|

काठमाडौँ : नेपाली यु–१९ क्रिकेट टोलीका प्रशिक्षक शक्ति गौचनले एसिसी यु–१९ एशिया कपमा युवा टोलीले धेरै आशा गर्न सकिने प्रदर्शन गरेको बताएका छन्।

संयुक्त अरब इमिरेट्(युएई) भएको यु–१९ एशिया कप खेलेर फर्कने क्रममा अन्ताराष्ट्रिय विमानस्थलमा प्रशिक्षक गौचनले भ्रमणमा हार मात्र नभएको र युवा टोलीबाट आशा गर्नसक्ने धेरै पक्ष रहेको बताएका हुन्।

साथै उक्त अवसरमा उनले नेपाल प्रिमियर लिग (एनपिएल) मा रहेका यु–१९ क्रिकेटरले यसलाई राष्ट्रिय टोलीमा पुग्ने राम्रो माध्यम सिर्जना गर्ने आशा गरेका छन्। एशिया कप खेलेको अनुभवले युवा खेलाडीले एनपिएलमा राम्रो प्रदर्शन गर्ने उनको भनाइ छ।

उनले मार्टिन गप्टिल, शिखर धवन र बेन कटिङ जस्ता टेस्ट प्लेइङ नेशन्सबाट आएको अनुभवी क्रिकेटरबाट आफ्ना युवा क्रिकेटरले र राष्ट्रिय टोलीकै सदस्यले पनि धेरै कुरा सिक्ने पाउने भएकाले एनपिएल राम्रो माध्यम हुने बताए।

यु–१९ टोलीका कप्तान हेमन्त धामीले आगामी यु–१९ विश्वकप छनोटका लागि एशिया कप राम्रो माध्यम बनेको बताए। उनले एशिया कपमा राम्रो प्रदर्शन भए पनि मिडल अर्डरमा साथ पाउन नसक्दा दुई खेल गुमाउन पुगेको समेत उल्लेख गरे। उनले पनि एनपिएल युवा खेलाडीका लागि राम्रो माध्यम हुने आशा व्यक्त गरे

नेपालले संयुक्त अरब इमिरेट्(युएई)मा भएको यु–१९ एशिया कपमा तीन खेलमध्ये अफगानिस्तानसँगको खेलमा जित निकालेको हो।

बुधवार भएको खेलमा नेपालले अफगानिस्तानमाथि एक विकेटको रोमाञ्चक जित निकालेको हो। नेपालले समूहमा श्रीलंकासँग ५५ रन र बंगलादेशसँग पाँच विकेटले पराजित भएपछि नेपालको यात्रा समूह चरणमा नै टुङ्गिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.