|

काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपिएल)को आजको पहिलो खेलमा कर्णाली याक्सलाई पराजित गर्दै काठमाडौँ गुर्खाजले विजय हात पारेको छ। दोस्रो खेलमा लुम्बिनी लायन्सविरुद्ध विराटनगर किंग्सले रोमाञ्चक जित निकाल्यो।

कर्णालीलाई काठमाडौँले तीन विकेटले पराजित गरेको हो भने दोस्रो खेलमा किंग्सले २ विकेटले जित हात पारेको हो।

काठमाडौँ र कर्णाली दुवैले आफ्नो पहिलो खेल गुमाएका थिए। कर्णालीलाई जनकपुर र काठमाडौँलाई चितवनले पराजित गरेका थिए। यसकारण दुवै टिमले जित्नैपर्ने दबाबमा भए पनि जित भने काठमाडौँको पोल्टामा पर्‍यो। उता लगालग हारेको विराटनगरलाई जितको आवश्यकता थियो।

यस्तो रह्यो आजको खेल

टस हारेर पहिले ब्याटिङमा उत्रिएको कर्णालीले ओपनर देव खनाललाई गुमायो। पहिलो ओभरको तेस्रो बलमा काठमाडौँका कप्तान करण केसीले उनलाई एलबिडब्लूको धरापमा पार्दै पेभेलियन फर्काइदिए।

त्यस्तै खनालपछि आएका चाडविक वाल्डनले केही सम्हालिएर खेल अगाडि बढाए। उनले १५ बलमा ५ चौका प्रहार गर्दै २१ रन जोडे तर चौथो ओभरमा गेराल्ड इरासमसको बलमा करणबाट क्याच भए। जसले गर्दा कर्णालीले पावरप्लेमा दुई विकेट गुमाउन बाध्य भयो।

त्यसपछि क्रिजमा आएका क्रमश: बाबर हायतले १८ बलमा १३ रन मात्र जोड्न सके। गुल्सन झाले १९ बलमा १ चौका प्रहार गर्दा १२ रन मात्र जोड्दै १४औँ ओभरमा आउट भए भने अर्जुन घर्ती ४ रनमा स्वटरबाट बोल्ड हुँदै पेभेलियन फर्किए।

भारतीय ब्याटर धवनले नटआउट ७२ रन जोडे। परिपक्क खेल खेलेका उनले खेल अवधिभर ५१ बलको सामना गरे। जसमा उनले ४ चौका र ५ छक्का प्रहार गरे। सुरूवातमा केही सुस्त सुरुवात गरेका धवनले १८औँ ओभरमा अर्धशतक पूरा गरिदिए। त्यस्तै नटआउट रहेका जीशन मक्सुदले ११ बलमा १४ रन जोड्दा कर्णालीले ५ विकेट गुमाएर १४९ को सम्मानजनक स्कोर बनायो।

काठमाडौँका लागि गेरार्ड इरासमसले दुई, करण केसी, नाथन सोटर र दिपेश कँडेलले समान एक/एक विकेट लिए।

एक सय ५० रनको विजयी लक्ष्य काठमाडौँले १९ दशमलव तीन ओभरमा सात विकेट गुमाएर पूरा गरिदियो। काठमाडौँका लागि सुमित महर्जनले ३७ बल खेल्दै तीन चौका र एक छक्का हाने।

उनी अविजित रहँदा ४० रनको योगदान गरे। जेरार्ड एरास्मसले २८ बलमा ३८ रनको योगदान दिँदा उनको पोल्टामा तीन चौका र दुई छक्का पारे।

कप्तान करण केसीले आक्रमक सुरूवात गरे। उनले पाएको १० बललाई पूर्ण सदुपयोग गर्दै दुई छक्का र दुई चौकाको मद्दतमा २८ रन बनाए। जसले गर्दा धवनको अर्धशतक नै फिक्का बनेको छ।

माइकल लेभिटले १९ बल खेल्दै दुई चौका र एक छक्कासहित २२ रनको योगदान गरे।

बलिङतर्फ कर्णाली याक्सका लागि सोमपाल कामी, नन्दन यादव, गुल्सन झा, जिशन मक्सुद र विपिन शर्माले एक एक विकेट लिए।

त्यस्तै दोस्रो खेलमा लुम्बिनीले विराटनगर किंग्सलाई १९२ रनको विशाल लक्ष्य दियो। लुम्बिनीका लागि  कप्तान रोहित पौडेलले दुई छ्क्का र चार चौकाको मद्दतले सर्वाधिक ४६ रन बनाए। उनले २९ रनको सामना गरे।

आशुतोष घिरौया २ चौका र १ छ्क्कासहित १२ बलमा १५ रन बनाउँदै पभेलियन फर्किए। ३.१ ओभरमा उनी रन आउट भएका थिए। ७.२ ओभरको खेल हुँदा लुम्बिनीको ६४ रन पुगेको थियो। तर अर्जुन साउद आउट भए।  १९ बल खेलेका साउद १७ रन बनाउँदै आलम इस्मातुल्लाहको बलमा आउट भएका हुन्।

उनले तीन चौका प्रहार गरे। लगत्तै टम मुर्स पनि प्रतिश जिसीको बलमा रन आउट भए। उनले एक छक्का र ३ छ्क्काको मद्दतले १६ बलमा ३० रन बनाए।

सन्दीप जोरा १३ बलमा १२ रन बनाउँदै रन आउट भए। उनलाई निकोलस किर्तनले आउट गरेका हुन्। साफ जफरलाई कप्तान सन्दिप लामिछानेले आउट गरे।  १३ बलमा १५ रन बनाएका उनलाई लामिछानेको बलमा मार्टिन गुप्टीलले आउट गर्दै पभेलियन फर्काए। लगत्तै बेन कटिङ ६ बलमा ६ रन बनाउँदै रन आउट भए।

विराटनगरबाट सन्दीप लामिछाने, राजेश पुलामी र इस्मत आलमले समान एक/एक विकेट लिए। ४ खेलाडी रन आउट हुन पुगे। लुम्बिनीले एक्स्ट्रा रन मात्र २९ प्राप्त गर्‍यो।

जितका लागि मैदानममा उत्रिएको विराटनगरले पहिलो विकेट पहिलो ओभरको ५औँ बलमा गुमायो। इस्मातुल्लाह आलमलाई रामोन सिमोण्डको बलमा रोहित पौडेलले क्याच गरिदिए।

दोस्रो ठूलो विकेट दुर्गेश गुप्ताले मार्टिन गुप्टिललाई आउट गरेर लिए। गुप्टिलले १७ बलमा २८ रन बनाएका थिए। ७औँ ओभरमा गुप्ताको बलमा उनी पभेलियन फर्किन बाध्य भए। उनले ६ चौका हानेका थिए।

तेस्रो विकेट भने साद विन जफरको नाममा रह्यो। ९.३ ओभरमा उनले राजेश पुलामीलाई आउट गरेका हुन्। उनले १० बलमा ४ रन बनाएका थिए।

त्यस्तै ५ विकेट लिएर बसिर अहमद पेभेलियन फर्किए। उनले २३ बलमा ४० रनको योगदान दिए। उनले चार चौका र एक छक्का हानेका थिए। उनलाई दुर्गेश गुप्ताको बलमा बेन कटिङले क्याच गरेका हुन्। लगत्तै अर्को बलमा उनैले  निकोलस किर्तनलाई बोल्ड गर्दै शून्यमै पभेलियन फर्काइदिए।

तर, सम्हालिएर खेलिरहेका लोकेश बमले ३७ बलमा ५६ रन बनाउँदै टीमलाई अगाडि बढाए। उनले ४७ बलमा ७१ रन बनाएर आउट भए। उनलाई रामोन सिमोन्सको बलमा सन्दीप जोराले क्याच गरिदिए। उनले खेलमा तीन चौका र ६ छ्क्का प्रहार गरे।

लगत्तै प्रतिश जिशि पनि आउट भए। उनलाई गुप्ताले आउट गरे। उनले तीन बलमा ६ रन बनाए। त्यस्तै विवेक यादवको बलमा सिमोण्डको क्याच हुँदा ३ बलमा १ रन बनाएर कप्तान सन्दीप लामिछाने आउट भए।  दीपक बोहरा ८ बलमा ९ रन बनाएर अविजित रहे। क्रिश शोलले अन्तिम ओभरमा ४ बलमा १४ रन बनाएर इनिङको समाप्ति गरे। बलिङमा लुम्बिनीका दुर्गेश गुप्ताले ३ विकेट लिँदा सिमन्स र साद बिनले २/२ विकेट लिए।

यसरी लगातार दुई खेल हारेको विराटनगरको हारको श्रृंखला रोकिएको छ। यसअघि विराटनगर जनकपुर बोल्ट्ससँग ८ विकेट र अर्को खेलमा सुदुरपश्चिम रोयल्ससँग ९० रनले पराजित भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.