|

काठमाडौं : सत्तारुढ दल नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले स्थानीय तह उपनिर्वाचनको समीक्षा गर्ने बताएका छन्। न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले उपनिर्वाचनको समग्र प्रतिवेदन आएपछि पार्टीका तर्फबाट भएका कमी, कमजोरीबारे समीक्षा गर्ने बताएका हुन्।

उनले २०७९ सालको निर्वाचनमा पराजित भएका केही ठाउँमा समेत नेकपा एमाले विजयी भएको बताए। उनले स्थानीय तहको निर्वाचनलाई लिएर निराश हुनुपर्ने कारण नरहेको बताए। आफ्नो पकड क्षेत्र भएका ठाउँमा पनि मत घटेकोप्रति समीक्षा गर्ने बताए।

उनले काठमाडौंको कीर्तिपुर नगरपालिकाको परिणाम आफ्नो पक्षमा नरहे पनि गत निर्वाचनको भन्दा प्रगति भएको दाबी गरे। उनले अहिले पुराना राजनीतिक दलहरु आउटडेटेड भए भन्ने भाष्य खडा गरिए पनि जनमतबाट पुष्टि हुन नसकेको बताए।

जनताले अहिले पनि पुराना राजनीतिक दलहरुमा आशा र विश्वास कायमै राखेको उनको दाबी छ। उनले राष्ट्रिय राजनीतिमा पुराना दलहरुको भूमिका कमजोर भन्ने कुरालाई जनताले अस्वीकार गरेको बताए।

उनले भने,‘उपनिर्वाचनको परिणाम निराशाजनक छैन। उपनिर्वाचनमा हामीले गत निर्वाचनमा पराजित भएका ठाउँहरुमा पनि जितेका छौँ। अरू पार्टीहरुले लामो समयदेखि जित्दै आएका ठाउँहरुमा पनि जितेका छौँ। केही हामी आफ्नो पकड भएको क्षेत्रमा पराजित भएको अवस्था पनि छ। तर उपनिर्वाचनको समग्र रिपोर्ट आइसकेपछि हामी समिक्षा पनि गरौंला कहाँ के कमजोरी भयो?'

उपनिर्वाचनबाट एमालेले निर्वाचनसँग गाँसिएका कुराहरुमा थप व्यवस्थित ढंगको व्यवस्थापन गर्नुपर्छ भन्ने पाठ सिकेको र त्यही आधारमा अघि बढ्ने उहाँको भनाइ छ।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.