको प्रयोग गरी उपयुक्त प्रविधि अनुसार माटो व्यवस्थापन गर्नुपर्छ।
प्रशस्त मात्रामा प्राङ्गारिक पदार्थको उपयोग जस्तै राम्ररी पाकेको गोबर मल, कम्पोष्ट मल, हरियो मल, झोल मल आदिको प्रयोग गरे माटोको गुणस्तर बिग्रँदैन।
यसैगरी रासायनिक मलको सन्तुलित प्रयोग, बाली र माटोको अवस्था अनुसारको सिफारिस मात्रामा प्रयोग गर्न, बालीचक्रको आधारमा खेती गर्नुपर्ने र बालीचक्रमा कोसे बालीको प्रयोग गर्नुपर्ने माटो विज्ञ जीवन सुवेदी बताउँछन्।
उनका अनुसार माटोको बनोट अनुसार उपयुक्त बाली छनोट गरी वैज्ञानिक तरिकाबाट व्यवस्थित सघन खेती गरी बाली काटिसकेपछि बाँकी रहेका अवशेष जमिनमा मिसाउने, भूक्षय रोक्ने प्रविधि अपनाई पानीको निकास गरी खेतबारीमा भल बाढी बग्न नदिने गर्दा पनि माटो जोगिन्छ।
औद्योगिक प्रदूषणको मात्रा न्यूनीकरण, नकुहिने फोहोरहरू व्यवस्थित गर्ने, कृषि औजार/यन्त्रको वैज्ञानिक प्रयोग गर्ने र अधिक प्रयोग घटाई माटो कडा हुन नदिने गर्नुपर्छ।
माटोको पोषक तत्त्व न्यून हुँदै जानु विश्वव्यापी रूपमा चिन्ताको विषय बनेको भन्दै विभागका महानिर्देशक तिवारीले माटोको उर्वरापन ह्रास हुँदै गएमा यसले उत्पादनमा कमी आई समग्र खाद्य सुरक्षा नै जोखिममा पर्ने सम्भावना रहेकोले सचेत हुनुपर्नेमा जोड दिएका छन्।
कृषि विभागले माटो व्यवस्थापनका चुनाैतीकाे सम्बाेधन गरी खाद्य उत्पादन बढाउन र माटोको महत्वबारे चेतना जगाई माटोको गुणस्तर सुधार गर्नुपर्नेमा जोड दिएको छ। यसै सेरोफेरोमा माटोको सुधार : परीक्षण, रेखदेख र उपचार भन्ने नारासहित मंसिर २० गते एघारौं विश्व माटो दिवसको मूल समारोह मनाइँदैछ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।