जनकपुरधाम : जनकपुरधामको रामजानकी विवाह पञ्चमी महोत्सव अन्तर्गत आज पाँचौं दिन मटकोर कार्यक्रम सम्पन्न भएको छ। बिहीबार जनकपुरधामको ऐतिहासिक गंगासागर पोखरीमा भएको उक्त कार्यक्रममा नेपाल भारतका साधुसन्त सहभागी थिए।
समारोहमा नाचगान र गीत गायन कार्यक्रम समेत राखिएको थियो। रामजानकीको झाँकी राखेर भएको सो कार्यक्रममा सहभागीले रामजानकीसम्बन्धी गीत गाएका थिए। कार्यक्रममा जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशनदास वैष्णवको नेतृत्वमा मटकोरका लागि महिला, तथा साधुसन्तहरू गंगासागर पुगेका थिए।
मटकोरमा रामजानकीको बिहेका लागि वेदी बनाउन माटो लगिने परम्परा रहेको छ। गंगासागरमा उत्तराधिकारी महन्त दासले कोदालो लिएर माटो निकालेका थिए।
मधेश प्रदेशका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारी, संघीय सांसद जुली महतो, जिल्ला सम्न्वय समितिका अध्यक्ष राजनन्दन मण्डल, जनकपुरधाम उपमहानगरका मेयर मनोज साह लगायत सहभागी थिए। अतिथि एवं साधुसन्तलाई प्रदेश सांसद रामआशिष यादव, सेभ हिस्टोरिकल जनकपुरधामका अध्यक्ष सुरेश शर्माले स्वागत गरे।
महिलाहरूले माटो बोकेर नगरपरिक्रमा गरेका थिए। मटकोरका क्रममा गंगासागरको डिलमा भजनकीर्तन राखिएको छ।
जानकीको प्रतीकको रूपमा रहेकी बालिकालाई लिएर बाजागाजा सहित मन्दिरको टोली गंगासागर पुग्ने गर्छ। वैदिक मन्त्र उच्चारण गरी विधिपूर्वक जानकी मन्दिरमा भित्र्याइएको माटोले रामजानकी विवाहका लागि वेदी तयार गर्ने चलन छ।
विवाहको हरेक कार्यक्रम जनकपुरमा अहिले भइरहेको छ। भोलि वैदिक परम्परानुसार रामजानकीको बिहे हुनेछ।
जनकपुरधाममा सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव अन्तर्गत पहिलो दिन नगरदर्शन, दोस्रो दिन फूलबारी लीला, तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तिलकोत्सव र आज पाँचौँ दिन मटकोर कार्यक्रम भएको छ।
शुक्रबार स्वयंवर तथा विवाहोत्सव र शनिबार रामकलेवासँगै विवाहपञ्चमी महोत्सव सम्पन्न हुनेछ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।